Technology Khabar २० भाद्र २०८२, शुक्रबार
काठमाडौं ।
सरकारले सामाजिक सञ्जाल प्रयोगमा लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार दायर गरेको रिट हाल दर्ता प्रक्रियामा रहेको सर्वोच्चले जनाएको छ। त्रिपाठीबाहेक पनि अन्य थुप्रै व्यक्तिहरु उजुरी लिएर पुगेको बुझिएको छ।
बिहीबार रातिदेखि लागू गरिएको सरकारी निर्देशनअनुसार फेसबुक, यूट्युब, व्हाट्सएप, इन्स्टाग्रामसहित २६ वटा सामाजिक सञ्जाल नेपालमा नचल्ने गरी इन्टरनेट सेवा प्रदायकहरूले आंशिक अवरोध गरेका छन्।
रिटमा अधिवक्ता त्रिपाठीले नागरिकको वाक् स्वतन्त्रता सीमित गर्ने उद्देश्यले सरकारको निर्णय ल्याइएको दावी गर्दै, प्रतिबन्ध तत्काल खारेज गरी सामाजिक सञ्जाललाई पूर्ववत सञ्चालनमा ल्याउन माग गरेका छन्।
विभिन्न फरक-फरक समूह एकै व्यहोराको रिट दर्ताका लागि उपस्थित भएका कारण छुट्टाछुट्टै दर्ता गर्ने वा समूहमा दर्ता गर्ने भन्नेमा अन्योल रहेको अदालत स्रोतले जनाएको छ। अदालतमा यस प्रकारको उजुरी अझै बढ्न सक्ने देखिएको छ।
प्रकाशित: २० भाद्र २०८२, शुक्रबार