जापानी बिटक्वाइन कम्पनी मेटाप्लानेटले पुँजी योजना पारित गर्दै गर्दा एरिक ट्रम्प उत्रिए मञ्चमा

Technology Khabar १७ भाद्र २०८२, मंगलवार

जापानी बिटक्वाइन कम्पनी मेटाप्लानेटले पुँजी योजना पारित गर्दै गर्दा एरिक ट्रम्प उत्रिए मञ्चमा

काठमाडौं ।

एरिक ट्रम्पले सोमबार टोक्योमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको परिवारले अन्तर्राष्ट्रिय स्तरमा क्रिप्टो व्यापार विस्तार गरिरहेको जापानी बिटक्वाइन ट्रेजरी कम्पनी मेटाप्लानेटको पक्षमा समर्थन जनाए जसका माध्यमबाट  छ।

राष्ट्रपति ट्रम्पका दोस्रो छोरालाई गत मार्चमा मेटाप्लानेटको सल्लाहकार नियुक्त गरिएको थियो। कम्पनीसँग २ अर्ब डलरभन्दा बढी मूल्यको बिटक्वाइन छ। उनले सोमबार कम्पनीको विशेष साधारणसभा बैठकमा सहभागिता जनाए, जुन उनी गत हप्ता हङकङमा भएको बिटक्वाइन एसिया सम्मेलनमा देखापरेको केही दिनपछि भएको हो।

मेटाप्लानेटले ५५० मिलियन नयाँ सेयर विदेशमा बिक्री गर्न १३०.३ अर्ब येन (८८४.४१ मिलियन डलर) उठाउने योजना अनुमोदन गर्न बैठक बोलाएको थियो। उठाइएको पुँजी मुख्यतया थप बिटक्वाइन खरिदमा खर्च गर्ने बताइएको छ। टोक्योको शिबुया क्षेत्रमा भएको बैठकमा सहभागी तीन जनाले पुँजी उठाउने योजना पारित भएको बताए।

रोयटर्सका अनुसार कार्यक्रम सुरु हुनुअघि सम्पर्क गर्दा मेटाप्लानेटले एरिक ट्रम्पको संलग्नताबारे टिप्पणी गर्न अस्वीकार गरेको थियो। पुँजी उठाउने मतदानपछि पनि कम्पनीले प्रतिक्रिया दिएको छैन।

एरिक ट्रम्पका प्रतिनिधिले पनि कुनै प्रतिक्रिया दिएनन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई “क्रिप्टो राष्ट्रपति” बनाउने वाचा गरेका छन्। उनका अनुसार यसले बैंकिङ प्रणाली सुधार गर्न र अमेरिकी डलरको प्रभुत्व बढाउन मद्दत गर्नेछ। तर क्रिप्टोसहितका उनका केही व्यापारिक गतिविधि अमेरिकी नीतिगत परिवर्तनबाट प्रत्यक्ष लाभान्वित भएको र यसबारे आलोचना उठेको छ।

एरिक ट्रम्प र उनका दाजु डोनाल्ड ट्रम्प जुनियरले स्थापना गरेको बिटक्वाइन माइनिङ कम्पनी अमेरिकन बिटक्वाइन यसै महिनामा नास्डाकमा सूचीबद्ध हुने तयारीमा छ।

हङकङमा एरिक ट्रम्पले बिटक्वाइन केही वर्षभित्रै १ मिलियन डलरसम्म पुग्ने विश्वास व्यक्त गरेका थिए। सोमबार यसको मूल्य १०८,०४६.७९ डलरमा कारोबार भएको थियो, जुन गत महिना पुगेको १२४,४८०.८२ डलरको रेकर्डभन्दा तल हो।

पहिले होटल व्यवसाय सञ्चालन गर्ने मेटाप्लानेटले २०२४ अप्रिलदेखि होटल सम्पत्ति बेचेर क्रिप्टो क्षेत्रमा प्रवेश गरेको थियो। संस्थापक तथा मुख्य कार्यकारी सिमोन गेरोभिचले माइकल सेलरको बिटक्वाइन ट्रेजरी कम्पनी स्ट्राटेजी बाट प्रेरणा लिएको बताएका छन्।

सोमबारको बैठक स्थलमा उत्सवमय माहोल देखिएको थियो। प्रवेशद्वारमा पोशाकधारीहरू पंक्तिबद्ध थिए, फुड ट्रकहरू राखिएका थिए र के-पप ब्याण्डको प्रस्तुति तय गरिएको थियो। पत्रकारलाई बैठकभित्र जान अनुमति थिएन। दिउँसो गेरोभिच र एरिक ट्रम्पले मिल्दोजुल्दो मेटाप्लानेटको जर्सी लगाएर मञ्चमा उपस्थिति जनाए।

एरिक ट्रम्पले भने, “मलाई लाग्छ धेरै मानिसहरू, सिमोनसहित, र निश्चित रूपमा म पनि माइकल सेलरले अमेरिकामा यो मोर्चा अघि बढाएको भन्नेछौँ । र सिमोनले एशियाभर यो नेतृत्व गरेका छन् भन्नेमा कुनै शंका छैन।”

बन्ड र वारेन्ट बिक्री गर्दै मेटाप्लानेटले निरन्तर बिटक्वाइन खरिद गरिरहेको छ। बिटक्वाइनट्रेजरीज डट नेटका अनुसार कम्पनी अहिले विश्वका सार्वजनिक ट्रेजरीमध्ये सातौं ठूलो बिटक्वाइन होल्डर बनेको छ। कम्पनीले सोमबार थप १,००९ बिटक्वाइन खरिद गरेर आफ्नो कुल होल्डिङ २०,००० मा पुर्‍याएको घोषणा गर्‍यो।

Sajilo Visa

प्रकाशित: १७ भाद्र २०८२, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार