हालसम्मकै सबैभन्दा चम्किलो रेडियो तरंगको झिल्को देखियो, नयाँ युगको शुभारम्भ भएको भनाई

Technology Khabar १० भाद्र २०८२, मंगलवार

काठमाडौं ।

खगोलविदहरूले अहिलेसम्म देखिएको सबैभन्दा चम्किलो रेडियो तरंगको झिल्को पत्ता लगाएका छन् र यसलाई यसको वास्तविक स्रोतसम्म ट्र्याक गर्न सफल भएका छन्। यो उपलब्धिले केही मिलिसेकेन्डमै सूर्यले आफ्नो सम्पूर्ण जीवनकालमा उत्सर्जन गर्ने उर्जासरह ऊर्जा निकाल्ने यस्ता रहस्यमय विकिरण विस्फोटसम्बन्धी सिद्धान्तलाई नयाँ मोड दिन सक्छ।

सन् २००७ मा पहिलो पटक देखिएको फास्ट रेडियो बर्स्ट (एफआरबी) खगोलशास्त्रीहरूका लागि बुझ्न निकै कठिन बनेको थियो। यसको कारण, यस्ता संकेतहरू धेरै छोटो समय मात्र रहने र थोरै मात्र दोहोरिने भएकाले अनुगमन गर्न गाह्रो हुने गर्छ। धेरै व्याख्या भए पनि मुख्यत: अत्यन्त शक्तिशाली चुम्बकीय क्षेत्र भएका ‘न्यूट्रोन स्टार’ वा अझै बढी शक्तिशाली ‘म्याग्नेटार’ भनिने मृत ताराहरू प्रमुख कारण मानिन्छ।

स्पेस डटकमका अनुसार नयाँ एफआरबीलाई आधिकारिक रूपमा एफआरबी २०२५०३१६ए नाम दिइएको छ भने यसको उपनाम “आरबीफ्लोट” राखिएको छ, जसको अर्थ “रेडियो ब्राइटेस्ट फ्ल्याश अफ अल टाइम ” हो।

यो असामान्य रूपमा चम्किलो एफआरबी सन् २०२५ को मार्चमा क्यानाडाको हाइड्रोजन इन्टेन्सिटी म्यापिङ एक्सपेरिमेन्ट (सीएचआईएमई) मार्फत पहिलो पटक पत्ता लाग्यो। सीएचआईएमई लाई हालसम्म एफआरबी पत्ता लगाउने प्रमुख उपकरणको रूपमा चिनिन्छ।

यो पहिलो पटक हो कि सीएचआईएमई/एफआरबी रेडियो टेलिस्कोपले मात्र प्रयोग गरेर एफआरबीलाई यसको स्रोतसम्म ट्र्याक गरिएको हो। यसपटक स्रोत ४५ प्रकाश वर्षभन्दा सानो क्षेत्रमा भेटिएको छ, जुन औसत तारामण्डलभन्दा पनि सानो हो र करिब १३ करोड प्रकाश वर्ष टाढाको एनजीसी ४१४१ नामक ग्यालेक्सीको स्पाइरल आर्मको छेउमा अवस्थित छ। अनुसन्धानकर्ताहरूले यसलाई १०० किलोमिटर टाढाबाट सानो सिक्का देखेजस्तै कठिन कार्यसँग तुलना गरेका छन्।

“यो परिणामले नयाँ अध्याय सुरु गरेको छ। अब हामी केवल यस्ता रहस्यमय झिल्को देख्न मात्र होइन, सिधै कहाँबाट आएको हो भन्ने थाहा पाउन सक्छौं,” अनुसन्धान टोली नेतृ तथा म्याकगिल विश्वविद्यालयकी अनुसन्धानकर्ता अमान्डा कुकले भनेकी छन्।

