प्रतिबन्धको निर्णयपछि औपचारिक रुपमै सम्पर्कमा आयो एक्स: माग्यो नेपालमा दर्ता प्रक्रियाको विवरण

Technology Khabar २० भाद्र २०८२, शुक्रबार

काठमाडौं ।

सरकारले सूचीकरण नभएका सामाजिक सञ्जाल प्लेटफर्म निष्क्रिय गराउने निर्णय लागू गरेको भोलिपल्टै एक्सले नेपालमा सूचीकरण हुने प्रक्रियाका लागि औपचारिक रुपमै सम्पर्क गरेको छ।

साविकको ट्विटर र हालको एक्सले आज मन्त्रालयमा औपचारिक इमेल पठाएर सूचीकरण हुनका लागि आवश्यक दस्तावेज र प्रक्रियाबारे सोधपूछ गरेको हो।

हिजो बिहीबार फेसबुक तथा इन्स्टाग्रामको मूल कम्पनी मेटाले पनि दर्ता प्रक्रियाबारे बुझ्न अनौपचारिक रुपमा चासो देखाएको थियो।

यसै सम्बन्धमा प्रस्ट पार्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले टेक्नोलोजीखबरलाई भने, ‘एक्सले दर्ताको लागि के के डकुमेन्ट चाहिन्छ भने अफिसियल लेटरहेडमा फर्मल लेटर पठाएको छ। हामीले पनि उहाँहरुलाई तुरुन्तै यो यो प्रक्रिया हो र यी डकुमेन्ट चाहिने हो भनेर जवाफ लेखेर पठायौं।’

उनका अनुसार आज केही समयअघि एक्सको औपचारिक इमेल आएको र इमेल प्राप्त भएको केही समयमा मन्त्रालयले आवश्यक जवाफसहितको इमेल फर्काएको हो।

सरकारले सूचीकरणका लागि सामाजिक सञ्जाल प्लेटफर्मसँग मागेका डकुमेन्ट र विवरण केके हुन्?

प्राय सामाजिक सञ्जाल प्लेटफर्महरुको नेपाल बाहिर मुख्यालय रहेका र उनीहरु पटक पटक ताकेता गर्दा पनि सूचीकरणका लागि नआएपछि सरकारले बाध्य भएर निष्क्रिय गर्ने निर्णय गर्यो।

यसरी महिनौंसम्म सूचीकरणका लागि नआउनुमा कतै सरकारले ठूलै रकम डिपोजिट वा अप्ठेरो पर्ने खालका दस्तावेज पो मागेको छ कि भन्ने जिज्ञासा सर्वसाधारणमा रहँदै आएको छ।

यही जिज्ञासा टेक्नोलोजीखबरले प्रवक्ता ठाकुरसँग गरेको छ। उक्त जिज्ञासाको उत्तर दिँदै प्रवक्ता ठाकुरले प्रस्ट पारे, ‘सरकारले कुनै पनि प्लेटफर्मसँग कुनै रकम मागेको छैन। सरकारले मागेको मुख्य डकुमेन्टमा निवेदन, जुन देशमा प्लेटफर्म कम्पनी दर्ता भएको छ त्यो कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि, कम्पनी दर्ता नम्बर, जुन देशमा करमा दर्ता भएको छ सो दर्ता नम्बर वा प्यान नम्बर, बिजनेस सिनप्सिस, नेपालमा तोकिने सम्पर्क व्यक्ति वा प्वाइन्ट अफ कन्ट्याक्टको नाम र टेलिफोन नम्बर हो।’

उनका अनुसार बिजनेस सिनप्सिसमा उक्त कम्पनी वा प्लेटफर्मले नेपालमा के कस्तो सुविधा दिन्छ र के कस्ता व्यापार गर्छ भन्ने विवरण खुलाउनुपर्ने हुन्छ।

यसैगरी प्वाइन्ट अफ कन्ट्याक्ट अर्थात् सम्पर्क व्यक्ति त्यस्तो व्यक्ति हो जसलाई नेपालको सम्बन्धित मन्त्रालय वा नियामक निकायले आवश्यक परेको बेला सिधा सम्पर्क गरेर चाहेको जानकारी लिन सकोस्।

प्रकाशित: २० भाद्र २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया