Technology Khabar १३ भाद्र २०८२, शुक्रबार
काठमाडौं ।
इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न ओटा संस्थाले आव्हान गरेका छन्।सरकारले हालै मात्र सवारीसाधनमा जबर्जस्ती इम्बोस्ड नम्बर अनिवार्य प्रयोग गर्नुपर्ने गरेको निर्णयका विषयमा त्रिपन्न ओटा संघसंस्थाले ध्यानाकर्षण गराउँदै संयुक्त प्रेस विज्ञप्ति जारी गरेका हुन्।
उनीहरुले अङ्ग्रेजी अक्षर मात्र लेखिएको इम्बोस्ड नम्बर प्लेट लागू गर्न जबर्जस्ती गर्न लागेको कदमप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन्। यसैगरी नेपाल भित्रैका सवारीसाधनहरूमा प्रयोग हुने नम्बर प्लेटबाट नेपाली अक्षरलाई अपमानपूर्वक हटाइनु नेपालको संविधान विपरित भएको भन्दै भाषाघाती निर्णय सच्याई नम्बर प्लेटमा ससम्मान नेपाली अक्षर प्रयोग गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
“नेपाली भाषाप्रेमी नागरिक, साहित्यिक/सांस्कृतिक सङ्घसंस्था र सरोकारवाला कसैसँग पनि कुनै प्रकारको छलफल, सरसल्लाह र परामर्श नगरीकन नेपाल सरकारले एकतर्फी निर्णय गरी अङ्ग्रेजी अक्षर मात्र लेखिएको इम्बोस्ड नम्बर प्लेट लागू गर्न जबर्जस्ती गर्न लागेको कदमप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। नेपाल भित्रैका सवारीसाधनहरूमा प्रयोग हुने नम्बर प्लेटबाट नेपाली अक्षरलाई अपमानपूर्वक हटाइनु नेपालको संविधान, सरकार आफैँले निर्णय गरी राजपत्रमा निकालेको सूचना र आम नेपाली जनताको मर्म र भावना विपरीत भएकाले तत्काल यो भाषाघाती निर्णय सच्याई नम्बर प्लेटमा ससम्मान नेपाली अक्षर प्रयोग गर्न सरकारको ध्यानाकर्षण गराएका छौँ। यदि यो निर्णय नसच्चिए यसबाट उत्पन्न हुने सबै परिणामप्रति सरकार नै जिम्मेवार हुनुपर्ने कुरा पनि अत्यन्तै गम्भीरता र जिम्मेवारीपूर्वक सरकारलाई यही विज्ञप्तिमार्फत् अवगत गराउँदछौँ।” विज्ञप्तिमा भनिएको छ।
संयुक्त प्रेस विज्ञप्ति जारी गर्नेमा साहित्यिक पत्रकार सङ्घ, नेपाल साहित्यिक पत्रकार सङ्घ, नेपाल स्रष्टा समाज, शंकर लामिछाने प्रतिष्ठान, पर्वतीय साहित्य समाज नेपाल, नेपाल साहित्य मन्दिर, जलरिका साहित्य प्रतिष्ठान, सुनकोशी वाङ्मय प्रतिष्ठान, पनौती साहित्य समाज, नारी साहित्य प्रतिष्ठान, नारी स्रष्टा समाज, सङ्गीत देवालय, नेपाली वाङ्मय प्रतिष्ठान, चारुशीला वाङ्मय प्रतिष्ठान लगायतका संस्थाहरु रहेका छन्।
प्रकाशित: १३ भाद्र २०८२, शुक्रबार