Technology Khabar १७ भाद्र २०८२, मंगलवार
काठमाडौं ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा नियुक्त फेडरल ट्रेड कमिसन (एफटीसी) का अध्यक्ष एन्ड्र्यु फर्ग्युसनले हालै अल्फाबेटको जीमेल व्यवस्थापनले “राजनीतिक पक्षपातपूर्ण प्रभाव पार्ने गरी डिजाइन गरिएको” भन्दै चिन्ता व्यक्त गरेका छन्।
अल्फाबेट का प्रमुख कार्यकारी अधिकारी सुन्दर पिचाईलाई लेखिएको पत्रमा फर्ग्युसनले न्यूयोर्क पोस्टमा प्रकाशित एउटा समाचारलाई उद्धृत गरेका छन्। उक्त समाचारमा टार्गेटेड भिक्ट्री (रिपब्लिकन नेशनल कमिटी र इलन मस्कको ‘एक्स’ सँग काम गरेको परामर्श तथा जनसम्पर्क कम्पनी) ले गरेको गुनासो उल्लेख गरिएको छ।
गुनासोअनुसार जीमेलले रिपब्लिकनको फण्डरेजिङ प्लेटफर्म विनरेड सम्बन्धी इमेललाई स्प्याममा पठाउने तर डेमोक्र्याटिक प्लेटफर्म एक्टब्लुसम्बन्धी इमेललाई भने त्यस्तो नगर्ने गरेको दावी गरिएको टेकक्रञ्चले उल्लेख गरेको छ।
“हालको रिपोर्टिङ अनुसार, जीमेलको स्प्याम फिल्टरले रिपब्लिकन पठाउनेहरुको सन्देशलाई उपभोक्तासम्म पुग्न नदिने तर समान खालका डेमोक्र्याटिक सन्देशलाई भने रोकिराख्न असफल भएको बुझिएको छ,” फर्ग्युसनले पत्रमा उल्लेख गरेका छन्।
उनीहरूले चेतावनी दिँदै भनेका छन्, “यदि जीमेलको फिल्टरले अमेरिकी उपभोक्ताले सुन्न अपेक्षा गरेका सन्देशलाई रोक्छ वा उनीहरूले गर्न चाहेका चन्दा दिने गतिविधिलाई अवरुद्ध गर्छ भने यसले उपभोक्तालाई हानि पुर्याउन सक्छ र एफटीसी ऐनअनुसार अनुचित वा धोखाधडीपूर्ण व्यापारिक अभ्यासमा पर्न सक्छ।” यस्तो भएमा “एफटीसीको छानबिन र कानूनी कारबाही” हुन सक्ने उनको भनाइ छ।
प्रतिक्रियामा, गुगलका प्रवक्ताले एक्जिअस लाई दिएको टिप्पणीमा भनेका छन्, “जीमेलको स्प्याम फिल्टरले विभिन्न वस्तुगत संकेतहरूलाई आधार मान्छ, जस्तै प्रयोगकर्ताले कुनै इमेललाई स्प्याम भनेर चिन्ह लगाएको हो वा कुनै विज्ञापन एजेन्सीले धेरै संख्यामा पठाएको इमेल बारम्बार स्प्याम ठहरिएको हो। यो प्रक्रिया सबै पठाउनेहरूका लागि समान रूपमा लागू हुन्छ, राजनीतिक विचारधारा जे भए पनि।”
प्रवक्ताले थपे, “हामी यो पत्र समीक्षा गर्नेछौं र रचनात्मक रूपमा संवाद गर्न इच्छुक छौं।”कन्जरभेटिभहरूले जीमेललगायत डिजिटल प्लेटफर्महरूले आफूहरूलाई सेन्सर गरेको वा अन्यायपूर्ण व्यवहार गरेको भन्दै प्रायः गुनासो गर्दै आएका छन्।
सन् २०२३ मा, फेडरल इलेक्शन कमिसनले रिपब्लिकनहरूले जीमेलको स्प्याम फिल्टरविरुद्ध दिएको उजुरी खारेज गरेको थियो। त्यस्तै, फेडरल अदालतले पनि रिपब्लिकन नेशनल कमिटी (आरएनसी) को मुद्दा खारेज गरेको थियो। (हाल आरएनसीले सो मुद्दा पुनः अघि बढाउने प्रयास गरिरहेको देखिन्छ।)
यसै महिनाको सुरुवातमा, एक फेडरल न्यायाधीशले वामपन्थी समूह मिडिया म्याटर्स विरुद्ध एफटीसीले सुरु गरेको छानबिनलाई “प्रतिशोधी कदम” भन्दै रोकेका थिए। उक्त छानबिन मिडिया म्याटर्सले इलन मस्कको ‘एक्स’ मा यहूदीविरोधी सामग्रीसम्बन्धी अनुसन्धान गरेको विषयसँग सम्बन्धित थियो।
प्रकाशित: १७ भाद्र २०८२, मंगलवार