भर्चुअल सिमकार्ड (ईसिम) भनेको के हो? कसरी इन्स्टल गर्ने? जान्नुहोस्

Technology Khabar १८ भाद्र २०८२, बुधबार

भर्चुअल सिमकार्ड (ईसिम) भनेको के हो? कसरी इन्स्टल गर्ने? जान्नुहोस्

काठमाडौं ।

ईसिम (ईम्बेडेड सिम) भनेको मोबाइल फोनभित्रै जडित डिजिटल (भर्चुअल) सिमकार्ड हो, जसलाई सफ्टवेयरको मद्दतले प्रोग्रामिङ गरेर मोबाइलमा इन्स्टल गरिएको हुन्छ।

यसको प्रयोगले परम्परागत भौतिक सिमकार्डको आवश्यकतालाई हटाउँछ भने यसलाई प्रयोगमैत्री पनि मानिन्छ। ईसिम सजिलैसँग एउटा मोबाइलबाट अनइन्स्टल गरेर अर्को मोबाइलमा इन्स्टल गर्न पनि सकिन्छ।

यो सिमकार्ड हराउने डर नहुने, बिग्रने वा भाँचिने दर नहुने, मोबाइल सेटबाट निकालिराख्नु नपर्ने र एउटै मोबाइलमा एक भन्दा बढी सिम प्रोफाइल राख्न मिल्ने भएकाले निकै सुविधाजनक हुन्छ। तर ईसिम प्रयोग गर्नका लागि चाहिँ मोबाइल सेटले ईसिम सपोर्ट गर्नु पर्ने हुन्छ।

आफ्नो मोबाइल सेटमा ईसिम कसरी इन्स्टल गर्ने?

तपाईले आफ्नो मोबाइलमा ईसिम इन्स्टल गर्नका लागि नेपाल टेलिकमको वेवसाइट https://esim.ntc.net.np मार्फत अनलाइन आवेदन दिन सक्नुहुन्छ। अथवा नजिकको नेपाल टेलिकमको काउन्टरमा गई ईसिमको क्यूआर कोड प्राप्त गरी इन्स्टल गर्न सकिन्छ।

नेपाल टेलिकमका अनुसार कम्पनीको मोबाइल एप मार्फत पनि ईसिमको लागि आवेदन दिन सकिने व्यवस्था मिलाइँदैछ। यसका साथै ईसिमको शुल्क रु. ५० पर्ने हुनाले ईसिम एक्टिभेट गर्नका लागि उक्त शुल्क तिर्न तपाईंको मुख्य ब्यालेन्स रु. ५० भन्दा बढी हुनुपर्छ।

साथसाथै तपाईंको मोबाइल नम्बर सक्रिय अवस्थामा हुनुपर्छ ताकि ओटीपी प्रमाणीकरण गर्न र सिस्टममा लगइन गर्न सकियोस्।
(याद गर्नुहोस् ईसिम इन्स्टल का लागि आवेदन दिनुअधि आफ्नो मोबाइल सेटले सिम सपोर्ट गर्छ कि गर्दैन भनेर बुझ्नु निकै जरुरी हुन्छ।)

मेरो मोबाइल सेटले ईसिम सपोर्ट गर्छ कि गर्दैन, कसरी थाहा पाउने?

नेपाल टेलिकमको वेबसाइट (esim.ntc.net.np) वा एनटीएप मार्फत ईसिमको लागि अनलाइन आवेदन दिनुअघि अनिवार्य रुपमा आफ्नो मोबाइलबाट *#०६# डायल गरेर हेर्नुहोस्।

यदि डिभाइस इन्फोर्मेशनमा ८९ बाट शुरु भएको ३२ अंकको ईआईडी (इम्बेडेड आईडेन्टिटी डक्युमेन्ट) कोड देखाउँछ भने उक्त मोबाइल सेटले ईसिम सपोर्ट गर्छ भन्ने बुझ्न सकिन्छ। होइन भने उक्त मोबाइल सेटले ईसिम सपोर्ट गर्दैन।

https://esim.ntc.net.np पोर्टल मार्फत ईसिमको लागि आवेदन कसरी गर्ने?

नेपाल टेलिकमको ईसिम पोर्टल www.esim.ntc.net.np मा आवेदनको समय भेरिफाइ योर मोबाइल नम्बर’ मा आफ्नो मोबाइल नम्बर इन्ट्री गरेर सेन्ड ओटीपी गरिसकेपछि सोही नम्बरमा वान टाइम पासवर्ड (ओटीपी) कोड प्राप्त हुन्छ।

उक्त ओटीपी कोड राखिसकेपछि देखापर्ने स्क्रिन भेरीफाइ योर डेटेल्स’ मा मोबाइल नम्बरको साथमा नागरिकता नम्बर र जारी भएको जिल्ला छनौट गर्नुपर्ने हुन्छ। निर्देशन बमोजिम अगाडि बढ्दै नागरिकता समातेको स्पष्ट फोटो सहित अन्य विवरणहरु प्रविष्ट गरिसकेपछि ईसिमको क्यूआर कोड प्राप्त हुन्छ र सोही क्यूआर कोड स्क्यान गरेर आफ्नो मोबाइलमा ईसिम इन्स्टल गर्न सकिन्छ।

ईसिम एक्टिभेसन को अनुरोध पूरा हुन केही समय लाग्न सक्छ। धैर्य गर्नुहोला।

ईसिमको लागि आवेदन गर्दा भेरिफिकेशन नै हुन सकेन, के भएको होला?

यदि सिमकार्ड तपाईंको आफ्नै नाममा दर्ता छैन वा नेपाल टेलिकमको सिस्टममा दर्ता भएको नाम र नागरिकता नम्बरको विवरण तपाईंले इन्ट्री गरेको विवरणसँग दुरुस्त मेल खाएन भने ‘भेरिफिकेशन फेल्ड’ भन्ने सन्देश प्राप्त हुन्छ। यस अवस्थामा ईसिमका लागि अनलाइन आवेदनको काम अगाडि बढ्न सक्दैन।

भेरिफिकेशन फेल हुने समस्या कसरी समाधान गर्न सकिन्छ त?

ईसिमको लागि अनलाइन आवेदन पेश गर्दाको अवस्थामा आफ्नो नागरिकता नम्बर र जारी जिल्ला प्रमाणीकरण गर्न असमर्थ भई भेरिफिकेशन फेल्ड भन्ने सन्देश आयो भने नेपाल टेलिकमको रेकर्डमा तपाईंको प्रोफाइल अपडेट गरिएको छैन भन्ने बुझिन्छ।

यस अवस्थामा आवश्यक कागजातका साथमा नजिकको नेपाल टेलिकमको काउन्टरमा गएर प्रकृया पूरा गरी सिमकार्ड आफ्नो नाममा दर्ता कायम गराउनु पर्ने हुन्छ। जसले गर्दा भविष्यमा नेपाल टेलिकमका अन्य सेवा प्रयोगमा समेत सहजता हुन जान्छ।

हाल बजारमा पाइने सबै स्मार्टफोनहरूले सिम सपोर्ट गर्छन्?

हाल बजारमा पाइने सबै स्मार्टफोनहरूले ईसिम सपोर्ट गर्दैनन्। मोबाइल सेटको ईसिम सपोर्ट गर्ने वा नगर्ने क्षमता मोबाइलको हार्डवेयर र अपरेटिङ सिस्टम दुवैमा निर्भर हुन्छ। तसर्थ नयाँ मोबाइल किन्नु अघि त्यसले ईसिम सपोर्ट गर्छ कि गर्दैन भन्ने जानकारी लिएर मात्र किन्नु उपयुक्त हुन्छ।

Sajilo Visa

प्रकाशित: १८ भाद्र २०८२, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार