सामसङले नेक्स्ट–जेन कुलिङ प्रविधिको लागि पुरस्कार हात पार्यो

Technology Khabar १२ भाद्र २०८२, बिहीबार

काठमाडौं ।

जोन्स हप्किन्स विश्वविद्यालय एप्लाइड फिजिक्स ल्याबोरेटरीसँग सह–विकसित सामसङको नेक्स्ट–जेनेरेसन (अर्को पुस्ता) को पेल्टियर कुलिङ प्रविधिले सन् २०२५ को आर एन्ड डी १०० अवार्ड (पुरस्कार) प्राप्त गरेको छ।

यस अवार्ड (पुरस्कार) लाई प्रायः इन्जिनियरिङको नोबेल पुरस्कार र नवप्रवर्तनको ओस्कर भनिने गरिन्छ। यो पुरस्कार आर एन्ड डी वल्र्ड म्यागजिनद्वारा प्रदान गरिन्छ र प्रत्येक वर्ष विश्वका १०० सबैभन्दा नवीन प्रविधिहरूलाई मान्यता दिने गरिएको छ।

पेल्टियर कुलिङ प्रविधि पहिलो पटक यस वर्षको सुरुमा विज्ञान पत्रिका नेचर कम्युनिकेसन्समा प्रकाशित एक प्रकाशनमा अनावरण गरिएको थियो।

सामसङका इन्जिनियरहरूले डा. रामा वेंकटसुब्रमण्यमको थर्मोइलेक्ट्रिक्स अनुसन्धान टोलीसँग मिलेर पेल्टियर डिभाइसको दक्षता र पर्फर्मेन्स सुधार गर्न न्यानो टेक्नोलोजी प्रयोग गरेको बताइएको छ जसले वातावरणको लागि हानिकारक हुन सक्ने परम्परागत रेफ्रिजरेन्टको सट्टा चिसो पार्न सेमिकण्डक्टर म्याटेरियल (अर्धचालक सामग्री) प्रयोग गरेको जनाइएको छ।

यस अनुसन्धानले पेल्टियर डिभाइसहरूको दक्षतामा ७५ प्रतिशत सम्म सुधार गरेको र अघिल्लो पुस्ताको तुलनामा केवल ०.१ प्रतिशत सामग्री चाहिने रिपोर्ट गरिएको छ। यसले भविष्यमा, वातावरणमैत्री साना, हल्का तौलका कुलिङ डिभाइसहरूको लागि अवसरको ढोका खोल्ने सम्भावनाको उल्लेख गरिएको छ।

सम्भवतः धेरै नजिकको भविष्यमा, यो कार, डाटा सेन्टर, घर, कार्यालय र अन्य धेरै कुराहरुमा चिसो बनाउन प्रयोग गर्न सकिने छ। साथै सामसङले गत वर्ष आईएफए मा देखाइएको आफ्नो एआई हाइब्रिड रेफ्रिजरेटरमा पहिलो पटक पेल्टियर कुलिङ डिभाइस प्रयोग गरेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: १२ भाद्र २०८२, बिहीबार

तपाइको प्रतिक्रिया