
काठमाडौं ।
बाजुराको पूर्वी उत्तर क्षेत्रमा पर्ने कोल्टीमा राष्ट्रिय परिचयपत्र विवरण तथा सङ्कलन कार्य सुरु गरिएसँगै अहिले यहाँका स्थानीय निकै हर्षित भएका छन्। जिल्लाको दुर्गम गाउँबस्तीका स्थानीयलाई सहज हुने गरी जिल्ला प्रशासन कार्यालय बाजुराले गत आइतबारदेखि अस्थायी रूपमा बुढीनन्दा नगरपालिकाको कोल्टीमा राष्ट्रिय परिचयपत्र विवरण तथा सङ्कलन कार्य सुरु गरिएपछि स्थानीय हर्षित भएका हुन्।
पूर्वी उत्तरी क्षेत्रका स्थानीयलाई राष्ट्रिय परिचयपत्र बनाउन सदरमुकाम मार्तडी पुग्न निकै कठिनाइ भएका बेला गत आइतबार प्रशासनले कोल्टीमै सेवा दिने भएपछि निकै खुसी भएको दुर्गमका स्थानीय बताउँछन्।
सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएकाले यहाँका बुढापाकालाई मार्तडी गएर परिचयपत्र बनाउन निकै समस्या भएको थियो। अहिले कोल्टीमै त्यो सुविधा पाउँदा निकै खुसी लागेको बुढीनन्दा नगरपालिकाका स्थानीय काँसी विकले बताए।
उनले भने, “यहाँका बुढीनन्दा, स्वामीकार्तिक खापर, जगन्नाथ र हिमाली गाउँपालिकाका स्थानीय राष्ट्रिय परिचयपत्र बनाउन दुई/तीन हजार गाडी भाडा तिरेर मार्तडी जानेआउने गरेका थिए।”
आइतबारदेखि अस्थायी रूपमा भए पनि राष्ट्रिय परिचयपत्र वितरण तथा सङ्कलन कोल्टीमै सुरु गरिएपछि यहाँका बुढापाकालाई निकै सहज भएको विकले बताए।
“यहाँका स्थानीय राष्ट्रिय परिचयपत्र बनाउन एक दिनको समय लाएर मार्तडीमै पुग्नु पर्थ्यो। हामीले केही दिनका लागि भए पनि कोल्टीमै व्यवस्था गर्न प्रशासनमा माग गरेका थियौँ,” उनले भने। गत आइतबारदेखि राष्ट्रिय परिचयपत्र वितरण तथा सङ्कलन सहकार्य कोल्टीमै सुरु गरेको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले बताए।
आजको गोरखापत्रबाट
प्रकाशित: ११ भाद्र २०८२, बुधबार