Technology Khabar १० भाद्र २०८२, मंगलवार
काठमाडौं ।
डच अनलाइन बैंक बन्कलाई मनी लन्डरिङ नियन्त्रणमा कमजोरीका कारण २६ लाख युरो (३.०४ मिलियन डलर) जरिवाना गरिएको डच सेन्ट्रल बैंक डीएनबीले सोमबार जनाएको छ। बन्कले डीएनबीको निर्णयसँग असहमति जनाउँदै औपचारिक आपत्ति दर्ता गरेको छ।
डीएनबीका अनुसार २०२१ जनवरीदेखि २०२२ मेबीच चार वटा घटनामा गम्भीर त्रुटि देखिएको भन्दै गत मे महिनामा जरिवाना गरिएको हो। ती घटनामा बन्कले सम्भावित आपराधिक वित्तीय गतिविधिका संकेतहरूलाई उचित रूपमा अनुसन्धान वा रिपोर्ट गर्न सकेको थिएन।
यसअघि भएका अनुसन्धानहरूमा समेत बारम्बार कमजोरी देखिएको र पहिल्यै जरिवाना तथा चेतावनी दिइए पनि बैंकले सुधार नगरेको डीएनबीले जनाएको छ।
अनलाइन बैंकका प्रवक्ताले विज्ञप्तिमा भनेका छन्, “बन्कमा हामीले गेटकिपरको भूमिकालाई गम्भीरतापूर्वक लिन्छौं। हामी अत्याधुनिक प्रविधि प्रयोग गर्छौं र निरन्तर प्रणालीलाई सुदृढ बनाइरहेका छौं, जसमा २०२१–२०२२ का घटनाहरूको प्रतिक्रियासमेत समावेश छ। हामी हाम्रो अडानमा ढुक्क छौं।”
हालैका वर्षहरूमा डचका बैंकहरूले मनी लन्डरिङ निगरानी उल्लेख्य रूपमा बढाएका छन्। यसअघि देशका ठूला बैंक आईएनजी र एबिएन एमरो नियमनमा असफल हुँदा ठूलो जरिवाना भोगेका थिए।
गत अप्रिलमा डच ऋणदाता राबोबैंकले पनि मनी लन्डरिङको सम्भावित गतिविधि पत्ता लगाउन असफल भएको आरोपमा अभियोजकसँग सम्झौता गर्न नसकेपछि मुद्दा खेप्ने भएको रोयटर्सले उल्लेख गरेको छ।
प्रकाशित: १० भाद्र २०८२, मंगलवार