Technology Khabar १७ भाद्र २०८२, मंगलवार
काठमाडौं ।
एप्पलले सेप्टेम्बर ९ को लागि लन्च कार्यक्रमको आधिकारिक पुष्टि गरेको छ। उक्त कार्यक्रममा कम्पनीले आईफोन १७, आईफोन १७ एयर, आईफोन १७ प्रो र आईफोन १७ प्रो म्याक्स अनावरण गर्ने अपेक्षा गरिएको छ। डिभाइसहरुको घोषणाको लागि पर्खिरहेको अवस्थामा एक टिपस्टरले आईफोन १७ लाइनअपको लागि नयाँ केसहरू साझा गरेका छन्।
लीकर इभान ब्लासले एक्समार्फत प्रसिद्ध ब्रान्ड अर्बन आर्मर गियर (यूएजी) को आईफोन १७ केसहरू साझा गरेका हुन्। केसहरूले आईफोन १७ एयर र प्रो मोडेलहरूको लागि रियर क्यामरा डिजाइन देखाएको उल्लेख गरिएको छ।
आईफोन १७ अहिलेको आईफोन १६ सँग धेरै मिल्दोजुल्दो देखिने अपेक्षा गरिएको छ भने १७ प्रो र १७ प्रो म्याक्सले पुनः डिजाइन गरिएको रियर क्यामरा मोड्युल पाउने जनाइएको छ। केसहरूमा एक्शन बटनका साथै क्यामरा कन्ट्रोलको लागि कटआउटहरू रहेको देख्न सकिनेछ।
यसैबीच, आईफोन १७ एयर केसले सिङ्गल रियर क्यामरा र पिल–सेप्ड (आकार) को मोड्युल भएको डिभाइस देखाएको छ जसले पिक्सेल फोनहरूको सम्झना दिलाउनेछ। ह्यान्डसेटमा क्यामरा कन्ट्रोल र एक्शन बटन पनि हुनेछ।
सेप्टेम्बर ९ मा एप्पल कार्यक्रम बिहान १० बजे (प्यासिफिक टाइम–पीटी) को लागि तय गरिएको छ र यो क्युपर्टिनोको एप्पल पार्कमा रहेको स्टीव जब्स थिएटरमा हुनेछ।
नयाँ आईफोन १७ एयर र आईफोन १७ लाइनअप बाहेक, एप्पलले आईओएस २६, आईप्याडओएस २६, वाचओएस २६, टीभीओएस २६ र म्याकओएस ताहो २६ को स्थिर संस्करणहरू पनि जारी गर्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: १७ भाद्र २०८२, मंगलवार