Technology Khabar २० भाद्र २०८२, शुक्रबार
काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणले फेसबुकलगायत करिब २६ ओटा सामाजिक सञ्जालहरु निष्क्रिय गराउन दिएको निर्देशन पालना भए नभएको बारेमा अनुगमन गर्न शुरु गरेको छ।
प्राधिकरणले आजैदेखि सामाजिक सञ्जाललाई निष्क्रिय बनाउने कार्यको अनुगमन गर्न टोली खटाएको छ। अनुमगन टोलीले मोबाइल सेवा प्रदायकहरुका साथै ठूला इन्टरनेट सेवा प्रदायकहरुमा पुगेर अनुगमन गरेका छन्।
नियामकले आजै ७ ओटा फरक फरक टोली खटाएको जानकारी नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक तथा प्रवक्ता मिनप्रसाद अर्यालले दिए।
“उक्त टोलीले मोबाइल तथा इन्टरनेट सेवा प्रदायकहरुको कार्यालयमा अनुगमन गर्नेछ र सामाजिक सञ्जाललाई निष्क्रिय भए नभएको जानकारी लिनेछ,” प्रवक्ता अर्यालले टेक्नोलोजीखबरसँग भने।
उक्त टोलीले अब २६ ओटा सामाजिक सञ्जालहरु निष्क्रिय नभएसम्म निरन्तर अनुगमन गर्ने उनले जानकारी दिए। टोलीले प्रत्येक दिन फरक सेवा प्रदायकहरुको अनुमगन गर्ने बताईएको छ।
यसैबीच इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको छाता संस्था इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) का अध्यक्ष सुधिर पराजुलीले समेत सेवा प्रदायकहरुकोमा अनुमगन टोली आएको बताए।
“हाम्रो कार्यालयमा पनि अनुमगन टोलीका कर्मचारीहरु आएका थिए। उनले भने हामीले कसरी बन्द गरेका छौं र गर्दंछौं भनेर देखाएका थियौं। उहाँहरुले हेरेर जानुभएको छ।”
यसअघिनै नियामक र सेवा प्रदायकहरु बिच प्राविधिक टोली गठन गर्ने सहमति भईसकेको छ।
प्रकाशित: २० भाद्र २०८२, शुक्रबार