Technology Khabar १० भाद्र २०८२, मंगलवार
काठमाडौं ।
सगरमाथामा थुप्रिएको फोहर संकलन गर्न मानव श्रम वा हेलिकप्टरभन्दा ड्रोन अत्यधिक उपयोगी सावित भएका छन्।
यो आरोहण सिजनमा ड्रोन सञ्चालन गर्ने टोलीले आरोही र गाइडहरूसँगै सगरमाथा आधार शिविरमा उपस्थित भई गह्रुङ्गा सामान बोक्न सक्ने ड्रोनमार्फत विश्वकै अग्लो शिखरबाट फोहर हटाउने अभियानमा साथ दिएका छन्।
खाली क्यान, ग्यास सिलिन्डर, बोतल, प्लास्टिकदेखि लिएर त्यागिएका आरोहण सामग्रीसम्मका थुप्रै फोहरका कारण एक समयको स्वच्छ सगरमाथा अहिले “विश्वकै अग्लो फोहरको थुप्रो” भन्ने कलंकित उपनामले चिनिन थालेको छ।
एएफपीका अनुसार यस वसन्त ऋतु (साधारणतया अप्रिलदेखि जुन सुरुको समयमा) दुईवटा डीजेआई एफसी ३० ड्रोनमार्फत ६,०६५ मिटर (१९,९०० फिट) उचाइको पहिलो शिविरबाट ३०० किलोग्राम फोहर तल झारिएको थियो।
“पहिले विकल्प हेलिकोप्टर वा मानवीय श्रम मात्र थियो, बीचको विकल्प थिएन,” नेपालस्थित एयरलिफ्ट टेक्नोलोजीका राज विक्रम महर्जनले बताए। “त्यसैले समाधानका रूपमा हामीले भारी सामान बोक्ने ड्रोनमार्फत फोहर झार्ने अवधारणा ल्याएका हौं।”
गत वर्ष सगरमाथामा गरिएको सफल परीक्षणपछि कम्पनीले नजिकैको आमाडब्लम हिमालमा पनि यही प्रणाली प्रयोग गरी ६४१ किलोग्राम फोहर हटाएको थियो।
“यो हिमाललाई सफा र सुरक्षित बनाउन क्रान्तिकारी पहल हो,” सगरमाथा क्षेत्रमा जिम्मेवारी लिने खुम्बु पासाङल्हामु गाउँपालिकाका उपाध्यक्ष टाशी ल्हामु शेर्पाले भने।
सगरमाथा प्रदूषण नियन्त्रण समितिका प्रमुख छिरिङ शेर्पाका अनुसार ड्रोन पुराना विधिभन्दा धेरै प्रभावकारी, सस्तो र सुरक्षित सावित भएको छ। “१० मिनेटमै एउटा ड्रोनले १० जनाले ६ घण्टामा बोक्नेजति फोहर बोक्छ,” उनले एएफपीसँग भने।
करिब २० हजार डलर मूल्य पर्ने यी शक्तिशाली ड्रोनहरू सफाइ अभियानका लागि समर्थन र आफ्नो ब्रान्ड प्रवर्द्धन गर्ने उद्देश्यसहित चीनस्थित निर्माता कम्पनीले उपलब्ध गराएको हो। अन्य खर्च स्थानीय निकायहरूले आंशिक रूपमा व्यहोरेका छन्।
फोहर हटाउने मात्र नभई, ड्रोन प्रयोग गरेर अक्सिजन सिलिन्डर, भर्याङ, र डोरीजस्ता आवश्यक आरोहण सामग्री पनि पुर्याइएको छ। यसले सगरमाथाको खुम्बु हिमपहिरो खण्ड पार गर्दा हुने जोखिम कम गरी गाइड र भरियाहरुको सुरक्षा बढाउने अपेक्षा गरिएको छ। विशेषगरी सुरुवातमा बाटो खोल्ने टोलीका लागि यो ठूलो सहयोग भएको बताइन्छ।
“बाटो खोल्ने टोलीका सदस्यहरू निकै खुशी भए,” विश्वका सबै १४ अग्ला हिमालमा आरोहण गर्ने सबैभन्दा कान्छा कीर्तिमानी आरोही निमा रिन्जी शेर्पाले भने। “अब उनीहरू आफैं जान सक्छन् र ड्रोनले भर्याङ वा अक्सिजन र डोरी पुर्याइदिन्छ। यसले धेरै समय र ऊर्जा बचाउँछ।”
आगामी महिनामा एयरलिफ्ट टेक्नोलोजीले यी ड्रोनलाई विश्वको आठौं अग्लो हिमाल मनास्लुमा प्रयोग गर्ने तयारी गरेको छ। “ड्रोन युद्धमै मात्र होइन, ज्यान बचाउन र वातावरण जोगाउन पनि उपयोगी हुन्छ,” महर्जनले भने। “जलवायु र मानवतावादी कामका लागि यो प्रविधि गेम चेन्जर सावित हुने छ।”
प्रकाशित: १० भाद्र २०८२, मंगलवार