एससीटीले शुरु गर्यो ३डीएस एक्सेस कन्ट्रोल सर्भर सेवा

Technology Khabar २१ भाद्र २०८२, शनिबार

काठमाडौं ।

स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेड (एससीटी) ले ३डीएस एक्सेस कन्ट्रोल सर्भर (एसीएस) सेवा सुरुवात गरेको छ । यो सेवाले अनलाइन कारोबार सुरक्षामा महत्त्वपूर्ण भूमिका खेल्ने कम्पनीले जनाएको छ।

एसीएस विश्वव्यापी ३डी सेक्योर प्रोटोकलको महत्त्वपूर्ण अंग हो, जसले कार्डवाहकलाई अनलाइन कारोबार गर्दा आफ्नो प्रमाणीकरण प्रक्रिया सही बनाउँछ र ठगीविरुद्ध उच्चस्तरको सुरक्षा सुनिश्चित गर्दछ । यसको मुख्य उद्देश्य डिजिटल भुक्तानी अझ सुरक्षित र भरपर्दो बनाउनु हो।

ग्लोबल आईएमई बैंक नेपालमा एससीटीको ३डीएस एसीएस सेवामा आबद्ध हुने पहिलो बैंक बनेको छ । त्यससँगै एनएमबी बैंकलाई पनि यो सेवा प्रदान भइसकेको छ, जसले यस सेवाको पहुँच अझ विस्तार गरेको छ।

यी सहकार्य मार्फत ग्लोबल आईएमई बैंक र एनएमबी बैंकका कार्डवाहकले अब अनलाइन कारोबार गर्दा अझ सुरक्षित र सही प्रमाणीकरण सुविधा पाउनेछन्।

एससीटीले सुरु गरेको एसीएस सेवा नेपालमा डिजिटल भुक्तानी क्षेत्रमा नयाँ प्रगतिका रूपमा स्थापित भएको छ। यसले अनलाइन कारोबारमा रियल–टाइम प्रमाणीकरण र ठगी रोकथाममा सहयोग प्रदान गर्ने भएकाले अनलाइन किनमेल, टिकेटिङ र अन्य भुक्तानी अनुभव अझ सुरक्षित र विश्वासिलो बनाउने कम्पनीको विश्वास छ।

प्रकाशित: २१ भाद्र २०८२, शनिबार

तपाइको प्रतिक्रिया