‘नेपो बेबी’ अभियानमा परिवारको तस्बिर प्रयोग भएको भन्दै नेता बस्नेतको आपत्ति, कारबाहीको माग

  • Technology Khabar | २२ भाद्र २०८२, आईतवार
‘नेपो बेबी’ अभियानमा परिवारको तस्बिर प्रयोग भएको भन्दै नेता बस्नेतको आपत्ति, कारबाहीको माग

काठमाडौं ।

नेकपा एमालेका सांसद महेश बस्नेतले हाल चर्चामा रहेको ‘नेपो बेबी’ अभियानमा आफ्नो छोरी र ज्वाइँको तस्बिर जोडेर भ्रम फैलाइएको भन्दै आपत्ति जनाएका छन्।

सोमबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै बस्नेतले उक्त अभियानलाई स्वतन्त्र वा रचनात्मक आन्दोलन नभई पुनरुत्थानवादी र अराजकतावादी प्रवृत्तिको हिस्सा भएको दावी गरे। उनले सामाजिक मर्यादामा आँच आउने गतिविधि गर्नेहरूमाथि कानुनी कारबाहीको माग पनि गरे।

“यो अभियान राज्य, संयन्त्र, स्थापित दल र नेताहरूमाथि बदनाम गर्ने घिनलाग्दो प्रयास हो। असफल भएपछि यसलाई अफवाहका रूपमा प्रयोग गरिएको छ,” बस्नेतले फेसबुकमार्फत भने।

उनले आफ्नी छोरीको विवाहलाई समेत तोडमोड गरी टिकटकमार्फत गलत प्रचार गरिएको भन्दै कडा आपत्ति जनाए। “मेरो छोरी, ज्वाइँ वा परिवारले कुनै नातावाद वा कृपावादका आधारमा सुविधा लिएको छैन। मेरो सम्पत्ति र जीवनशैली पारदर्शी छ,” उनले स्पष्ट पारे।

बस्नेतले आफ्ना परिवारमाथि गरिएको बदनाम प्रयासलाई आपराधिक गतिविधि ठहर गर्दै सरकारले तत्काल कारबाही गर्नुपर्ने माग गरेका छन्। साथै उनले टिकटकजस्ता सामाजिक सञ्जाललाई द्वेष र अपराध फैलाउने माध्यम नबनाउन आग्रह गरे।

प्रकाशित: २२ भाद्र २०८२, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार