विश्वका स्टक एक्सचेन्जहरूद्वारा ‘टोकनाइज्ड स्टक’हरुमाथि नियन्त्रण गर्न नियामकलाई आग्रह

Technology Khabar १० भाद्र २०८२, मंगलवार

काठमाडौं ।

विश्वकै ठूला स्टक एक्सचेन्जहरूको प्रतिनिधित्व गर्ने समूहले नियामक निकायहरूलाई ‘टोकनाइज्ड स्टक्स’ नियन्त्रण गर्न आग्रह गरेको छ। रोयटर्सले हेरेको पत्रअनुसार ब्लकचेनमार्फत जारी गरिने यस्ता टोकनले लगानीकर्ताका लागि नयाँ जोखिम सिर्जना गर्ने र बजारको पारदर्शितामा आघात पुर्‍याउने चिन्ता व्यक्त गरिएको छ।

टोकनाइज्ड इक्विटी भनेको ब्लकचेनमा आधारित टोकन हो, जसले कुनै कम्पनीका सेयरलाई प्रतिनिधित्व गर्छ। तर यी टोकन खरिद गर्नेहरूले वास्तविक कम्पनीमा सेयरहोल्डरको अधिकार भने पाउँदैनन्।

क्रिप्टो एक्सचेन्ज क्वाइनबेस र ब्रोकर रबिनहूडजस्ता कम्पनीहरूले यस क्षेत्रमा प्रवेश गर्ने प्रयास गरिरहेका छन्। समर्थकहरूको भनाइमा, टोकेनाइज्ड इक्विटीले कारोबार खर्च घटाउने, सेटलमेन्ट चाँडो गर्ने र चौबिसै घण्टा कारोबार गर्न सहज बनाउने क्षमता राख्छ।

तर विश्व एक्सचेन्ज महासंघ (डब्लूएफई) ले गत शुक्रबार अमेरिकी सेयर नियामक एसईसी को क्रिप्टो टास्क फोर्स, युरोपेली नियामक ईएसएमए र विश्व नियामक आईओएससिओको फिनटेक टास्क फोर्सलाई पठाएको पत्रमा यस्ता टोकनले सेयरजस्तै देखिए पनि त्यस्ता अधिकार र सुरक्षा नदिने भन्दै चिन्ता व्यक्त गरेको छ।

“हामी अमेरिकी सेयरजस्तै देखिने यस्ता टोकेन व्यापक रूपमा ब्रोकर र क्रिप्टो प्लेटफर्महरूले बेच्न लागेको देखेर चिन्तित छौं। यी उत्पादनलाई स्टक टोकन भनेर प्रचार गरिन्छ तर वास्तविक सेयर होइनन्,” डब्लूएफई ले भनेको छ।

डब्लूएफईले कुन कम्पनी वा प्लेटफर्मलाई लक्ष्य गरेको हो भने खुलाएको छैन। तर उसले यदि यस्ता टोकन असफल भएमा वास्तविक सेयर जारी गर्ने कम्पनीहरूको छवि खराब हुन सक्छ भन्ने चेतावनी दिएको छ।

डब्लूएफईकी प्रमुख नन्दिनी सुकोमारका अनुसार यो आग्रह बजार पूर्वाधार र वित्तीय क्षेत्रकै व्यापक चिन्ता हो। उनले केही कम्पनीहरूले पनि आफ्ना सेयर टोकनाइज्ड हुने जोखिमबारे एक्सचेन्जलाई चिन्ता व्यक्त गरिसकेको बताइन्।

पत्रमा डब्लूएफईले नियामक निकायहरूलाई टोकनाइज्ड सम्पत्तिमा सेयरसम्बन्धी कानुन लागू गर्न, स्वामित्व र कस्टडीबारे कानुनी ढाँचा स्पष्ट पार्न र यस्ता उत्पादनलाई वास्तविक सेयरसरह प्रचार गर्न रोक लगाउन आग्रह गरेको छ।

एसईसी, ईएसएमए र आईओएससिओले भने यसबारे कुनै प्रतिक्रिया दिएका छैनन्। यसअघि जुलाईमा एक एसईसी आयुक्तले टोकनाइज्ड सेयरहरूलाई पनि सेयरसम्बन्धी नियमअनुसारै नियमन गर्नुपर्ने बताएका थिए।

गत जुन महिनामा रबिनहूडले युरोपेली प्रयोगकर्ताका लागि टोकनाइज्ड इक्विटी ल्याएको थियो र निजी कम्पनीका सेयरलाई समेत टोकनमार्फत उपलब्ध गराउने योजना सार्वजनिक गरेको थियो। त्यसमा ओपनएआईको नाम पनि समावेश थियो। तर ओपनएआईले भने आफू त्यसमा संलग्न नभएको र समर्थन नगरेको स्पष्ट पारेको छ।

क्वाइनबेसले पनि आफ्ना ग्राहकलाई टोकेनाइज्ड इक्विटी उपलब्ध गराउन अमेरिकी नियामक एसईसी सँग अनुमति मागेको बताइएको छ। ओपनएआई र क्वाइनबेस दुवैले यसबारे टिप्पणी गर्न अस्वीकार गरेका छन्।

प्रकाशित: १० भाद्र २०८२, मंगलवार

तपाइको प्रतिक्रिया