डार्क म्याटरले भित्रैबाट एक्सोप्लानेटलाई निल्न सक्ने ब्ल्याक होल निर्माण गर्न सक्ने

Technology Khabar ११ भाद्र २०८२, बुधबार

काठमाडौं ।

बृहस्पतिजस्ता ग्रहहरूको मुटुमुनि अति दीर्घकालीन अवधिसम्म डार्क म्याटर जम्मा भएर त्यस्ता ग्रहलाई भित्रैबाट खाने सानो ब्ल्याक होलमा परिणत हुन सक्ने नयाँ अनुसन्धानले देखाएको छ। यसले सौर्यमण्डलबाहिर रहेका ‘एक्सोप्लानेट’हरूको उपयोग डार्क म्याटरको रहस्य बुझ्न प्रयोग गर्न सकिने देखाउँछ।

यो नयाँ मोडलअनुसार अति-गह्रुङ्गा डार्क म्याटर कणहरू एक्सोप्लानेटद्वारा च्यापिएर ऊर्जा गुमाउँदै ग्रहको केन्द्रतर्फ खस्छन्। त्यहाँ ती कणहरू जम्मा हुँदै जान्छन् र अन्ततः भासिएर ब्ल्याक होल बन्छन्। बनेको ब्ल्याक होलले ग्रहलाई भित्रैबाट खाइदिन्छ।

तर यो सिद्धान्त सबै प्रकारका ब्ल्याक होल निर्माण मोडेलमा लागू हुँदैन। यदि डार्क म्याटर कणहरू आपसमा ठोक्किएर नष्ट हुने खालका भए (जस्तै इलेक्ट्रोन र पोजिट्रोन मिल्दा हुने प्रक्रिया) भने उनीहरू ब्ल्याक होल बनाउन आवश्यक मात्रामा जम्मा हुन सक्दैनन्।

स्पेस डटकमका अनुसार डार्क म्याटर वैज्ञानिकहरूका लागि सबैभन्दा ठूलो रहस्य हो। यसले ब्रह्माण्डको ८५ प्रतिशत हिस्सा ओगटेको भए पनि यो के हो भन्ने अहिलेसम्म अज्ञात छ। यसले प्रकाशसँग अन्तरक्रिया नगर्ने भएकाले यसले इलेक्ट्रोन, प्रोटोन, न्यूट्रोनजस्ता सामान्य पदार्थ बनाउने कणहरूबाट बन्न सक्दैन। त्यसैले डार्क म्याटर अदृश्य रहन्छ।

यस प्रक्रियाका लागि डार्क म्याटर कणहरूको पिण्ड धेरै ठूलो हुनुपर्छ। त्यसैले अत्यधिक चर्चित उम्मेदवार कण ‘एक्सियन’ (जसको पिण्ड निकै सानो मानिन्छ) यस मोडेलबाट बाहिरिन्छ। “यदि डार्क म्याटर कणहरू पर्याप्त भारी छन् र आपसमा नष्ट हुँदैनन् भने अन्ततः सानो ब्ल्याक होलमा परिणत हुन सक्छन्,” क्यालिफोर्निया विश्वविद्यालय, रिभरसाइडका अनुसन्धानकर्ता मेहरदाद फोरौतन्बेहले भने।

डार्क म्याटर ब्ल्याक होल कसरी बन्छन्?

हालसम्म पत्ता लागेका सबैभन्दा हलुका ब्ल्याक होलहरू ‘स्टेलर मास ब्ल्याक होल’ हुन्, जसको पिण्ड सूर्यको ३ देखि १०० गुणासम्म हुन्छ। ती विशाल तारा जीवनको अन्त्यमा आणविक इन्धन सकिएर सुपरनोभा विस्फोट भएपछि बन्ने गर्छन्।

तर ग्रह खाने यी ब्ल्याक होलहरूको पिण्ड सूर्यभन्दा निकै कम हुने मानिएको छ। टोलीले प्रस्ताव गरेको प्रक्रियाले बृहस्पति जति ग्रहभित्रै ब्ल्याक होल बन्न सक्ने देखाएको छ। बृहस्पतिको पिण्ड सूर्यको मात्र ०.००१ गुणा छ।

“ग्यासयुक्त एक्सोप्लानेटहरूको विभिन्न आकार, तापक्रम र घनत्वमा ब्ल्याक होल बन्न सक्छन्, र ग्रहको जीवनकालमै एकभन्दा बढी ब्ल्याक होल पनि बन्ने सम्भावना छ,” फोरौतन्बेहले भने। “यसले विशेष गरी हाम्रो आकाशगंगाको केन्द्रजस्ता डार्क म्याटरले धनी मानिएका क्षेत्रमा एक्सोप्लानेट सर्वेक्षणहरू अति-भारी डार्क म्याटर पत्ता लगाउन प्रयोग गर्न सकिने देखाउँछ।”

यदि सूर्यको पिण्डभन्दा कम ब्ल्याक होल पत्ता लाग्यो भने यस सिद्धान्तलाई मजबुत समर्थन मिल्नेछ। “ग्रहको आकार बराबरको ब्ल्याक होल भेटिनु ठूलो उपलब्धि हुनेछ,” उनले भने। यो नयाँ सिद्धान्तसँगै हालसम्म पत्ता लागेका पाँच हजारभन्दा बढी एक्सोप्लानेटहरूलाई पनि डार्क म्याटरको अध्ययन गर्ने साधन मान्न सकिने भएको छ।

अनुसन्धान बुधबार (अगस्ट २०) फिजिकल रिभ्यू डी नामक जर्नलमा प्रकाशित भएको हो।

प्रकाशित: ११ भाद्र २०८२, बुधबार

तपाइको प्रतिक्रिया