Technology Khabar २३ भाद्र २०८२, सोमबार
काठमाडौं ।
हालै नेपाल सरकारले फेसबुक, इन्स्टाग्राम, यूट्युब र एक्स (ट्विटर) सहितका २६ ठूला सामाजिक सञ्जाल बन्द गरेको छ। सरकारले दर्ता नगरेको भन्दै यस्तो कदम चालेको हो। अहिले केही प्लेटफर्मजस्तै टिकटक र भाइबर भने खुला रहेका छन्। तर यी प्रतिबन्धका कारण अध्ययन, सञ्चार, व्यवसाय र रोजगारीका लागि सामाजिक सञ्जालमा निर्भर लाखौँ नेपाली प्रभावित भएका छन्।
यसै सन्दर्भमा भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) मुख्य उपकरणका रूपमा प्रयोगमा आएको छ। भीपीएनले इन्टरनेट ट्राफिकलाई इन्क्रिप्ट गर्छ, प्रयोगकर्ताको IP लुकाउँछ र बन्द वेबसाइट वा एप्समा पहुँच दिन्छ।
के हो भीपीएन?
भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) एउटा प्रविधि हो जसले इन्टरनेटमा सुरक्षित र निजी सञ्जाल (नेटवर्क) सिर्जना गर्छ। यो प्रविधिले प्रयोगकर्तालाई सार्वजनिक वा असुरक्षित नेटवर्क (जस्तै सार्वजनिक वाइफाइ) मा पनि सुरक्षित रूपमा डाटा आदानप्रदान गर्न र गोपनीयता कायम राख्न मद्दत गर्छ।
भीपीएनले तपाईंको डिभाइस र भीपीएन सर्भरबीच सुरक्षित “टनेल” बनाउँछ। तपाईंको इन्टरनेट ट्राफिक यो टनेलमार्फत जान्छ, जसले डाटालाई इन्क्रिप्ट गर्छ।
तपाईंको डाटा भीपीएन सर्भरमा पुगेपछि, यो सर्भरले तपाईंको अनुरोधलाई इन्टरनेटमा पठाउँछ र जवाफलाई पुन: तपाईंको डिभाइसमा फर्काउँछ।
यस प्रक्रियामा, तपाईंको वास्तविक स्थान र पहिचान लुकेर भीपीएन सर्भरको स्थान र आईपी देखिन्छ।
तर सबै भीपीएन सुरक्षित नहुने विज्ञहरूले चेतावनी छ। विशेषगरी निःशुल्क सेवाहरू बढी असुरक्षित रहेको पाइएको छ।
यी हुन् २०२५ का उत्कृष्ट तथा निःशुल्क भीपीएन
प्रोटोन भीपीएन फ्री
असीमित डाटा, बलियो गोपनीयता सुविधा र स्वतन्त्र अडिट गरिएको प्रोटोन भीपीएन विश्वासिलो मानिन्छ। तर, कहिलेकाहीँ गति कम हुन्छ र सीमित सर्भर मात्रै उपलब्ध छन्।
विन्डस्क्राइब फ्री
ईमेल भेरिफिकेशन गरेपछि मासिक १० जीबी डाटा प्रयोग गर्न सकिन्छ। यसले धेरै उपकरणमा काम गर्छ, एईएस-२५६ इन्क्रिप्सन र किल–स्विच सुविधा छ। तर एशियामा सर्भर सीमित छन्।
प्रिभाडो भीपीएन फ्री
६७१ एमबीपीएससम्मको गति दिन सक्ने भएकाले सामान्य ब्राउजिङ वा हल्का स्ट्रिमिङका लागि उपयुक्त छ। तर मासिक १० जीबी मात्र उपलब्ध हुन्छ र किल–स्विच छैन।
टनलबेयर फ्री
