‘प्राविधिक शिक्षा सामाजिक तथा आर्थिक विकासको महत्वपूर्ण माध्यम’

Technology Khabar १३ भाद्र २०८२, शुक्रबार

‘प्राविधिक शिक्षा सामाजिक तथा आर्थिक विकासको महत्वपूर्ण माध्यम’
फाइल तस्बिर

काठमाडौं ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्राविधिक तथा व्यावसायिक शिक्षालाई राज्यले सामाजिक तथा आर्थिक विकासको महत्वपूर्ण माध्यमको रूपमा लिएको बताएका छन्।

काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशन (कुसोड)ले बिहीबार ललितपुरमा आयोजना गरेको आइल्यावको दिक्षान्त समारोह एवं पूर्वविद्यार्थी भेटघाट कार्यक्रममा सभामुख घिमिरेले नेपालमा प्राविधिक तथा व्यावसायिक क्षेत्रको सुधारका लागि तीनै तहका सरकारलाई उनीहरूको भूमिका कार्यान्वयन गर्न सक्षम बनाउन विभिन्न कार्यक्रमका साथ अगाडि बढिरहेको बताए।

“नेपालको संविधानले रोजगारीको अवसरलाई सबैको आधारभूत अधिकारका रूपमा लिएको छ, सक्षम मानव संशाधनमार्फत आर्थिक समृद्धि हासिल गर्न स्पष्ट दृष्टिकोण आवश्यक छ, हामी नीतिगत तथा कानुनी पक्षमा समयानुकूल सुधारको प्रक्रियामा छौँ, यद्यपि परिवर्तन प्रक्रिया सजिलो छैन, तर परिवर्तन अपरिहार्य छ”, सभामुख घिमिरेले भने।

शिक्षाविद्, विशेषज्ञ, व्यवसायी, विकास साझेदार र निजी क्षेत्रको सहयोगमा टिभीइटी सुधार प्रक्रियामा देशमा स्पष्ट प्रगति गर्न सकेको उल्लेख गर्दै उनले आगामी दिनमा सहकार्य जारी राख्न गर्नुपर्ने नीतिगत कुरामा सरकारका तर्फबाट सहयोग रहने बताए।

काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा डा अच्युतप्रसाद वाग्लेले प्राविधिक शिक्षा सङ्घीयताको सफल पाटो हुन सक्ने बताउँदै सङ्घीयतालाई सफल बनाउनु नेपालको बाध्यता रहेको प्रस्ट्याए। उनले सङ्घीयताको मुख्य आधार स्थानीय तह रहेको भन्दै प्राविधिक तथा व्यावसायिक शिक्षालाई दिगो र उत्पादनमूलक बनाउने गरी स्थानीय तहसम्म पुर्याउनुपर्नेमा जोड दिए।

राष्ट्रिय योजना आयोगका सदस्य गीता पौडेल अधिकारीले तीन तहको सरकारबीचमा समन्वय भएर प्राविधिक व्यावसायिक शिक्षा र तालिमका कार्यक्रमलाई वडा तहसम्म पुर्याउनु आवश्यक रहेको बताइन्।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव श्रीप्रसाद भट्टराईले नेपाल सरकारले निर्धारण गरेको प्राविधिक र साधारण शिक्षाको लक्ष्य प्राप्ति गर्न यो परियोजनाले गरेको बहस, छलफल र कार्यक्रम महत्त्वपूर्ण रहेको बताए।

इटिएच जुरिकका व्यवस्थापन, प्रविधि र अर्थशास्त्र विभागका प्राध्यापक डा उर्सुला रेनोल्डले इटिएच जुरिकले आठ वर्षदेखि नेपालको प्राविधिक व्यावसायिक शिक्षा र तालिम (टिभेट) क्षेत्रमा काम गरिरहेको जानकारी गराउँदै अर्थतन्त्रको उत्पादकत्व बढाउन टिभेट एउटा महत्वपूर्ण समाधान हो भन्ने विश्वास रहेको बताए।

काठमाडौँ विश्वविद्यालयको स्कुल अफ एजुकेशनका डिन प्राध्यापक डा बालचन्द्र लुइँटेलले ज्ञानको दायरा कक्षाकोठामा मात्रै सीमित हुँदैन भन्दै समुदायसँग मिलेर यसलाई प्रयोगमा ल्याउन स्कुल अफ एजुकेशन क्रियाशील भएको बताए।

काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशन (कुसोड) र इटिएच जुरिकको सहकार्य तथा स्वीस विकास नियोगको प्राविधिक सहयोगमा नेपालको प्राविधिक व्यावसायिक शिक्षालाई प्रवर्द्धन गर्न सन् २०२३ देखि आइल्याव परियोजना सञ्चालन हुँदै आएको छ।

प्राविधिक तथा व्यावसायिक शिक्षा सुधारका लागि काम गर्न, सीप विकास र जागरुकता बढाउन काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनको आइल्यावको पूर्वविद्यार्थी मञ्च घोषणा गरिएको छ।-रासस

प्रकाशित: १३ भाद्र २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया