
काठमाडौं ।
ट्राफिक प्रहरीले हिजोआज सूचना प्रविधिको प्रयोग सकारात्मक रुपमा गर्दै सडकमा हुने लापरबाही र ट्राफिक नियम विपरीत कार्यक गरेमा लाइसेन्स लिएर प्वाल पार्ने वा जरिवाना रकम तिर्न बैंकको लामो लाइन बसाउनुको सट्टा स्मार्ट प्रविधि अपनाउन थालेको छ।
पहिले लेन अनुशासन होस् वा ओभरस्पीड, ड्रिङ्क एण्ड ड्राइभ होस् वा सवारी चलाउँदा मोबाइल चलाएको कसूरमा समेत ट्राफिक प्रहरीले भौतिक रुपमा कागजपत्र खोजेर जरिवाना गर्ने गरेको थियो।
यसमा सवारीचालकले जरिवाना तिर्नकै लागि बैंकमा लाइन बस्दा, कागजपत्र फिर्ता लिन जाँदा निकै समय खर्च गर्नुपर्ने हुन्थ्यो। तर नागरिक एपमा जोडिएपछि भने अब यस्ता कामका लागि समय खर्च गरिरहनु नपर्ने भएको छ।
हिजोआज प्रहरीको चेकिङमा समेत नागरिक एपमा भएको लाइसेन्स देखाउन सकिन्छ। यसबाट समग्रमा ट्राफिक प्रहरीले पनि सूचना प्रविधिको बढीभन्दा बढी प्रयोगमा ल्याउन थालेको स्पष्ट हुन्छ।
हालै हास्य कलाकार मनोज गजुरेलले पनि यस्तै आशयको स्टाटस फेसबुकमा पोस्ट गरेका छन्। हिजो बुधबार दिउँसो पोस्ट गरेको उनको स्टाटस गाडी चलाउँदै मोबाइलमा कुरा गरेपछि ट्राफिकले रोकेर कुराकानी गर्दै पछि नागरिक एपमा जरिवानाको रसिद पठाएको र रसिद अनुसारको रकम उनले ईसेवा मार्फत् तिरेको प्रसङ्ग छ।
स्टाटस यस्तो छ:
रत्नपार्कमा ट्राफिकले ‘नमस्कार’ गर्दै गाडी रोक्नुभयो। लाईसेन्स, ब्लुबुक जाँच्नुभयो। र, वाकीटकीमा सोध्नुभयो- ‘सर….नं. गाडीको कसुर?’ जवाफ आयो-‘लापरवाहीपूर्वक गाडी चलाएको।’ मैले सोधेँ- ‘कस्तो लापरबाही!’ भन्नुभयो- ‘गाडी हाँक्दै मोबाईल चलाएको।’ थप्नुभयो-‘क्यामरा र सादा पोशाकमा ट्राफिकहरु तपाईँलाई नियालिरहेकाछन्, जहाँ जहिले पनि कारबाहीमा पर्न सक्नुहुन्छ।’
फेरी प्रश्न गर्नुभयो- ‘नागरिक एप चलाउनुहुन्छ?’ एप देखाएपछि भन्नुभयो- ‘अहिले जान सक्नुहुन्छ, पछि एप चेक गर्नुहोला!’
म दङ्ग पर्दै हिंडेँ। तर, बेलुका नागरिक एपमा रु.५०० जरिवानाको नोटिस आएको रहेछ! कारण, लापरवाहीपूर्वक गाडी चलाएको! मैले ईसेवाबाट जरिवाना तिरेँ, खुसीसाथ मन्जुपनि खुसी भइन्, किनकि गाडी हाँक्दा मोबाइलमा बोल्ने मेरो बानीबाट उनी पनि आजित भएकी थिइन्।
जरिवानाले मेरो ‘ड्राईभ एण्ड मोबाईल’को खराब बानी सम्भवत: अब छुट्छ होला! ट्राफिक प्रहरीले पनि सूचना र प्रविधिको प्रयोग सकारात्मक रुपमा गर्दैरहेछ। बैंक र ट्राफिक कार्यालय धाउने झण्झट भएन। ट्राफिक काउन्सिलिङ राम्रो भएछ।
मुख्य कुरा- ट्राफिक प्रहरीबाट प्रिभिलेज पाएर म धेरै पटक दण्डबाट उम्किएको छु, जुन आफ्नैलागि दुर्घटनाको कारण बन्न सक्थ्यो! साँच्ची भनेको, जरिवाना तिर्दा पनि करोडको मज्जा आयो। जे होस्, देशमा केही हुँदै नभएको चाहीँ होइन। सोचेजति नभएको मात्र हो तर केही केही त अवस्य हुँदैछ।
प्रकाशित: १२ भाद्र २०८२, बिहीबार