Technology Khabar १६ भाद्र २०८२, सोमबार
काठमाडौं ।
वैज्ञानिकहरूले प्रमुख कम्प्युटिङ्ग उपकरणहरूलाई एउटै लचिलो धागो (फाइबर) मा जडान गरेर यस्तो प्रविधि विकास गरेका छन्, जसलाई वासिङ मेसिनमै धुन्न सकिन्छ। उनीहरूको लक्ष्य भविष्यमा यस्ता धेरै फाइबरलाई एउटै “फाइबर कम्प्युटिङ्ग” नेटवर्कमा जोड्ने र स्मार्ट क्षमता भएका कपडाहरू बनाउन सक्ने हो।
स्मार्ट टेक्सटाइल वा ई-टेक्सटाइल भन्नाले इलेक्ट्रोनिक उपकरणहरू समावेश गरिएका सामग्रीलाई जनाइन्छ, जसले लुगा वा अन्य प्रयोगमा विशेष क्षमता थप्छ। यी सामग्री कपडा, बुनेका डिस्प्ले वा अन्य प्रयोगमा कम्प्युटिङ्ग क्षमता सहित प्रयोग गर्न सकिने लाइभसाइन्सले उल्लेख गरेको छ।
स्मार्ट टेक्सटाइलको सुरुआती प्रयोगमध्ये एउटा २००७ मा बनेको “लिलीप्याड” थियो, जसमा कपडा, खेलौना वा मूर्तिकलामा प्रयोग गर्न सकिने सिलाईयोग्य इलेक्ट्रोनिक उपकरणहरू बनाइएका थिए। तर यस्ता टेक्सटाइलको मुख्य कमजोरी भनेको प्रत्येक फाइबरमा अलग-अलग कम्प्युटिङ्ग क्षमता नभएकै कारण जीवसंकेत (बायोसिग्नल) वास्तविक समयमा बुझ्न वा त्यसलाई प्रशोधन गर्न कठिन हुने हो।
तर जून ६ मा नानो-माइक्रो लेटर्समा प्रकाशित नयाँ अध्ययनमा वैज्ञानिकहरूले एउटै फाइबरमा संवेदन, सञ्चार, कम्प्युटेशन र भण्डारणसम्मका क्षमता राख्न सफल भएका छन्।
हरेक लचिलो फाइबर ६० प्रतिशतसम्म तन्किन सक्नेछ र वासिङ मेसिनमै धुन्न सकिने भएकाले व्यावहारिक लुगा बनाउन प्रयोग गर्न सकिने देखिएको छ।
वैज्ञानिकहरूले बताएअनुसार नयाँ फाइबरले शरीरसँग प्रत्यक्ष रियल-टाइम अन्तरक्रिया गर्न सक्ने भएकाले स्मार्ट लुगा वा उपकरणको शुद्धता अझ बढ्नेछ।
अध्ययनअनुसार हरेक फाइबरमा आठवटा उपकरण जडान गरिएको छ, जसमा चारवटा सेन्सर (फोटोडिटेक्टर, तापक्रम सेन्सर, एक्सेलेरोमीटर र छालाको प्रकाश अवशोषण नाप्ने पीपीजी सेन्सर) साथै माइक्रोकन्ट्रोलर, दुईवटा सञ्चार मोड्युल र पावर व्यवस्थापन उपकरण रहेका छन्। यी सबै मिलेर तथ्यांक संकलन, प्रशोधन, भण्डारण र परिणाम प्रेषण गर्ने काम गर्छन्।
प्रणालीको परीक्षणका लागि वैज्ञानिकहरूले चारवटा स्मार्ट फाइबरलाई लुगाको बाहुला र पाइन्टमा जडान गरी एक व्यक्तिलाई स्क्वाट, लन्ज र प्ल्याङ्क जस्ता व्यायाम गर्न लगाए। प्रत्येक फाइबरले पृथक तवरले प्रशिक्षित न्युरल नेटवर्क प्रयोग गर्यो, जसले मानवीय गतिविधि वास्तविक समयमा पहिचान गर्न सहयोग पुर्यायो।
लाइभसाइन्सका अनुसार एकल फाइबरले ६७ प्रतिशत शुद्धतासहित गतिविधि पहिचान गर्न सफल भयो भने चारवटै फाइबरले सँगै काम गर्दा शुद्धता ९५ प्रतिशतसम्म पुग्यो। वैज्ञानिकहरूले यसलाई बहु-फाइबर सहकार्यात्मक संवेदन र वितरित निर्णय प्रक्रियाको ठूलो सम्भावना भएको भन्दै स्मार्ट लुगाको क्षेत्रमा महत्वपूर्ण प्रगतिका रूपमा व्याख्या गरेका छन्।
तर अझै सञ्चार गतिलाई अनुकूल बनाउने, ऊर्जा खपत घटाउने र ब्यान्डविड्थ बढाउने चुनौती रहेको उनीहरूले बताएका छन्। भविष्यमा यस्ता फाइबर कम्प्युटरको नेटवर्कलाई ठूलो स्तरमा विस्तार गर्न, सूचनाको आदानप्रदान अझ छिटो र प्रभावकारी बनाउन आवश्यक पर्ने वैज्ञानिकहरूको भनाइ छ।
प्रकाशित: १६ भाद्र २०८२, सोमबार