Technology Khabar २२ भाद्र २०८२, आईतवार
काठमाडौं ।
सरकारले सामाजिक सञ्जाल प्लेटफर्महरु बन्द गरेको विरोधमा जेन-जी पुस्ताले सोमबार प्रदर्शन गर्ने भएका छन्।
सरकारले गत साता फेसबुकसहितका २६ ओटा सामाजिक सन्जाल प्लेटफर्महरु बन्द गरेपछि यसले सबैभन्दा बढी प्रभावित जेन-जी पुस्ता भएको छ।
सोशल मिडिया प्लेटफर्महरुमा सक्रिय रहँदै आएको यो पुस्ताले भदौ २३ गते (सेप्टेम्बर ८ तारिख) सोमबार बृहत् आन्दोलनको तयारीमा जुटेको सामाजिक सञ्जालमार्फत् जानकारी सार्वजनिक गरेका छन्।
सन् १९९७ देखि २०१२ सम्ममा जन्मेका पुस्तालाई ‘जेनजी’ पुस्ता भनिन्छ।
सामाजिक सञ्जालको एक्सेस बन्द गर्ने सरकारको निर्णयले अभिव्यक्ति स्वतन्त्रता सीमित हुने भएकाले नागरिकले आफ्ना विचार खुला रूपमा व्यक्त गर्न नपाउने भन्दै उनीहरुले सरकारविरुद्ध स्वतः स्फूर्त आन्दोलनको घोषणा गरेका हुन्।
‘जेन-जी युवाहरु सडकमा !’ भन्ने नाराका साथ भ्रष्टाचार, असमानता र सत्ताको दुरुपयोग विरुद्ध युवा पुस्ताले आन्दोलनको घोषणा गरेका हुन्।
उक्त अभियानले सामाजिक सञ्जालमा नेता, सरकारी कर्मचारी, न्याय क्षेत्रका व्यक्तिहरूका सन्तानले सामाजिक सञ्जालमा राखेको सम्पन्न जीवनशैलीका तस्बिर र भिडियोहरु सार्वजनिक समेत गरिरहेका छन्।
यो ट्रेन्ड विशेषगरी टिकटकमा भाइरल रहेको छ जसलाई ‘नेपो बेबी’ भनिएको छ। ‘नेपोटिजम’को छोटकरीमा “नेपो” भनिएको हो। ‘नेपो बेबी’ त्यस्ता बच्चाहरूलाई जनाइन्छ जसले आफ्ना परिवार वा शक्तिशाली नातागोताको कारण अवसर, सम्पत्ति, शक्ति, पद विरासतमा पाउँछन्। उनीहरुले खास मेहनतनै नगरी सामान्य व्यक्तिहरुभन्दा अधिक अवसर पाउने गर्दछन्।
जेनजीको आन्दोलनलाई कन्टेन्ट क्रिएटर्सहरुले पनि साथ दिएका छन्। उनीहरुले विद्यार्थीलाई स्कूल ड्रेस र पुस्तक नै बोकेर सडकमा उत्रिन आह्वान गरेका छन्।
प्रकाशित: २२ भाद्र २०८२, आईतवार