सीएचआईएमईले हालै निर्माण भएका ‘आउट्रिगर’ टेलिस्कोपहरूका कारण यस्तो उच्च स्तरको लोकेशन ट्र्याक गर्ने क्षमता पाएको हो। यी टेलिस्कोपहरू ब्रिटिश कोलम्बियादेखि क्यालिफोर्नियासम्म उत्तरी अमेरिकामा फैलिएका छन्।

“सीएचआईएमई आउट्रिगरहरुको मद्दतले हामीले अब यी क्षणिक संकेतहरूलाई प्रत्यक्ष समात्न थालेका छौं। यसले हामीलाई केवल ग्यालेक्सी मात्र नभई त्यसभित्रको विशेष तारकीय वातावरणसम्म सीमित गर्न मद्दत गर्छ,” कुकले थपिन्।

यसपटक एफआरबी स्रोतलाई चाँडै पत्ता लगाएर शक्तिशाली जेम्स वेब स्पेस टेलिस्कोप (जेडब्लूएसटी) मार्फत इन्फ्रारेड अनुगमन गर्ने पहिलो अवसर खगोलविदहरूले पाए।

“हामीलाई रोचक नतिजा प्राप्त भयो – रेडियो बर्स्ट भएको स्थानकै नजिक कमजोर इन्फ्रारेड संकेत देखिएको छ,” हार्भर्ड विश्वविद्यालयका अनुसन्धान सहकर्मी पिटर ब्लान्चर्डले भने। “यो अर्कै ग्यालेक्सीमा एफआरबी सँग प्रत्यक्ष रूपमा जोडिएको पहिलो वस्तु हुन सक्छ।”

आरबीफ्लोट स्रोत नजिक भेटिएको इन्फ्रारेड वस्तुलाई एनआईआर-१ नाम दिइएको छ। यो रातो दानव तारा वा मध्यम उमेरको ठूलो तारा भएको अनुमान गरिएको छ। यद्यपि यस्तो तारा आफैंले एफआरबी जस्तो शक्तिशाली विस्फोट उत्पन्न गर्न सक्ने सम्भावना कम छ।

अनुसन्धानकर्ताहरूको अनुमानमा एनआईआर-१ नजिकै न्यूट्रोन स्टार हुनसक्छ, जसको शक्तिशाली गुरुत्वाकर्षणले उक्त ताराबाट पदार्थ चुसिरहेको हुनसक्छ र यही प्रक्रियाले एफआरबी को उत्पत्ति गराएको हुन सक्छ।

“यदि दुई ताराको प्रणाली नभएर अलग्गै रहेको म्याग्नेटार नै कारण हो भने पनि हामीले यसको उत्पत्तिबारे धेरै कुरा सिकेका छौं,” ब्लान्चर्डले भने।
यदि इन्फ्रारेड संकेत समयसँगै हराउँदै गयो भने, यो वस्तु वास्तवमा आरबीफ्लोट उत्पन्न गर्ने म्याग्नेटारबाट आएको परावर्तित प्रकाश हो भन्ने प्रमाण मिल्न सक्छ।

आरबीफ्लोट पृथ्वी नजिकै भएको र जेडब्लूएसटीले त्यसको क्षेत्रको विस्तृत फोटो लिन सफल भएकाले यो एफआरबी सम्बन्धी रहस्य बुझ्न महत्वपूर्ण हुने वैज्ञानिकहरूको धारणा छ।

“हामीले एफआरबी को रहस्य सुल्झाउने नयाँ बाटोमा पहिलो कदम चालेका छौं। अब हामीलाई अर्को एफआरबी कहिले र कहाँ आउँछ भन्ने थाहा नहुने भएकाले जेडब्लूएसटी प्रयोग गर्न तयार रहनुपर्छ,” अनुसन्धानकर्ता बेर्गरले भने।

यस खोजबारे दुईवटा अनुसन्धान पत्र द एस्ट्रोफिजिकल जर्नल लेटर्समा प्रकाशित भएका छन्।

प्रकाशित: १० भाद्र २०८२, मंगलवार

तपाइको प्रतिक्रिया