भियतनाममा कुइपर स्याटेलाइट सेवा विस्तार गर्ने अमेजनको योजना

Technology Khabar १४ भाद्र २०८२, शनिबार

भियतनाममा कुइपर स्याटेलाइट सेवा विस्तार गर्ने अमेजनको योजना

काठमाडौं ।

अमेजनले भियतनाममा आफ्ना कुइपर स्याटेलाइट सेवा विस्तार गर्ने लक्ष्य राखेको भियतनामको विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ।

मंगलबार राति मन्त्रालयले दिएको विज्ञप्तिअनुसार उपमन्त्री फाम डुक लोंग र अमेज़नका ग्लोबल लाइसेन्सिङ तथा प्रोजेक्ट कुइपर प्रमुख गोनजालो डे डियोसबीच हानओईमा भएको भेटपछि यस्तो जानकारी सार्वजनिक गरिएको हो।

रोयटर्सका अनुसार अमेरिकी प्रविधि कम्पनी अमेज़नले सन् २०३० सम्म ५७० मिलियन डलर लगानी गर्ने वचन दिएको मन्त्रालयले जनाएको छ। यस अन्तर्गत उत्तरी प्रान्त बाक निन्हमा स्थानीय साझेदारीमार्फत अधिकतम ६ वटा ग्राउन्ड स्टेशन र टर्मिनल उत्पादन कारखाना स्थापना गर्ने योजना छ।

अमेज़नले हालै हो चि मिन्ह सहरस्थित व्यवसायिक केन्द्रमा अमेजन कुइपर भियतनाम कम्पनी लिमिटेड नामक संस्था स्थापना गरेको र लो अर्थ अर्बिट (एलईओ) उपग्रह सेवाका लागि दरखास्त समेत पेस गरेको मन्त्रालयले जनाएको छ।

अमेजनको कुइपर पहलले लो अर्थ अर्बिट उपग्रहमार्फत टाढा क्षेत्र र टापुहरूमा पनि द्रुत इन्टरनेट पुर्‍याउने लक्ष्य राखेको मन्त्रालयको भनाइ छ। कम्पनीले पेश गरेको पाइलट कार्यक्रमले उपभोक्ता, व्यवसायिक र सरकारी प्रयोगकर्ताका लागि पाँच वर्षभित्र सेवा सुरु गर्ने अनुमति मागेको छ।
सोही अवधिका लागि प्रतिस्पर्धी स्टारलिङ्कलाई पनि भियतनाम सरकारले यस्तै योजना सञ्चालन गर्न स्वीकृति दिएको छ।

गत अप्रिलमा अमेजनको कुइपर पहलअन्तर्गतका पहिलो २७ वटा उपग्रह फ्लोरिडाबाट अन्तरिक्षमा प्रक्षेपण गरिएका थिए, जसले लामो समयदेखि ढिलाइ भएको इन्टरनेट-फ्रम-स्पेस नेटवर्कको विस्तार प्रक्रिया सुरु गर्‍यो। अमेजनले भने अमेरिकी व्यवसायिक समय बाहिर भएकाले यसबारे तत्काल प्रतिक्रिया दिएको छैन।

Sajilo Visa

प्रकाशित: १४ भाद्र २०८२, शनिबार

तपाइको प्रतिक्रिया

ताजा समाचार