Technology Khabar १५ भाद्र २०८२, आईतवार
काठमाडौं ।
टिकटकले प्रयोगकर्ताहरूसँग प्रत्यक्ष सन्देश (डीएम) मार्फत नयाँ तरिकाले अन्तरक्रिया गर्न सक्ने सुविधा ल्याएको छ भन्ने जानकारी कम्पनीले शुक्रबार टेकक्रन्चलाई दिएको छ।
अब प्रयोगकर्ताले प्लेटफर्ममा व्यक्तिगत वा समूह च्याटमा भ्वाइस नोट पठाउन र एकैपटक नौवटा सम्म तस्बिर वा भिडियोहरू साझा गर्न सक्नेछन्।
टेकक्रञ्चका अनुसार यी नयाँ सुविधासँगै टिकटक आफूलाई मात्र मनोरञ्जन दिने प्लेटफर्म नभई नियमित अन्तरक्रियाको ठाउँको रूपमा प्रस्तुत गर्न खोजिरहेको छ। यससँगै टिकटकको सन्देश सेवा अन्य लोकप्रिय सामाजिक एप्स र सेवाहरूसँग मिल्दोजुल्दो हुँदै गएको छ।
भ्वाइस नोटमार्फत प्रयोगकर्ताले अधिकतम ६० सेकेन्डसम्मको अडियो सन्देश रेकर्ड गरी पठाउन सक्नेछन्। यो सुविधा सुरु गर्नासाथ टिकटकले ह्वाट्सएप, इन्स्टाग्राम र एप्पल मेसेजजस्ता सेवामा उपलब्ध सुविधा जस्तै अनुभव दिने भएको छ।
पछिल्लो पुस्ता, विशेषगरी जेन जेड, भ्वाइस नोटलाई बढी प्रयोग गर्न थालेको हुँदा टिकटकले यो सुविधा ल्याउनु उचित ठानेको बताएको छ। यो सुविधा केही साताभित्र सबै प्रयोगकर्तासम्म पुग्ने कम्पनीले जनाएको छ।
तस्बिर वा भिडियो साझेदारीका लागि प्रयोगकर्ताले क्यामेराबाट प्रत्यक्ष खिच्न वा ग्यालरीबाट छान्न सक्नेछन्। पठाउनु अघि तस्बिर वा भिडियो सम्पादन गर्ने विकल्प पनि उपलब्ध हुनेछ।
तर प्रयोगकर्ताको सुरक्षाका लागि पहिलोपटक सन्देश पठाउँदा तस्बिर वा भिडियो पठाउन पाइने छैन। उदाहरणका लागि, कसैले पहिलो पटक तपाईंलाई सन्देश पठाउँदा उनीहरूले आफ्नै खिचेको तस्बिर वा भिडियो पठाउन पाउने छैनन्, बरु टिकटकमा पहिले नै रहेको सामग्री मात्र साझा गर्न पाउनेछन्।
यसबाहेक, प्रयोगकर्ताले तस्बिर वा भिडियो पठाउँदा टिकटकले निजताको सुरक्षाबारे सचेत गराउनेछ। टिकटकमा १६ वर्ष मुनिका प्रयोगकर्ताका लागि डीएम उपलब्ध छैन।
१६ देखि १८ वर्षसम्मका प्रयोगकर्ताका लागि भने थप सुरक्षा उपाय गरिएको छ। कम्पनीका अनुसार प्रणालीले नग्नता भएका तस्बिरहरू पहिचान गरी ब्लक गर्नेछ।
यसरी पठाइएका नग्न तस्बिरहरू न पठाउन सकिनेछ, न प्राप्तकर्ताले देख्न पाउनेछन्। १८ वर्षमाथिका प्रयोगकर्ताले चाहेको खण्डमा यो सुरक्षा सुविधा आफ्नो एप सेटिङमा सक्रिय वा निष्क्रिय गर्न सक्नेछन्।
टिकटकले यी सुविधालाई प्रयोगकर्ताले आफूलाई अभिव्यक्त गर्न र आपसमा जोडिन सक्ने नयाँ तरिका भएको बताएको छ। कम्पनीले पछिल्लो समय आफ्नो सन्देश सेवा विस्तार गर्दै आएको छ।
गत वर्ष टिकटकले समूह च्याट सुविधा ल्याएको थियो जसले प्रयोगकर्तालाई एकैपटक ३२ जनासम्म च्याट गर्न दिने सुविधा दिएको थियो। हालै टिकटकले क्रिएटर च्याट रूम पनि सुरु गरेको छ, जसले सिर्जनाकर्ता र उनका फलोअर्सबीच सीधा अन्तरक्रिया गर्ने ठाउँ उपलब्ध गराएको छ।
प्रकाशित: १५ भाद्र २०८२, आईतवार