Technology Khabar ११ भाद्र २०८२, बुधबार
काठमाडौं ।
सरकारले सात दिन भित्र नेपालमा सञ्चालनमा रहेका सबै सामाजिक सञ्जाल दर्ता हुनुपर्ने निर्णय गरेको छ।
भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सामाजिक सञ्जाल दर्ता हुनुपर्ने निर्णय गरिएको जानकारी दिए।
सरकारले सर्वोच्च अदालतको आदेशबमोजिम सामाजिक सञ्जाल सात दिनभित्र सञ्चार मन्त्रालयमा सूचीकरण हुनुपर्ने र तोकिएको अवधिमा सूचीकरण नभए नेपालमा निष्क्रिय गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको हो।
सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० तथा सर्वोच्च अदालतको आदेशबमोजिम सामाजिक सञ्जाल सञ्चालकलाई जिम्मेवार तथा जवाफदेही बनाउन सात दिनको म्याद दिई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरणका लागि सार्वजनिक रूपमा आह्वान गर्ने’, मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री गुरुङले भने, ‘तोकिएको अवधिमा सूचीकरण हुन नआउने वा सूचीकरणका लागि सम्पर्कमा समेत नआउने सामाजिक सञ्जाललाई क्रमशः नेपाल भित्र निष्क्रिय गराउन र सूचीकरण गरेमा सोही क्षणबाट ती सामाजिक सञ्जाललाई पुनः सक्रिय गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने।’
यसका साथै मन्त्रिपरिषद् बैठकका १० वटा निर्णय सार्वजनिक भएका छन्।
यसअघिनै सरकारले मेसेजिङ्ग एप टेलिग्रामलाई समेत नेपाल दूरसञ्चार प्राधिकरणमार्फत बन्द गराएको थियो। हालसम्म उक्त प्रतिबन्ध खुलेको छैन भने टेलिग्राम दर्ता हुने प्रकृयामा आएको सञ्चार मन्त्रालयले जनाएको छ।
प्रकाशित: ११ भाद्र २०८२, बुधबार