स्मार्ट च्वाइस टेक्नोलोजिज पेमेन्ट कार्ड इन्डस्ट्रि सेक्युरिटी स्ट्याण्डर्ड्स काउन्सिलको क्षेत्रीय बोर्ड सदस्यमा छनोट

Technology Khabar १२ भाद्र २०८२, बिहीबार

काठमाडौं ।

नेपाल राष्ट्र बैंकबाट अनुमतीपत्रप्राप्त भुक्तानी प्रणाली सञ्चालक स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी), पेमेन्ट कार्ड इन्डस्ट्रि सेक्युरिटी स्ट्याण्डर्ड्स काउन्सिलको दक्षिण एशिया क्षेत्रीय बोर्डको सदस्यका रूपमा चयन भएको छ।

यस बोर्डमा नेपालबाट छनोट हुने एकमात्र संस्था एससीटी रहेको छ भने एससीटीका अतिरिक्त गुगल इंक, नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया, युरोनेट यूएसए एलएलसी जस्ता भुक्तानी क्षेत्रका ठूला सँस्थाहरुको समेत प्रतिनिधित्व रहनेछ।

पेमेन्ट कार्ड इन्डस्ट्रि सेक्युरिटी स्ट्याण्डर्ड्स काउन्सिल (पीसीआई एसएससी) एक विश्वव्यापी मञ्च हो, जसले पीसीआईडीएसएस लगायतका अन्तर्राष्ट्रिय भुक्तानी सुरक्षाका मापदण्डहरूको विकास र प्रवद्र्धन गर्दै भुक्तानी कारोबारमा निहित साइबर जोखिम र सुरक्षा जोखिमहरू न्यूनीकरण गर्न र रोक्न सहयोग पुर्याउँछ।

भारत–दक्षिण एशियामा पहिलो पटक गठन भएको यस क्षेत्रिय बोर्ड मार्फत पीसीआई सेक्युरिटी स्ट्याण्डर्ड्स काउन्सिलले डिजिटल भुक्तानी क्षेत्रमा यस क्षेत्रको बढ्दो महत्वलाई प्रतिबिम्बित गर्दै विश्वव्यापी सहकार्यलाई थप विस्तार गरेको छ।

स्मार्ट च्वाइस टेक्नोलोजीज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरेले भने, “हामीलाई यो प्रतिष्ठित विश्वव्यापी मञ्चमा नेपालको प्रतिनिधित्व गर्न पाउँदा सम्मानित महसुस भइरहेको छ। यस सम्मानले नेपाल र दक्षिण एशियामा सुरक्षित डिजिटल भुक्तानी प्रवद्र्धन गर्ने एससीटीको प्रतिबद्धतालाई पुष्टि गर्दछ। हामी हाम्रो भुक्तानी कार्डको विशेषज्ञता मार्फत योगदान गर्न र भुक्तानी प्रणालीलाई अझ सबल बनाउने हेतु क्षेत्रीय सहकार्यलाई मजबुत बनाउन तात्पर छौँ।”

प्रकाशित: १२ भाद्र २०८२, बिहीबार

तपाइको प्रतिक्रिया