यो नयाँ प्रयोगकर्ताका लागि सजिलो र आकर्षक डिजाइन हो। तर मासिक २ जीबी मात्र हुने भएकाले लामो प्रयोगमा भने उपयोगी हुँदैन।
हाइड.मी फ्री
आधुनिक इन्क्रिप्सन प्रोटोकल, किल–स्विच र स्प्लिट टनेलिङ सुविधा छ। तर एकपटकमा एउटा उपकरणमै प्रयोग गर्न पाइन्छ र गति कहिलेकाहीँ अस्थिर हुन्छ।
भीपीएन प्रयोगका फाइदा
• सामाजिक सञ्जाल वा वेबसाइट अनब्लक: बन्द गरिएको प्लेटफर्ममा सजिलै पहुँच पाइन्छ।
• गोपनीयता सुरक्षा: भीपीएन ले ट्राफिक इन्क्रिप्ट गर्ने भएकाले व्यक्तिगत विवरण चोरी हुन पाउँदैन।
• सार्वजनिक वाईफाईमा सुरक्षा: असुरक्षित नेटवर्क प्रयोग गर्दा पनि ह्याकिङको जोखिम कम हुन्छ।
भीपीएन प्रयोगका कमजोरी
• डाटा सङ्कलनको खतरा: धेरै निःशुल्क भीपीएन ले प्रयोगकर्ताको डेटा भण्डारण वा बेच्ने गर्छन्।
• गति र क्षमता समस्या: सीमित डाटा, ढिलो गति र धेरै प्रयोगकर्ताले सर्भर भीड हुने समस्या।
• सुरक्षा कमजोरी: केही भीपीएन ले विज्ञापन वा मालवेयर हाल्ने गर्छन्।
• सेवा अवरोध: बैंकिङ वा स्ट्रिमिङ जस्ता सेवाले भीपीएन प्रयोग गर्दा पहुँच नदिने अवस्था आउन सक्छ।
• कानुनी जोखिम: कतिपय मुलुकमा भीपीएन प्रयोगमै प्रतिबन्ध वा निगरानी हुन्छ।
नेपालमा प्रहरीले र नेपाल दूरसञ्चार प्राधिकरणले अनियन्त्रित भीपीएन प्रयोग नगर्न चेतावनी दिएका छन्। उनीहरूले अविश्वसनीय निःशुल्क भीपीएनले व्यक्तिगत विवरण चुहाउने, इन्टरनेट गुणस्तर घटाउने वा आर्थिक क्षति पुर्याउने सम्भावना रहेको बताएका छन्।
नेपालमा भीपीएन र सामाजिक सञ्जाल बन्द
सन् २०२५ सेप्टेम्बरमा नेपालले २६ ठूला सामाजिक सञ्जाल बन्द गरेपछि भीपीएन धेरैका लागि अपरिहार्य बनेको छ। विद्यार्थी, डिजिटल मार्केटिङ व्यवसाय, फ्रीलान्सर र पत्रकारहरू प्रायः भीपीएन मार्फत फेसबुक, यूट्युब वा लिङ्कडइन जस्ता प्लेटफर्म प्रयोग गर्न थालेका छन्।
उदाहरणका लागि, विदेशी ग्राहकका लागि फेसबुक वा इन्स्टाग्राम विज्ञापन चलाउने नेपाली डिजिटल मार्केटिङ कम्पनीहरू अहिले भीपीएन प्रयोग नगरी काम गर्न सक्दैनन्। तर अविश्वसनीय भीपीएन प्रयोग गर्दा पूरै व्यवसाय जोखिममा पर्न सक्ने चिन्ता छ।
यसैले, प्रोटोन भीपीएन, विन्डस्क्राइब वा हाइड.मी जस्ता विश्वासिलो र अडिट भएका भीपीएन प्रयोग गर्न सुरक्षित हुन्छ। ठूलो प्रयोगका लागि भने कम खर्चिलो सशुल्क सेवा सुरक्षित विकल्प हुन सक्छ।
प्रकाशित: २३ भाद्र २०८२, सोमबार