अष्ट्रेलियामा उमेर प्रमाणीकरण सफ्टवेयरले किशोर-किशोरीलाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउन सक्ने

Technology Khabar १७ भाद्र २०८२, मंगलवार

अष्ट्रेलियामा उमेर प्रमाणीकरण सफ्टवेयरले किशोर-किशोरीलाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउन सक्ने

काठमाडौं ।

अष्ट्रेलियाली सरकारले गरेको एक अध्ययन प्रतिवेदनले सेल्फीमार्फत उमेर अनुमान गर्ने सफ्टवेयरले किशोरलाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउन सक्ने बताएको छ। तर केही समूहमा “स्वीकार्य नभएको” स्तरको त्रुटि देखिएकोले डिसेम्बरमा हुने कार्यान्वयनबारे चिन्ता बढेको छ।

सोमबार सार्वजनिक गरिएको प्रतिवेदनमा फोटोमा आधारित उमेर अनुमान गर्ने प्रणालीले सामान्यतया सही, छिटो र गोपनीयताको सम्मान गर्ने भए पनि १६ वर्षको न्यूनतम उमेर नजिकका प्रयोगकर्तामा परिणाम बिग्रिएको देखिएको उल्लेख छ।

पडताले डिसेम्बरदेखि लागू हुने प्रतिबन्धपछि विभिन्न अनुभव देखिने संकेत गरेको छ। १६ वर्षको उमेर सीमाभन्दा तीन वर्ष माथि रहेका गोरा प्रयोगकर्तालाई न्यून असर पर्ला तर गैर-गोरा र किशोरी केटीहरूले चुनौती भोग्न सक्ने बताइएको छ।

मेटाको इन्स्टाग्रामदेखि अल्फाबेटको युट्युबसम्मका सामाजिक सञ्जाल प्लेटफर्मका लागि पनि प्रक्रिया जटिल बन्न सक्नेछ। कानुन अनुसार १६ वर्षभन्दा कम उमेरका प्रयोगकर्तालाई रोक्न यथेष्ट प्रयास गरेको देखाउनुपर्नेछ, नभए ४९.५ मिलियन अष्ट्रेलियन डलर (३२ मिलियन अमेरिकी डलर) जरिवाना तिर्नु पर्ने जोखिम छ।

रोयटर्सका अनुसार परीक्षणले १९ वर्षभन्दा माथिका प्रयोगकर्ताका लागि उच्च शुद्धता देखाएको छ। तर कट-अफ उमेर सीमा वरिपरिकालाई “अनिश्चितताको खतरापूर्ण क्षेत्र” मा राखेको छ।

प्रतिवेदनअनुसार १६ वर्षका प्रयोगकर्तामा ८.५ प्रतिशत सम्भावना छ कि उनीहरूलाई कम उमेरको रूपमा अनुमान गरिनेछ, जसकारण उनीहरूलाई पहिचान (आईडी) आधारित प्रमाणीकरण वा अभिभावकको सहमति जस्ता अतिरिक्त विधितर्फ धकेलिन सक्नेछ।

प्रतिवेदनले थप उल्लेख गरेको छ, “प्रणालीले सामान्यतया विविध प्रयोगकर्ता समूहमा राम्रो काम गरे पनि, उमेरदराज वयस्क, अश्वेत प्रयोगकर्ता र महिला देखिने प्रयोगकर्तामा नीति अनुरुपको शुद्धता कम देखिएको छ।”

सामाजिक सञ्जाल विज्ञहरूले तीन महिनामै यो प्रतिबन्ध काम गर्ने वा नगर्ने भन्ने प्रश्न उठाएका छन्। सिड्नी विश्वविद्यालयकी अनलाइन सुरक्षामा विशेषज्ञ अनुसन्धानकर्ता जस्टिन हम्फ्रीले भनिन्, “शुद्धतामा धेरै भिन्नता देखिएको छ। त्यो भिन्नता चिन्ताजनक हो, किनकि यो वर्षअन्त्यसम्म बलियो र कार्यशील प्रणाली लागू गर्नुपर्ने कठोर समयसीमा छ।”

सञ्चार मन्त्री एनिका वेल्सले भने प्रतिवेदनले “उमेर प्रमाणीकरणका लागि एउटै उपाय पर्याप्त नभएको तर यस परीक्षणले धेरै प्रभावकारी विकल्पहरू देखाएको साथै सबैभन्दा महत्वपूर्ण कुरा प्रयोगकर्ताको गोपनीयता सुरक्षित गर्न सकिने देखाएको बताइन् ।”

Sajilo Visa

प्रकाशित: १७ भाद्र २०८२, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार