अनौपचारिक रुपमा खुल्न थाले बन्द गरिएका सामाजिक सञ्जालहरु

Technology Khabar २३ भाद्र २०८२, सोमबार

अनौपचारिक रुपमा खुल्न थाले बन्द गरिएका सामाजिक सञ्जालहरु
सांकेतिक तस्बिर। फ्रिपिक डटकमको सहयोगमा।

काठमाडौं ।

जेनजीको प्रदर्शनमा एक दर्जनको गोली हानेर हत्या गरेसँगै सरकारले अनौपचारिक रुपमा सामाजिक सञ्जाल खुल्न थालेका छन्।

यसअघि २६ ओटा सामाजिक सञ्जाल प्लेटफर्महरु बन्द गर्न निर्देशन दिएकोमा हाल फेसबुक लगायतका सामाजिक सञ्जालहरु सरकारी दूरसञ्चार कम्पनी नेपाल टेलिकमको नेटवर्कमासमेत चलिरहेको देखिन्छ।

हामीले गरेको परीक्षणमा समेत नेपाल टेलिकमको इन्टरनेट नेटवर्कमा फेसबुक दिउँसोदेखि चलेको र पोस्टहरु राख्न सकिने अवस्था रहेको देखिन्छ।

तर खुलाउन सरकारले कुनै औपचारिक आदेश वा निर्देशन नदिएको सरोकारबालाहरुले जानकारी दिएका छन्।

नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालले यस बारेमा कुनै जानकारी नरहेको बताए।

“हामीलाई माथिबाट यस्तो कुनै पत्र वा निर्देशन आएको छैन्। सामाजिक सञ्जाल प्लेटफर्महरु खुलेको बारेमा जानकारी छैन्,” उनले भने।

यस्तै आइस्पानका अध्यक्ष सुधिर पराजुलीले पनि सामाजिक सञ्जाल प्लेटफर्महरु खुलाउन कुनै मौखिक वा लिखित जानकारी नआएको बताए।

“सामाजिक सञ्जाल प्लेटफर्महरु खुलेका छैनन्। हामीलाई खुलाउने आदेश आएको छैन्,” उनले भने।

तर यसअघि पनि इन्टरनेट सेवा प्रदायकहरुले २६ ओटै सामाजिक सञ्जाल प्लेटफर्महरु एकैपटक बन्द गर्न नसकिने बताएका थिए। जसले गर्दा उनीहरुको नेटवर्कमा “असजिलो” गरि सामाजिक सञ्जाल प्लेटफर्महरु चलिरहेका थिए।

यसै बारेमा जानकारी लिन नेपाल टेलिकमका प्रवक्तालाई सम्पर्क गर्दा सम्पर्क हुन सकेन्।

प्रकाशित: २३ भाद्र २०८२, सोमबार

तपाइको प्रतिक्रिया