Technology Khabar ११ भाद्र २०८२, बुधबार
काठमाडौं ।
विगत ८ वर्ष देखि एसएमएसको क्षेत्रमा काम गर्दै आएको आकाशले नेपालमै पहिलो पटक आईभिआर सेवा ल्याएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ब्रिजेश गुप्ताका अनुसार नेपालमा पहिलो पटक आकाश टेकले आईभिआर सिस्टम ल्याएको हो।
आईभीआर सेवा के हो?
इन्टरएक्टिभ भ्वाइस रेस्पोन्स (आईभिआर) फोनमा आफैँ चल्ने एक प्रकारको प्रविधि हो। जसले फोनलाई पहिले रेकर्ड गरिएको आवाजमार्फत आफूले खोजेको प्रतिनिधिसँग जोडिदिन्छ।
उदाहरणका रुपमा कुनै बैंकमा फोन गर्दा सुरुमा नेपालीको लागि एउटा बटन वा अंग्रेजीका लागि अर्को बटन थिच्न अनुरोध गरिन्छ। एउटा बटन थिचेपछि जुन समस्या या जिज्ञासा हो त्योसँग सम्बन्धित अर्को नम्बर थिच्न निर्देशन दिइन्छ। सोही अनुसार गरेपछि बल्ल कुनै प्रतिनिधिसँग कुरा हुन्छ। कतिपय अबस्थामा खोजेको जिज्ञासाको समाधान त्यहिँबाट पनि हुन्छ।
गुप्ताका अनुसार आकाशले दिने आईभीआर सिस्टम नेपालमा बनाइएको सफ्टवयर हो। ‘यो हामीले नेपालमा नै बनाएको सफ्टवयर हो’, गुप्ताले भने, ‘मेरो जानकारीमा आए अनुसार यो सफ्टवयर नेपालमा पहिलो हो।’ यस्तो सेवा अन्य आईटी कम्पनीले दिने भए पनि विदेशी सफ्टवयर प्रयोग गरेर सेवा मात्र दिने गरेको गुप्ताको भनाइ छ। ‘हामीले दिने सेवा कस्टको हिसाबले पनि धेरै सस्तो छ’, गुप्ताले थपे। कम्पनीले मोबाईल एप्लिकेसन तथा वेब बेस पनि प्रदान गर्छ।
‘हाम्रो एसएमएस सेवालाई सजिलो तरिकाले बुझ्दा कनेक्ट आईपिएसबाट पैसा तिर्दा तपाईँलाई तपाईको पैसाको कारोबार भयो भन्ने जुन एसएमएस आउँछ त्यो हामीले उपलब्ध गराउने हो’, गुप्ताले भने, ‘मोबाईल एप, ओटिपी, भोटिङ, ग्रुप एसएमएस, शैक्षिक संस्थाको नतिजा प्रकाशनलगायत एसएमएससँग सम्बन्धित सबै कामहरु हामी गछौँ ।’
आकाश एसएमएसले विषेश गरी बैंक तथा वित्तीय संस्थासँग काम गर्ने गरेको बिक्री विभाग प्रमुख राजन कोईराला बताउँछन्। ‘अहिले हामी १० हजारभन्दा बढी कम्पनीसँग काम गरिहेका छौँ’, कोईरालाले भने, ‘एक करोड १२ लाखभन्दा बढी व्यक्तिले हाम्रो सेवा लिने गर्नु भएको छ।’
प्रकाशित: ११ भाद्र २०८२, बुधबार