Technology Khabar १६ भाद्र २०८२, सोमबार
काठमाडौं ।
न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासले शुक्रबार अमेरिकामा रहेका नेपाली तथा नेपालीमूलका सूचना प्रविधि व्यवसायी र उद्यमीहरूसँग नेपाललाई उदाउँदो प्रविधि केन्द्रको रूपमा प्रवर्द्धन गर्ने विषयमा एक अन्तरक्रिया आयोजना गर्यो।
‘टेक फर्वार्डस् युनाइटिङ डायस्पोरा ट्यालेन्ट टु पावर नेपाल्स डिजिटल लिप’ शीर्षकमा आयोजित उक्त अन्तरक्रिया युकेमा मुख्यालय रहेको आईटी कन्सल्टिङ तथा साइबर सुरक्षा कम्पनी जेनेस सलुशनको साझेदारीमा सम्पन्न भएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै न्युयोर्कस्थित नेपालका नवनियुक्त महावाणिज्यदूत दधिराम भण्डारीले प्रवासी नेपालीहरूको सहभागिता सुदृढ गर्ने र नेपाली अर्थतन्त्र तथा नेपाल–अमेरिका वाणिज्य सहकार्यलाई मजबुत बनाउन सुझाव र विचारहरू संकलन गर्न सो कार्यक्रम आयोजना गरिएको बताए।
“श्रम निर्यातको सट्टा आईटी सेवा निर्यातले ऐतिहासिक अवसर ल्याएको छ। यसले मातृभूमिका लागि योगदान गर्न प्रवासी नेपालीहरूलाई अवसर पनि दिएको छ,” भण्डारीले भने। “नेपालमा सरकारले नवप्रवर्तन र नवीनतम प्रविधिलाई प्रोत्साहन गर्ने काम गरिरहेको छ। सरकारले सुधारका पहलहरू गरिरहेको छ, एआई नीति ल्याइसकेको छ र डिजिटल नेपाल फ्रेमवर्क २.० अद्यावधिक गर्ने प्रक्रियामा छ।”
उनले आईटी क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीमा कुनै सीमा नराखिएको र सरकारले आईटी कम्पनी तथा व्यवसायीहरूलाई विभिन्न प्रोत्साहन दिइरहेको जानकारी दिए।
“प्रवासी नेपालीहरूसँग ज्ञान, सीप, अनुभव र मातृभूमिलाई सहयोग गर्ने चाहना छ। अमेरिकामा बस्ने नेपालीहरुसंग यो क्षेत्रमा ठोस साझेदारी गर्ने क्षमता पनि छ। दूतावासको म्यान्डेट भनेकै नेपालको आईटी सम्भावनालाई प्रवर्द्धन गर्नु हो। म प्रवासी नेपाली समुदायसँग हातेमालो गर्न तत्पर छु,” उनले थपे।
‘डायस्पोरा लेन्सस् ड्राइभिङ नेपाल्स डिजिटल फ्युचर’ शीर्षकमा एक प्रस्तुति गर्दै जेनेस सलुशनका संस्थापक तथा सीईओ अञ्जनी फुयाँलले आफ्नो कम्पनीले विदेशस्थित नेपाली दूतावासहरूसँग नजिकको सहकार्य गर्दै लन्डन, ढाका, नयाँदिल्ली, म्याड्रिड, टोकियो र क्यानबेरामा नेपाललाई प्रविधि गन्तव्यका रूपमा प्रवर्द्धन गर्न आयोजित अन्तरक्रियाहरुलाई सघाएको बताए।
“प्रवासी नेपालीहरूले विश्वव्यापी अनुभव र स्थानीय आवश्यकतालाई जोड्ने पुलको भूमिका खेल्न सक्छन्,” उनले भने। “यो सही समय हो। नेपाल सरकारले नीतिगत परिवर्तनलाई आत्मसात गरेको छ र प्रवासीलाई साझेदारका रूपमा लिएको छ। नेपालले विशेष आर्थिक क्षेत्रअन्तर्गत एउटा बृहत् आईटी पार्क स्थापना गर्न लागेको छ, जसले नेपाली र प्रवासी व्यवसायी तथा प्राज्ञहरूलाई अवसर दिनेछ।”
फुयाँलले जेनेस सलुशन अहिले १० देशमा सञ्चालनमा रहेको जानकारी दिंदै प्रवासी टेक व्यवसायीहरूलाई आफ्ना क्षेत्रमा रहेका चुनौतीहरू साझा गर्न, क्लस्टरहरू नेतृत्व गर्न प्रवासी च्याम्पियनहरू मनोनयन गर्न र नेपालमै कार्यान्वयनका लागि सहकार्य गर्न आग्रह गरे। “विश्वव्यापी ठूला कम्पनीदेखि साना स्टार्टअपसम्म, हामी सबै मिलेर काम गर्ने हो भने नेपाललाई डिजिटल छलाङमा अगाडि बढाउन सक्छौं,” उनले थपे।
प्यानल छलफलमा सहभागी हुँदै ग्रोबाईडेटाका म्यानेजिङ पार्टनर प्रसन्न ढुंगेलले अमेरिकामा कम्पनी सुरु गर्दा आफुले भोग्नु परेका चुनौतीबारे चर्चा गरे।
“हामीले नेपाली प्रतिभाबाटै सुरुवात गर्यौं र विस्तारै ग्राहकहरूको विश्वास जित्यौं। यदि तपाईंले सही संस्कृति बनाउनुभयो र मानव श्रोतलाई राम्रोसँग व्यवस्थापन गर्नुभयो भने यो सम्भव छ। टेक कम्पनीहरूले ग्राहकसँगै समुदायको पनि विश्वास जित्न कोशिस गर्नु पर्छ, उनले भने।
अमेरिकामा मुख्यालय भएको कम्पनी, फ्युजमेसिन्स इङ्क, का हेड अफ टेक्नलजी, अनिश जोशीले भने, “प्रतिभा त जहाँ पनि छ, तर अवसर भने छैन। नेपालमा अपार प्रतिभा छ, तर उहाँहरूलाई उचित तालिम दिनु र विश्व बजारसँग जोड्नु आवश्यक छ।”
छलफलका सहभागीहरुले नेपालले आफ्नो ‘सफ्ट पावर’ पहिचान गर्न र त्यसलाई प्रयोग गरी नेपाली प्रतिभा र प्रवासीका लागि अवसरको ढोका खोल्न सुझाव दिए।
उनीहरुले नेपाल प्रविधि क्षेत्रमा नयाँ भए पनि विश्व मञ्चमा योगदान गर्न सक्ने तर त्यसका लागि सीप, संस्कृति, प्रविधि र पूर्वाधार विकासमा जोड दिनुपर्ने जनाए। उनीहरुले सरकार, उद्योग र शैक्षिक संस्थाबीचको साझेदारी अत्यावश्यक रहेको पनि बताए।प्यानल छलफलपछि प्रश्नोत्तर सत्र पनि भएको थियो। जेनेस सलुशनकी सुजिता बस्नेतले कार्यक्रम सञ्चालन र प्यानल छलफल संयोजन गरेकी थिइन्।
महावाणिज्यदूत भण्डारीले सबै प्यानलिस्ट र सहभागीहरूलाई धन्यवाद दिँदै न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासले आगामी दिनमा पनि यस्ता अन्तरक्रिया योजना गर्ने प्रतिबद्धता व्यक्त गरे।
प्रकाशित: १६ भाद्र २०८२, सोमबार