प्रविधि कम्पनी एप्पलविरुद्ध शुक्रबार लेखकहरूले दायर गरे ‘कपीराइट’ मुद्दा

  • Technology Khabar | २३ भाद्र २०८२, सोमबार
प्रविधि कम्पनी एप्पलविरुद्ध शुक्रबार लेखकहरूले दायर गरे ‘कपीराइट’ मुद्दा

काठमाडौं ।

प्रविधि कम्पनी एप्पलविरुद्ध शुक्रबार लेखकहरूले दायर गरेको एक मुद्दामा कम्पनीले आफ्नो कृत्रिम बुद्धिमत्ता प्रणालीलाई प्रशिक्षण दिन उनीहरूको कपीराइट भएका पुस्तकहरू अवैध रूपमा प्रयोग गरेको आरोप लागेको छ।

यो कदम एआई युगमा बौद्धिक सम्पत्तिको संरक्षणबारे बढ्दै गएको कानुनी विवादको एक भाग बनेको छ। उत्तरी क्यालिफोर्नियाको संघीय अदालतमा दायर गरिएको सामूहिक मुद्दामा एप्पलले अनुमति, श्रेय वा क्षतिपूर्ति नदिइकन संरक्षित कामहरू प्रतिलिपि गरेको दावी गरिएको छ।

“एप्पलले सम्भावित रूपमा फाइदा कमाउने यस उद्यमका लागि यी लेखकहरूलाई भुक्तानी दिने प्रयास समेत गरेको छैन,” ग्रेडी हेन्ड्रिक्स र जेनिफर रोबर्सनले दायर गरेको मुद्दामा भनिएको छ।

रोयटर्सका अनुसार एप्पल र वादीका वकिलहरूले शुक्रबार तुरुन्तै कुनै प्रतिक्रिया दिएका छैनन्। यो मुद्दा लेखक, समाचार संस्था र अन्यले ठूला प्रविधि कम्पनीहरूले आफ्ना काममा रहेको कानुनी सुरक्षाको उल्लङ्घन गरेको भन्दै दायर गरेका मुद्दाहरूको शृङ्खलामा पछिल्लो हो।

शुक्रबार कृत्रिम बुद्धिमत्ता स्टार्टअप एनथ्रोपिकले क्यालिफोर्नियामा दायर गरेको अदालती दस्तावेजमा आफ्नो एआई च्याटबोट “क्लाउड ” तालिम दिन अनुमति बिना लेखकहरूको पुस्तक प्रयोग गरेको आरोपमा दायर सामूहिक मुद्दा मिलाउन १.५ अर्ब डलर तिर्न सहमत भएको खुलाएको छ।

एन्थ्रोपिकले दोष स्वीकृत नगरेको भए पनि वादीका वकिलहरूले यसलाई सार्वजनिक रूपमा रिपोर्ट गरिएको सबैभन्दा ठूलो कपीराइट क्षतिपूर्ति पुनर्प्राप्ति भनेका छन्।

यसअघि जुन महिनामा माइक्रोसफ्ट विरुद्ध पनि लेखकहरूको एक समूहले आफ्नो “मेगाट्रोन” एआई मोडललाई तालिम दिन पुस्तकहरू अनुमति बिना प्रयोग गरेको आरोपमा मुद्दा दायर गरेको थियो। मेटा प्लेटफर्म्स र माइक्रोसफ्ट समर्थित ओपनएआई पनि यस्तै दावीहरूमा फसिसकेका छन्।

एप्पलविरुद्धको मुद्दामा कम्पनीले आफ्नो “ओपनएल्म” ठूला भाषा मोडललाई तालिम दिन पाइरेसी भएका पुस्तकहरूको डाटासेट प्रयोग गरेको आरोप लगाइएको छ। न्यूयोर्कका हेन्ड्रिक्स र एरिजोनाकी रोबर्सनले आफ्ना पुस्तकहरू पनि उक्त पाइरेटेड डेटासेटमा रहेको दावी गरेका छन्।

प्रकाशित: २३ भाद्र २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...