सामसङको वन यूआई अब होम अप्लायन्समा पनि उपलब्ध हुने

Technology Khabar ११ भाद्र २०८२, बुधबार

काठमाडौं ।

सामसङले आफ्ना सबै स्मार्ट उपकरणहरूलाई वन यूआई सफ्टवेयर अन्तर्गत एकीकृत गर्ने घोषणा गरेको छ। यसमा स्मार्ट होम प्रोडक्टहरू मात्र नभई वाशिङ मेसिन र फ्रिजजस्ता उपकरणहरू समेत पर्छन्। यो कदम ह्वावेको हार्मोनीओएस जस्तै देखिएको छ।

जीएसएमएरिनाका अनुसार कोरियाली प्रविधि कम्पनीले प्रयोगकर्तासँग उपकरणहरूको अन्तरक्रिया अझ सहज बनाउने, एउटै प्रकारको अनुभव दिलाउने र नयाँ सुविधाहरू ल्याउने लक्ष्य राखेको छ। साथै, २०२४ मा लञ्च भएका सबै वाईफाई सक्षम उपकरणहरूलाई ७ वर्षसम्म सफ्टवेयर अपडेट दिने वाचा गरेको छ।

अब स्मार्टफोन, ट्याब्लेट र स्मार्टवाचमा उपलब्ध वन यूआई र त्यसका केही फिचरहरू तपाईंका भान्साघरका उपकरणहरूमा पनि आउनेछन्। बिक्स्बी, ग्यालरी, सामसङ टीभी प्लसजस्ता एप र सेवा उपलब्ध हुनेछन्। साथै स्मार्टथिङ्स इन्टिग्रेशनमार्फत उपकरणबीचको कनेक्टिभिटी अझ सुधारिनेछ।

वन यूआई ७ सँग आएको नयाँ फिचर नाउ ब्रिफले परिवारका सदस्यहरूलाई उपयोगी र सन्दर्भअनुसारको जानकारी दिनेछ। यसमा दैनिक मौसम पूर्वानुमान, परिवारको तालिका, व्यक्तिगत रेसिपी र घरसम्बन्धी इनसाइटहरू हुनेछन्। उदाहरणका लागि, फ्रिजको ढोकामा तपाईं वाशिङ मेसिन कहिले सकिन्छ भन्ने जानकारी देख्न सकिनेछ।

२०२४ का उपकरण प्रयोगकर्ताले अपडेटपछि के नयाँ पाउने?

फ्यामिली हब र ९-इन्च स्क्रिन भएको फ्रिजमा एआईभिजन इन्साइड उपलब्ध हुनेछ जसले प्याकेज गरिएको खानेकुरा र धेरैजसो ताजा खानेकुरा चिन्न सक्नेछ। बिक्स्बीमा भ्वाइस आईडी हुनेछ जसले प्रयोगकर्ताको आवाज पहिचान गरी व्यक्तिगत अनुभव दिनेछ।

सामसङ टीभी प्लस अब क्यानडा, ब्राजिल र भारतजस्ता बजारमा पनि विस्तार हुने अपेक्षा गरिएको छ। वाशिङ मेसिनका लागि कम्तीमा ७-इन्चको स्क्रिन आवश्यक हुन्छ भने फ्रिजले फ्यामिली हब सपोर्ट गर्नुपर्नेछ।

अन्त्यमा, वन यूआई ले नक्स सेक्युरिटीमार्फत सुरक्षा स्तरलाई अझ मजबुत बनाउनेछ। २०२४ मा लञ्च भएका सबै वाईफाई सक्षम उपकरणहरूलाई ट्र्स्ट चेन नामक प्राइभेट ब्लकचेन प्रविधिबाट सुरक्षित गरिनेछ। यसले उपकरणबीच सुरक्षित जडान सुनिश्चित गर्नेछ र सुरक्षा भंग भएमा एकअर्काको स्थिति निगरानी गर्नेछ।

प्रकाशित: ११ भाद्र २०८२, बुधबार

तपाइको प्रतिक्रिया