
काठमाडौं ।
नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालको दुरुपयोग गर्ने एक जनालाई पक्राऊ गरेको छ। पक्राऊ पर्नेमा नुवाकोट जिल्लाको तादी गाउँपालिका-३ स्थायी ठेगाना भई हाल काठमाण्डौं जिल्ला कागेश्वरी मनहरा नगरपालिका-७ मुलपानीमा डेराकोठा गरी बस्ने सुमन थापा भन्ने प्रेम बहादुर थापा रहेको प्रहरीले जनाएको छ।
पक्राऊ परेका थापालाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा मिति २०८२ भदौ १८ गते ब्यूरोको टोलिले जिल्ला काठमाडौं, कागेश्वरी मनहरा नगरपालिका वडा नं. ७ मुलपानी बाट पक्राउ गरी काठमाडौं जिल्ला अदालतको आदेशले दिन ३ (तीन) म्याद थप भई आवश्यक अनुसन्धान कार्य भइरहेको ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी दिपकराज अवस्थीले जानकारी दिए।
‘सामाजिक सञ्जालमा सम्मानित तथा सार्वजनिक पद धारण गरेका व्यक्तित्वहरूलाई लक्षित गरी अमर्यादित अभिव्यक्तिका साथसाथै हिंसात्मक भाषा सहितको पोष्ट गरी समाजमा सार्वजनिक नैतिकता र शिष्टाचारमा असर पार्ने, घृणा तथा द्वेष फैलाउने गतिविधिमाथि गरिएको प्रारम्भिक प्राविधिक अनुसन्धान तथा विश्लेषणबाट त्यस्ता कार्य गर्ने’ थापालाई पक्राऊ गरिएको प्रहरीले जनाएको छ।
प्रकाशित: १९ भाद्र २०८२, बिहीबार