Technology Khabar १९ भाद्र २०८२, बिहीबार
काठमाडौं ।
सरकारले फेसबुक, मेसेन्जर, इन्स्टाग्राम, युट्युब र ह्वाट्सएप जस्ता प्रमुख सहित २६ सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्म बन्द गर्ने निर्णयसँगै नेपाल प्रहरीको साइबर ब्यूरोले नयाँ माध्यम टिकटकमार्फत सेवा प्रवाह गर्ने घोषणा गरेको छ।
ब्यूरोले आजै आफ्नो आधिकारिक फेसबुक पेजमार्फत एक सूचना प्रकाशित गर्दै नागरिकलाई आपतकालीन अवस्थाको लागि १०० मा फोन गर्न अनुरोध गरेको छ।
साथै, सूचना तथा जानकारीका लागि टिकटक र प्रत्यक्ष सम्पर्कका लागि ९८५१२८६७७०, ९८५१२८६७७१ वा ०१-५३१९०४ (Ext. 100) मा सम्पर्क गर्न सकिने जानकारी दिएको छ।
टिकटकमार्फत सीधा सम्पर्क
सरकारको निर्णयले अन्य सामाजिक सञ्जाल बन्द भएपछि, ब्युरोले जनसाधारणसँग प्रत्यक्ष सम्पर्क राख्न टिकटकलाई प्राथमिक माध्यमका रूपमा प्रयोग गर्ने तयारी गरेको हो। ब्युरोले टिकटक खाता सार्वजनिक गर्दै त्यहाँ जोडिन सकिने जनाएको छ।
यसका अतिरिक्त, ब्युरोको आधिकारिक वेबसाइटमार्फत पनि अनलाइन उजुरी पेश गर्न सकिने व्यवस्था मिलाइएको छ। उजुरी दर्ता गर्न र आवश्यक जानकारी लिन वेबसाइट प्रयोग गर्न सकिने उल्लेख गरिएको छ।
सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयलाई लिएर विभिन्न क्षेत्रमा बहस सुरु भए पनि, साइबर ब्युरोले आफ्नो सेवा निरन्तरता कायम राख्ने स्पष्ट सन्देश दिएको छ।
प्रकाशित: १९ भाद्र २०८२, बिहीबार