भारतमा कम्तीमा १ गिगावाट क्षमताको डाटा सेन्टर स्थापनाका लागि स्थानीय साझेदार खोज्दै ओपनएआई

Technology Khabar १७ भाद्र २०८२, मंगलवार

भारतमा कम्तीमा १ गिगावाट क्षमताको डाटा सेन्टर स्थापनाका लागि स्थानीय साझेदार खोज्दै ओपनएआई

काठमाडौं ।

 

ब्लूमबर्ग न्युजले सोमबार प्रकाशित गरेको रिपोर्टअनुसार च्याटजीपीटीको मूल कम्पनी ओपनएआईले भारतमा कम्तीमा १ गिगावाट क्षमताको डेटा सेन्टर स्थापना गर्न स्थानीय साझेदारको खोजी गरिरहेको छ। रायटरले यो रिपोर्ट तत्काल पुष्टि गर्न सकेको छैन। नियमित कार्यालय समयबाहिर टिप्पणीका लागि गरिएको अनुरोधमा ओपनएआईले तत्काल प्रतिक्रिया दिएको छैन।

माइक्रोसफ्टको लगानी प्राप्त ओपनएआईले भारतमा औपचारिक रूपमा कानुनी इकाइ दर्ता गरिसकेको छ र स्थानीय टोली बनाउने काम सुरु गरिसकेको छ। कम्पनीले गत अगस्टमा यस वर्षकै अन्त्यसम्म नयाँ दिल्लीमा आफ्नो पहिलो कार्यालय खोल्ने योजना रहेको जनाएको थियो। भारत प्रयोगकर्ता संख्याका हिसाबले कम्पनीको दोस्रो ठूलो बजार हो।

ब्लूमबर्गका अनुसार, भारतमा ठुलो डेटा सेन्टर बनाउन लागेको योजना ओपनएआईको स्टारगेट ब्रान्डअन्तर्गतको कृत्रिम बुद्धिमत्ता पूर्वाधार विस्तारमा एसियाली बजारतर्फको महत्वपूर्ण कदम हुन सक्छ। रिपोर्टअनुसार, प्रस्तावित परियोजनाको स्थान र समयसीमा अझै स्पष्ट छैन। तर, आगामी सेप्टेम्बरमा भारत भ्रमण गर्ने क्रममा ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानले यो सुविधा घोषणा गर्न सक्ने सम्भावना रहेको बताइएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्ष जनवरीमा स्टारगेट परियोजना घोषणा गरेका थिए। यसमा सोफ्टबैंक, ओपनएआई र ओराकलको लगानी रहनेछ, जसअन्तर्गत कृत्रिम बुद्धिमत्ता पूर्वाधारका लागि निजी क्षेत्रबाट ५०० अर्ब डलरसम्मको लगानी हुने बताइएको थियो।

Sajilo Visa

प्रकाशित: १७ भाद्र २०८२, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार