त्रिवि परीक्षा नियन्त्रण कार्यालयले खुलायो ५१औं दीक्षान्त समारोहमा भाग लिन फाराम, यसरी दिनुहोस् अनलाइन आवेदन

  • Technology Khabar | १८ भाद्र २०८२, बुधबार
त्रिवि परीक्षा नियन्त्रण कार्यालयले खुलायो ५१औं दीक्षान्त समारोहमा भाग लिन फाराम, यसरी दिनुहोस् अनलाइन आवेदन

काठमाडौं ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ५१औं दीक्षान्त समारोह (२०८२) मा भाग लिनका लागि अनलाइन आवेदन फाराम भर्नेसम्बन्धी सूचना जारी गरेको छ।

कार्यालयका अनुसार २०८१ साल आषाढ १ गतेदेखि २०८२ साल जेष्ठ ३१ गते सम्ममा सेमेष्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तथा एम.फिल तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरू र सोही अवधि भित्र विद्यावारिधि (पिएच्.डी) तह पूरा गर्नेहरूले मात्र फाराम भर्न पाउनेछन्।

‘त्रिभुवन विश्वविद्यालयद्वारा आयोजना गरिने ५१ दान्त समारोहमा भाग लिन माथि उल्लेख भए बमोजिमका तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिइसकेका इच्छुक विद्यार्थीहरुले वि. वि. परीक्षा नियन्त्रण कार्यालय बल्खुमा मिति २००२ साल भाद्र १८ गतेदेखि २०८२ साल आश्विन ३१ गतेसम्म आईपुग्ने गरी निम्नानुसार रित पुयाई अनलाइन आवेदन दिन हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’, सूचनामा भनिएको छ।

कार्यालयका अनुसार आवेदन फाराम २०८२ साल भाद्र १८ गतेदेखि अनलाइनबाट मात्र भर्न सकिनेछ। त्रि.वि. परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट student.tuexam.edu.np मा गएर अनलाइन फाराम भर्न सकिनेछ। २०८२ साल आश्विन ३१ गते पछि सो अनलाइन फाराम बन्द हुनेछ। आवेदन फाराम अनलाइन भर्दा आवेदन फारमका साथ एम. आर.पि. साइजको फोटो, नागरिकताको प्रमाणपत्र र आफूले तह पार गरेको ट्रान्सक्रिप्टको स्क्यान कपी अनिवार्य रुपमा अपलोड गर्नु पर्नेछ।

अनलाइन आवेदन बुझाउँदा प्राप्त सम्पूर्ण पीडीएफ दस्तावेजहरु प्रिन्ट गरी सुरक्षित राख्नुपर्नेछ। दीक्षान्त समारोह सम्बन्धी विस्तृत कार्यक्रमको सूचना प्रकाशित भए पश्चात् गाउन स्कार्फ आदि लिन आउँदा सो दस्तावेज परीक्षा नियन्त्रण कार्यालयको तोकिएको शाखामा पेश गरी कार्यालयको छाप लगाई सुरक्षित राख्नु पर्नेछ सूचनामा उल्लेख छ।

परीक्षा नियन्त्रण कार्यालयले तोकिएको शुल्क नेपाल बैक वा ग्लोबल आईएमई बैकमा अनलाइन ब्याङ्किङबाट मात्र दाखिला गर्न सकिने जनाएको छ। शुल्क बुझाउँदा अनिवार्य रुपमा रसिद तथा ट्रान्ज्याक्शन आईडी प्राप्त गरी सुरक्षित राख्नु पर्नेछ। धरौटी रकम फिर्ता गर्ने बैंकको नाम, खाता नं. र खातावालाको नाम निश्चत गरेर मात्र रुपमा लेख्नु पर्नेछ। खाताको कारणले रकम फिर्ता हुन नसकेमा कार्यालय जिम्मेवार नहुने प्रस्ट्याइएको छ।

दीक्षान्त समारोह सम्बन्धी विस्तृत जनकारी परीक्षा नियन्त्रण कार्यालयको student.tuexam.edu.np मा हेर्न सकिनेछ। दीक्षान्त समारोह सम्बन्धी विस्तृत पार्यक्रम पछि प्रकाशित गरिनेछ।

प्रकाशित: १८ भाद्र २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...