Technology Khabar १९ भाद्र २०८२, बिहीबार
काठमाडौं ।
इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको छाता संस्था इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) ले नियामकको निर्देशनअनुसार नेपालमा सूचीकरण नभई नेपालभित्र सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालमा निष्क्रिय गराउने जानकारी दिएको छ।
संस्थाले विज्ञप्ती जारी गर्दै नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनअनुसार तोकिएका सामाजिक सञ्जाल प्लेटफर्महरु बन्द गरिने बताएको छ।
आइस्पानले भनेको छ, “सम्मानित सर्वोच्च अदालतको आदेश, नेपाल सरकार मन्त्रिपरिषदको मिति २०८२/०५/०१ को निर्णय, श्री सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मिति २०८२/०५/१९ को मन्त्रिस्तरीय बैठकको निर्णय तथा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम नेपालमा सूचीकरण नभई नेपालभित्र सञ्चालनमा रहेका देहायका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालमा निष्क्रिय गराउने व्यवस्था गर्नका लागि आज मिती २०८२/०५/१९ मा श्री सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले श्री नेपाल दूरसंचार प्राधिकरण मार्फत इन्टरनेट सेवा प्रदायकहरुलाई निर्देशन दिएको कुरा ग्राहक महानुभावहरुमा जानकारी गराउदछौँ।”
यसैगरी आइस्पानले समन्वयकारी भूमिका निर्वाह गर्नका लागि भदौ १७ गते नेपाल सरकारलाई पत्र लेखि आवश्यक तयारी गरेको जानकारी दिँदै नेपाल दूरसञ्चार प्राधिकरणसँग समन्वय गरि सामाजिक संजालहरुलाई आफ्ना नेटवर्कमा बन्द गर्न लागिपरेको जानकारी दिएको छ।
यसबाट ग्राहक महानुभावहरुलाई पुग्न गएको क्षति एवं असुविधा प्रति क्षमाप्रार्थी भएको उल्लेख गरेको छ।
“ग्राहक महानुभावहरु यहाँ उल्लेख भएका सामाजिक संजालहरु बाहेकका सामाजिक संजालहरु भने निर्वाध रुपमा हाम्रा सेवा प्रदायकहरुको नेटवर्कमा चलिरहेको कुरा अवगत गराउन पनि चाहन्छौं,” विज्ञप्तीमा भनिएको छ।
प्रकाशित: १९ भाद्र २०८२, बिहीबार