राति फोन कल गर्दा सानो आवाजमा बोल्नूस्: काठमाडौं उपत्यका प्रहरी कार्यालय

Technology Khabar १९ भाद्र २०८२, बिहीबार

राति फोन कल गर्दा सानो आवाजमा बोल्नूस्: काठमाडौं उपत्यका प्रहरी कार्यालय

काठमाडौं ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयले राति फोन कल गर्दा सानो आवाजमा बोल्न र हेडफोनको प्रयोग गर्न वा म्यासेजमै संवाद गर्न अनुरोध गरेको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयले थालनी गरेको ‘शान्त, तथा अवरोधमुक्त छिमेकी अभियान’ अन्तर्गत राति अबेरसम्म ठुलो स्वरले गफगाफ नगर्न आग्रह गरिएको छ।

यसबाहेक छिमेकीलाई असजिलो हुने गरी पार्टी वा जमघट नगर्न र अबेरसम्म म्युजिक बजाएर नाचगान नगर्नका लागि अनुरोध पनि गरिएको छ।

टेलिभिजन वा म्युजिक सिस्टम खोलेर सुत्ने कार्य नगर्न, भान्सामा भाडाँकुडाँको ठूलो आवाज उत्पन्न नगर्न र राति गेट ढकढकाउने वा बेल बजाउने कार्य नगर्नका लागि थप आग्रह गरिएको छ। आवश्यकता अनुसार फोनको प्रयोग गरेर ढोका खोल्न लगाउन कार्यालयले अनुरोध गरेको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयले थालनी गरेको ‘शान्त, तथा अवरोधमुक्त छिमेकी अभियान’ (Disturbance Free Neighbourhood Campaign) सुरु गरेको अभियानमा निम्न कार्यहरू पालना गर्न अनुरोध गरिएको छः

१. राति अनावश्यक आवाज नगरौँ।

  • फोन कल गर्दा आवाज कम गरौं वा हेडफोन प्रयोग गरौं, म्यासेजमै संवाद गरौँ।
  • अबेरसम्म ठूलो स्वरले गफगाफ नगरौं।
  • पार्टी वा जमघट गर्दा छिमेकीलाई असजिलो हुने गरी नगरौँ।
  • अबेरसम्म म्युजिक बजाएर नाचगान नगरौँ।
  • टेलिभिजन वा म्युजिक सिस्टम खोलेर सुत्ने कार्य नगरौं।
  • भान्सामा भाडाँकुडाँको ठूलो आवाज उत्पन्न नगरौं।
  • राति गेट ढकढकाउने वा बेल बजाउने कार्य नगरौं, आवश्यकता अनुसार फोनको प्रयोग गरेर ढोका खोल्न लगाऔं।

२. बिहानको शान्ति कायम राखौं।

  • बिहानको नित्य कर्म गर्दा अनावश्यक खोक्ने खकार्ने नगरौँ।
  • गेट खोल्दा र अन्य क्रियाकलाप गर्दा आवाज कम गरौं।
  • मोटरसाइकल वा अन्य सवारी साधन बिहानै स्टार्ट गरेर ठूलो आवाज ननिकालौं, ठूलो आवाज आएमा छिमेक भन्दा पर लगी चालु गरौँ।

३. शौचालय र अन्य घरेलु क्रियाकलापमा सचेत बनौं।

  • राति अबेर शौचालय फ्लश गर्दा ध्वनि कम गर्ने उपाय अपनाऔं।
  • राति अबेर वा बिहान सबेरै प्रेसर कुकरमा सिठ्ठी लगाउने कार्य नगरौँ।
  • घरमा संगीत अभ्यास गर्दा ध्वनि नियन्त्रण उपकरण प्रयोग गरौं।
  • सडकमा अनावश्यक हल्ला नगरौं।

४. सामाजिक र धार्मिक क्रियाकलापमा सचेत बनौं।

  • धार्मिक वा संस्कृतिक कार्यक्रममा ध्वनि नियन्त्रण गरौँ।
  • मन्दिर, गुम्बा, मस्जिदमा ध्वनि नियन्त्रण गर्दै पूजा-प्रार्थना गरौं।

५. अन्यः

  • चुरोट वा फोहर जलाएर छिमेकमा धुवाँ र वातावरण प्रदूषण नगरौँ।
  • घर बाहिर फोहर नफालौं, निश्चित फोहर फाल्ने स्थानमा मात्र फालौँ।
  • कुहिने र नकुहिने फोहरको समुचित व्यवस्थापन गरौं।
  • सडकमा जथाभावी फोहर गरी टोल छिमेकमा दुर्गन्धित नपारौं।
  • छिमेकीसँग मिलेर नियमित सफाइ अभियान सञ्चालन गरौँ।
  • आफुले पालेको जनावरहरु ( कुकुर, कुखुरा) आदिबाट छिमेकी र वातावरणलाई अशान्ति नगरौं।
  • प्रेशर हर्न वा मोडीफाई गरी ठूलो आवाज निकालेर सवारी साधन नचलाऔँ।

विभिन्न मानवीय क्रियाकलापका कारण उत्पन्न हुने ध्वनी प्रदुषण मानव स्वास्थ्यका लागि हानिकारक हुने भएकोले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले ध्वनी प्रदुषण कम-रोकथाम गर्न यो अभियानको थालनी गरेको हो।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जारी गरेको अनुरोधमा ध्वनि प्रदूषणका कारण खासगरी गर्भवती महिला, मुटुरोगी एवं वृद्धवृद्धा र बालवालिकाको शैक्षिक, मानिसक र शारीरिक स्वास्थ्यमा गम्भीर नकारात्मक असर पर्ने उल्लेख गरिएको छ।

साथै सर्वसाधारण जनताको सामाजिक, आर्थिक कृयाकलाप तथा नैतिक मूल्य मान्यता समेत प्रभावित हुने एवं सामाजिक सम्बन्धहरुमा समेत प्रतिकूल असर पर्न जाने भएको हुँदा घर, परिवार र छिमेकीहरूको हितका लागि माथि उल्लेखित कार्यहरू पालना गर्नुका लागि अनुरोध गरिएको छ।

त्यसैगरी कानुनी व्यवस्था अनुसार ध्वनी प्रदुषण गर्ने व्यक्ति वा संस्थालाई सम्बन्धित निकायले त्यस्तो कार्यमा बन्देज लगाई ३ लाख रुपैया सम्म जरिवाना गर्नसक्ने बताइएको छ।

यस बाहेक यस्ता गतिविधि गरी टोल छिमेकमा समस्या पारेमा  निम्न फोन नम्बरहरु (प्रहरी कन्ट्रोलः १००, ट्राफिक कन्ट्रोलः १०३ र का. उ.प्र.का. रानीपोखरीः ९८५१२८३०२६, ९८५१२८३०२७)मा सम्पर्क गर्न कार्यालयले अनुरोध गरेको छ।

Sajilo Visa

प्रकाशित: १९ भाद्र २०८२, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार