Technology Khabar १० भाद्र २०८२, मंगलवार
काठमाडौं ।
यदि तपाईँ एन्ड्रोइड स्मार्टफोन प्रयोग गर्नुहुन्छ भने केही दिनअघि फोनमा आएको परिवर्तन तपाईंले पक्कै देख्नुभएको हुन सक्छ।
धेरै एन्ड्रोइड प्रयोगकर्ताहरू फोनको कल र डायलर सेटिङ्समा अचानक आएको परिवर्तन देखेर अचम्मित भएका छन्। सामाजिक सञ्जालमा कतिपयले फोनमा आएको यस अचानक परिवर्तनबारे प्रश्न गरेका छन् भने केहीले असन्तोष पनि प्रकट गरेका छन्।
यो परिवर्तनपछि एन्ड्रोइड फोनबाट कल गर्दा वा कल रिसिभ गर्दा देखिने इन्टरफेस अर्थात् डिस्प्ले र डिजाइन बदलिएको छ। धेरै प्रयोगकर्ताहरूले आफूले कुनै सेटिङ परिवर्तन नगरे पनि कल स्क्रिन किन बदलियो भन्ने आश्चर्य व्यक्त गरेका छन्। कतिपयले त फोन ह्याक भएको आशंका पनि गरेका छन्।
एन्ड्रोइड प्रयोगकर्ताहरूले यी परिवर्तनबारे विभिन्न सामाजिक सञ्जाल प्लेटफर्ममा जानकारी साझा गरेका छन्। प्लेटफर्म ‘एक्स’ मा पनि यसबारे धेरै पोस्टहरू आएका छन्।
यी परिवर्तनहरू केवल एन्ड्रोइड फोनमा देखिएका हुन्। किनकि आईओएस फोनमा यस्तो कुनै परिवर्तन गरिएको छैन, त्यसैले आईफोन प्रयोगकर्तालाई चिन्ता लिनु पर्ने अवस्था नभएको बीबीसीले जनाएको छ।
तर एन्ड्रोइड फोनमा यी परिवर्तन किन आए, सेटिङ्स कसरी बदलिए र पुरानै अवस्थामा कसरी फर्काउन सकिन्छ भन्ने प्रश्न उठेका छन्।
कतिपयले यसलाई ‘ह्याकिङ’ सँग जोडे भने केहीले सरकारी निगरानीको तरिका हुनसक्ने शंका व्यक्त गरे। तर केही प्रयोगकर्ताले भने यो केवल कम्पनीले गर्ने नियमित सफ्टवेयर अपडेट भएको बताए।

एन्ड्रोइडको आधारभूत सफ्टवेयर (ओएस) गुगलले बनाउने र समय-समयमा अपडेट गर्ने गर्दछ। यसै वर्ष मे महिनामा गुगलले ‘मटेरियल थ्रीडी एक्सप्रेसिभ’ नामक अपडेट ल्याउने घोषणा गरेको थियो, जुन पछिल्ला वर्षहरूको ठूला अपडेटमध्ये एक हो।
गुगलका अनुसार यस अपडेटपछि फोनको सफ्टवेयर र डिस्प्ले अझ सजिलो, छिटो र सहज हुनेछन्। कम्पनीले नोटिफिकेशन, कलर थिम, फोटो, जीमेल र वाच जस्ता कुरामा परिवर्तन गरेको छ। यसैअन्तर्गत फोनको कल एपमा पनि नयाँ डिजाइन आएको हो। ‘रिसेन्ट कल्स’ र ‘फेभरेट’ विकल्प हटाएर ‘होम’ मा राखिएको छ। अब फोन एप खोल्दा केवल ‘होम’ र ‘किप्याड’ मात्र देखिन्छ।
एकै नम्बरबाट आएका सबै कल अब एउटै ठाउँमा नभई समयअनुसार छुट्टाछुट्टै हिस्ट्रीमा देखिनेछन्। यसरी प्रयोगकर्ताले कल हिस्ट्री बुझ्न अझ सजिलो हुने गुगलको दाबी छ। ‘इनकमिङ कल’ डिजाइनमा पनि प्रयोगकर्ताको प्रतिक्रियापछि परिवर्तन गरिएको छ, ताकि फोन खल्तीबाट निकाल्दा अनायासै रिसिभ वा डिस्कनेक्ट नहोस्।
कसैको फोनमा यी परिवर्तन देखिएको छ भने कसैकोमा अझै देखिएको छैन। यसको कारण प्रयोगकर्ताले गुगल प्ले स्टोरमा ‘अटो-अपडेट’ विकल्प चालु गरेका हुन सक्ने बताइएको छ। त्यसो गर्दा केही एपहरू आफैं अपडेट हुन्छन्। सेटिङ्समा गएर ‘अनइन्स्टल अपडेट’ क्लिक गरेर पुरानो कल डिस्प्ले फर्काउन सकिने पनि बताइएको छ।
मोबाइल कम्पनी वनप्लसले पनि सामाजिक सञ्जालमा प्रयोगकर्ताको प्रश्नको जवाफ दिँदै भनेको छ – “यो वनप्लसको कारण होइन, गुगल फोन एपको अपडेटका कारण हो। यदि पुरानो स्टाइल मन पर्छ भने अपडेट अनइन्स्टल गर्न सकिन्छ।”
त्यसैले यदि तपाईंको एन्ड्रोइड फोनमा नयाँ परिवर्तन देखिएको छ भने चिन्ता लिनु पर्दैन। तर यदि पुरानै शैली मनपर्छ भने नयाँ अपडेट हटाएर पुरानो इन्टरफेस प्रयोग गर्न सकिन्छ।
प्रकाशित: १० भाद्र २०८२, मंगलवार