Technology Khabar १९ भाद्र २०८२, बिहीबार
काठमाडौं ।
सरकारले सामाजिक सञ्जालहरु निष्क्रिय गराउने भएको छ। सूचना तथा सञ्चार मन्त्रालयमा आज बसेको मन्त्रिपरिषद बैठकले सूचीकरण हुन नआउने सामाजिक सञ्जाललाई निष्क्रिय बनाउने निर्णय गरेको हो।
यस निर्णय अन्तर्गत फेसबुक,एक्स, यूट्युबलगायत २६ ओटा सामाजिक सञ्जाल बन्द हुने भएका छन्। मन्त्रिपरिषदको निर्णय र सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज उक्त निर्णय गरेको हो।
सरकारले तोकिएका सामाजिक सञ्जाल बन्द गर्न नियामक निकाय दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने निर्णय गरिसकेको सञ्चार सचिव राधिका अर्यालले जानकारी दिइन्।
उनकाअनुसार प्राधिकरणले सामाजिक सञ्जाल क्रमशः निष्क्रिय गर्नेछ।
यसै सम्बन्धमा आजै सञ्चार तथा सूचना मन्त्रालयले एउटा विज्ञप्ति प्रकाशित गरी सर्वोच्च अदालतको आदेश परिपालनाका लागि मिति गत भदौ ९ गते नेपाल सरकार (मन्त्रिपरिषद्) बाट भएको निर्णयानुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८०’ बमोजिम सात (७) दिनको म्याद दिई सामाजिक सञ्जाल प्लेटफर्महरुलाई सूचीकरण गर्नका लागि मिति २०८२ । ०५ । १२ मा सार्वजनिक सूचना प्रकाशन गरिएकोमा तोकिएको समय सिमा भित्र सूचीकरणका लागि मन्त्रालयमा सम्पर्क गर्न नआएका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालभित्र निष्क्रिय गराउन र सूचीकरण गरेमा सोही क्षणदेखि पुनः सक्रिय गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइएको जानकारी दिएको छ।
केही समयअघि सर्वोच्च अदालतको बृहत पूर्ण इजलासले अदालतको अवहेलनासम्बन्धी मुद्दा (मुद्दा नं. ०८०-CF-००१२) मा स्वदेशी वा विदेशी उत्पत्तिका अनलाइन तथा सामाजिक सञ्जाल प्लेटफर्महरूलाई सञ्चालन पूर्व अनिवार्य रूपमा सम्बन्धित साधिकार निकायबाट सूचीकरण गरी अनिच्छित सामाग्रीहरुको मूल्याङ्कन र अनुगमन गर्न नेपाल सरकारको नाममा निर्देशनात्मक आदेश दिएको थियो।
यसैबीच सामाजिक सञ्जाल निष्क्रिय गराउने निर्णय भए पनि सरकार आफैं कुन एप्लिकेशन वा सेवालाई सामाजिक सञ्जाल अन्तर्गत राख्ने भन्नेमा स्पष्ट नभएको स्रोतले जनाएको छ।
सूचीकरण हुन आउन दिएको सात दिने अल्टिमेटम बुधबार राति समाप्त भएको र यो समयावधिमा कुनै लक्षित सामाजिक सञ्जाल प्लेटफर्महरु दर्ता हुन नआएपछि आज यस्तो निर्णय आएको हो।
आज बिहानै नेकपा एमालेका महासचिव शंकर पोखरेल र प्रधानमन्त्री केपी शर्मा ओलीमा मुख्य सल्लाहकार विष्णु रिमालले सामाजिक सञ्जाल निष्क्रिय हुने र फेसबुकबाट प्रतिबन्ध लगाउन सुरु गर्ने संकेत गरेका थिए। अन्तत: उनीहरुको पहिलो संकेत साँचो निस्किएको छ। यद्यपि फेसबुकबाट शुरु गर्ने वा अन्य कुनैबाट वा एकैपटक भन्ने बाहिर आइसकेको छैन।
सम्बन्धित समाचार
सामाजिक सञ्जाल प्लेटफर्म सूचीकरण गर्न सरकारले जारी गर्यो सार्वजनिक सूचना
सरकारकाले प्रतिबन्धको प्रकृया सुरु गर्ने संकेत गरिरहँदा कुन सञ्जाल पहिलो बन्द होला भनेर आमजनतामा चासो बढेको छ।
यसै सम्बन्धमा केहीदिन अघि टेक्नोलोजीखबरले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरलाई अल्टिमेटम सकिने बित्तिकै बन्द गर्ने योजना छ कि भनेर सोधेको थियो। यसमा प्रवक्ता ठाकुरले सरकार सामाजिक सञ्जालहरु सूचीकरण प्रक्रियामा आउँछन् भन्ने पूर्ण आशावादी भएकोले म्याद सकिने अन्तिम समयसम्म कुर्ने योजनामा रहेको र अन्य कुनै प्लान ए वा प्लान बी नभएको बताएका थिए।
सोही क्रममा उनले म्याद सकिइसके पछि भने राज्यले पक्कै केही गर्ला भन्ने आशय व्यक्त गरेका थिए। सोही अनुरुप मन्त्रिपरिषदको बैठकले सामाजिक सञ्जाल निष्क्रिय गराउने निर्णय गरेको छ।
सरकारले नेपालमा चल्ने नेपाली वा विदेशी कुनै पनि सञ्चालकद्वारा सञ्चालित सामाजिक सञ्जाल नेपालमा दर्ता हुुन, सम्पर्क कार्यालय खोल्न, सम्पर्क अधिकारीको व्यवस्था गर्नुपर्नेलगायतका पूर्वशर्तहरु राख्दै विभिन्न समयमा गरी पटक पटक म्याद दिँदै आएको थियो।
सम्बन्धित समाचार
सामाजिक सञ्जाल प्लेटफर्म सूचीकरण गर्न सरकारले जारी गर्यो सार्वजनिक सूचना
यस्ता म्याद र सूचनालाई मानेर यसअघि टिकटकलगायतका सामाजिक सञ्जाल दर्ता भएर काम अगाडि बढाइरहेका छन् भने टेलिग्राम एप्लिकेसनले पनि नेपालमा दर्ता प्रक्रिया थालिसकेको छ।
तर सरकारले यी बाहेक एक्स, गुगल, मेटाको फेसबुक, इन्स्टाग्राम तथा रील्सलगायत सञ्जालहरु पनि दर्ता हुन आउन् भन्ने हेतुले पटक पटक सूचनासहित ताकेता गर्दा पनि अटेर गरेकामा पछिल्लो अल्टिमेटमलाई पनि बेवास्ता गरेपछि अब यस्ता सामाजिक सञ्जाललाई क्रमश: निष्क्रिय बनाउँदै लैजाने दिशामा सरकार अघि बढेको हो।
प्रकाशित: १९ भाद्र २०८२, बिहीबार