जेन जीको स्वतःस्फूर्त प्रदर्शन पोखरामा पनि: सामाजिक सञ्जाल होइन भ्रष्टाचार बन्द गर्नुपर्ने आवाज

Technology Khabar २३ भाद्र २०८२, सोमबार

काठमाडौं ।

पोखरा सभागृह क्षेत्रमा नयाँ पुस्ता (जेन–जी) ले स्वतःस्फूर्त रुपमा सरकार र नेताहरूको गतिविधि विरुद्ध प्रदर्शन गरेका छन्। काठमाडौंको माइतीघरमा विशाल प्रदर्शन भइरहँदा पोखरामा पनि यसले निरन्तरता पाएको हो।

सामाजिक सञ्जनलमाथि प्रतिबन्धको विरुद्धमा पोखरामा बिहान १० बजेदेखि सुरु भएको प्रदर्शनमा जेन–जी युवाहरूले सामाजिक सञ्जाल बन्द गर्ने सरकारी तयारी र नेताहरूको बढ्दो भ्रष्टाचारविरुद्ध आवाज उठाएका छन्। सहभागीको सङ्ख्या लगातार बढिरहेको प्रहरीले जनाएको छ।

प्रदर्शनमा सहभागी युवाहरूले विभिन्न नारा लेखिएका प्लेकार्डसहित नारा लगाएका छन्। ती नारामा “जनता जति खाडीमा, तिमी चाहिँ गाडीमा, रोलेक्स घडी नाडीमा”, “दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने” लगायतका रहेका छन्। उनीहरूले जनताको आवाज दबाउन नपाइने र स्वतन्त्रता खोस्न नदिइने चेतावनी समेत दिएका छन्।

सिमसिम पानी परिरहेका कारण अधिकांश प्रदर्शनकारीहरू रेनकोट र नेपालको झण्डासहित “स्टप करप्सन” लेखिएका प्लेकार्ड बोकेर उपस्थित भएका थिए।

चुप लागेर बसे सधैं यस्तो अवस्था रहने र नयाँ पुस्ताले पनि आवाज उठाएको छ भन्ने देखाउन सडकमा आएका साथै यसलाई राजनीतिकरण नगरिदिन पोखराका जेन जी प्रदर्शनकारीको आग्रह रहेको छ।

प्रदर्शनलाई नियन्त्रणमा राख्न ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: २३ भाद्र २०८२, सोमबार

तपाइको प्रतिक्रिया