Technology Khabar १५ भाद्र २०८२, आईतवार
काठमाडौं ।
– साजन सुबेदी
नेपाल टेलिकमले आफ्नो नयाँ बिलिङ प्रणालीको ठेक्का चिनियाँ कम्पनी ह्वावे टेक्नोलोजिजलाई दिने प्रक्रिया अघि बढाएको छ।
आइतबार सार्वजनिक गरिएको सूचनामा टेलिकमले “भर्चुअलाइज्ड प्लेटफर्ममा कन्भर्जेन्ट रियल टाइम बिलिङ (सीआरटीबी) र ग्राहक समर्थन (सीएस) प्रणालीको आपूर्ति, डेलिभरी, स्थापना र कमिसनिङ (Supply, Delivery, Installation and Commissioning of Convergent Real Time Billing (CRTB) and Customer Support (CS) System in Virtualized Platform) ” ठेक्काको प्राविधिक मूल्याङ्कन पछि चीनको ह्वावे टेक्नोलोजिज कम्पनी लिमिटेड मात्रै योग्य देखिएको र सो कम्पनीले पेश गरेको मूल्य प्रस्ताव आगामी १५ सेप्टेम्बर २०२५ मा खोलिने उल्लेख गरेको छ।
तर, यसअघि सर्वोच्च अदालतले नेपाल टेलिकमलाई सोही विषयको एक मुद्दाको सुनुवाई गर्दै सेवाग्राहीको व्यक्तिगत सूचना तथा तथ्याङ्कमा पहुँच नहुने व्यवस्था र खरिद प्रक्रियामा कुनै स्वार्थको द्वन्द नहुने सुनिश्चित गर्न निर्देशन दिएको थियो।
तर पनि हाल टेलिकमले कोर नेटवर्कमै कार्यरत ह्वावेलाई पुनः बिलिङ प्रणालीमा योग्य देखाएर प्रक्रिया अघि बढाएको हो।
सर्वोच्चको आदेश र टेलिकमको कदम
अधिवक्ता रीता कार्कीले दायर गरेको रिटमा सर्वोच्चले गत वर्षको भदौ २५ गते फैसला गर्दै स्पष्ट आदेश दिएको थियो। फैसलामा बिलिङ प्रणालीको ठेक्का कोर नेटवर्कमार्फत व्यक्तिगत सूचना तथा तथ्याङ्कमा सिधा पहुँच नपाउने खालको कम्पनीलाई दिनुपर्ने भनिएको थियो। यसबाहेक खरिद प्रक्रियामा कुनै प्रकारको स्वार्थको द्वन्द्व नहुने अवस्था सुनिश्चित गर्नुपर्ने उल्लेख गरिएको थियो।
फैसला यस्तो थियो, “सर्वसाधारणको व्यक्तिगत सूचनामा अनधिकृत पहुँचले गोपनीयता, स्वतन्त्रता र सम्मानपूर्वक बाँच्ने मौलिक अधिकारको गम्भीर उल्लङ्घन हुन्छ। त्यसैले बिलिङ प्रणाली खरिदमा त्यस्ता अधिकारको सुरक्षा गर्न अपरिहार्य हुन्छ।”
सम्बन्धित समाचार
व्यक्तिगत सूचनामा अनधिकृत पहुँच नदिन सर्वोच्चद्वारा नेपाल टेलिकमको नाममा आदेश
तर लामो समयदेखि टेलिकमको कोर नेटवर्क व्यवस्थापनमै काम गरेर ग्राहकको व्यक्तिगत विवरणमा सहज पहुँच रहेको ह्वावेलाई नै टेलिकमले प्राविधिक रूपमा योग्य देखाएको छ भने प्रतिस्पर्धामा आएका अरु सबै अयोग्य ठहर भएका छन्।
ह्वावेप्रतिको विवाद र प्राविधिक चुनौती
यसअघि १८ मार्च २०२५ मा ठेक्का आह्वान गरिएको थियो। उक्त आह्वानमा चिनियाँ कम्पनी ह्वावे र एचएल क्लाउड नामक दुई कम्पनीको मात्र प्रस्ताव पेस भएको थियो। सोही आवेदनमा कम्पनीले एचएल क्लाउडलाई अयोग्य र ह्वावेलाई योग्य देखाएको हो।
पुरानो प्रणाली र आलोचना
हाल नेपाल टेलिकमको बिलिङ प्रणालीको जिम्मा एसिया इन्फो नामक संस्थाको जिम्मामा छ। पुरानो प्रविधिमा आधारित भएकाले पटक–पटक सेवा अवरुद्ध हुँदै आएको छ। गएको साउन १२ गते पनि बिलिङ प्रणालीमा आएको गम्भीर समस्याका कारण टेलिकमको डाटा र भोल्टे सेवा करिब चार घण्टा समस्यामा परेको थियो।
टेलिकम बिलिङ प्रणालीको मर्मतसम्भारमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २५ जेठमा तत्कालीन प्रबन्ध निर्देशक सङ्गीता पहाडी अर्यालसहितविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
सम्बन्धित समाचार
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडीसहित १८ जनामाथि भ्रष्टाचार मुद्दा, साढे ३३ करोड माग दावी
यसअघि नेपाल टेलिकमले गार्टनरको सूचीमा रहेको हुनुपर्ने शर्तसहित आफ्नो सम्पूर्ण सेवाहरुको लागि बिलिङ प्रणाली खरिदको ठेक्का आव्हान गरेको थियो। टेलिकमले कन्भरजेन्स रियल टाइम बिलिङ्ग एण्ड कस्टमर सपोर्ट सिस्टम नाममा निकालेको टेन्डर करिब ५ अर्ब रुपैयाँ बराबरको रहेको छ।
यसअघि नेपाल टेलिकमले एउटा मात्र कम्पनी बिलिङ्गको टेण्डरमा आएको भन्दै टेन्डरनै रद्द गरेको थियो तर अहिले ह्वावेको मात्र प्राविधिक प्रस्ताव योग्य भएको भएपनि टेन्डर अगाडि बढाईएको छ।
यसअघिको टेन्डरमा एक मात्र अमेरिकी कम्पनी सीएसजी इन्टरप्राइजेजको आवेदन परेको थियो।
प्रकाशित: १५ भाद्र २०८२, आईतवार