Technology Khabar १९ भाद्र २०८२, बिहीबार
काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले पनि सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्महरू निष्क्रिय हुने संकेत दिएका छन्। यसअघि उनकै पार्टीका महासचिव शंकर पोखेलले पनि सामाजिक सञ्जालहरु बन्द हुनसक्ने संकेत दिँदै फेसबुक स्ट्याटस राखेका थिए।
प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्महरू हामीमध्ये धेरैजसोको लागि लत बनेका भन्दै यी अचानक बन्द भए के हुन्छ भन्ने प्रश्न गरेका छन्।
सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्महरू हामीमध्ये धेरैजसोको लागि लत बनेका छन्। प्रधानमन्त्रीदेखि साधारण नागरिकसम्म, मानिसहरूले आफ्नो दैनिक गतिविधिहरूको बारेमा अपडेटहरू साझा गर्छन् र हरेक दिन दर्जनौं पोस्टहरू मार्फत भावनाहरू आदानप्रदान गर्छन्। तर यदि यी प्लेटफर्महरू अचानक अँध्यारो भए भने के हुन्छ? उनले एक्स (पहिलेको ट्विटर) मा लेखेका छन्।
यसैगरी उनले केही अवाञ्छित तत्वका असामाजिक भूमिका र केही गैरजिम्मेवार व्यक्तिका कामको कारण सम्मानित सर्वोच्च अदालतले नेपालभित्र सम्पर्क विन्दु (प्वाइन्ट अफ कन्ट्याक्ट), स्वनियमन तथा आवासीय गुनासो सुन्ने अधिकारी तोकी कम्पनी सूचिकृत नगरेसम्म रोक लगाउने आदेश दिएको उल्लेख गर्दै सम्भवतः दर्ता नभएका सबै सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्महरु निष्क्रिय हुने बताएका हुन्।
“लतकै रुपमा हाम्रो जीवनमा जोडिएका यी सञ्जाल र प्लेटफर्म चाँडोभन्दा चाँडो सूचिकृत होउन् र हामीले शीघ्र यसको प्रयोग गर्ने वातावरण बनोस्।
यही अपेक्षा सहित –– शुभ बिहानी!,” उनले फेसबुकमा लेखेका छन्।
प्रकाशित: १९ भाद्र २०८२, बिहीबार