Technology Khabar १० भाद्र २०८२, मंगलवार
काठमाडौं ।
चीनले डाटा सेन्टरलाई चिसो राख्न समुद्रभित्र डुबाउने काम सुरु गरेको छ। आर्थिक वृद्धि गर्ने रणनीतिअन्तर्गत चीनले कृत्रिम बुद्धिमत्ता, क्लाउड कम्प्युटिङ र अन्य डिजिटल प्रविधिमा ठूलो लगानी गरिरहेको छ। यसका लागि कम्प्युटिङ शक्ति बढाउन तीव्र गतिमा डाटा सेन्टर निर्माण भइरहेको छ।
तर यस्ता विशाल सर्वर संरचनाले ठूलो मात्रामा बिजुली र पानी खर्च गर्छन्। एउटा डाटा सेन्टरले दिनमा सयौँ हजार ग्यालोन पानी प्रयोग गरेर उत्पन्न हुने ताप बाहिर फ्याँक्ने गर्छ।
यसले कृषि देखि पिउने पानीसम्म मानिसको जीवनसँग जोडिएका आवश्यकतासँग प्रतिस्पर्धा गर्ने चुनौती बढाउँदैछ। गैरनाफामूलक पत्रकार संगठन सोर्सम्याटेरियल र द गार्जियनको अनुसन्धानअनुसार, धेरै कम्पनीले आफ्नो डाटा सेन्टर सुख्खा क्षेत्रहरूमा बनाएका छन्, जस्तै एरिजोना, स्पेनका केही भाग र मध्यपूर्व, किनभने त्यहाँको सुख्खा हावा आर्द्रताबाट हुने क्षति कम गर्छ।
लाइभसाइन्सका अनुसार पानीको खपतसम्बन्धी चिन्ता सम्बोधन गर्न चीनले अब डाटा सेन्टरलाई सबैभन्दा भिजेको स्थान, अर्थात् समुद्रभित्र, लैजाने निर्णय गरेको छ। यसै वर्ष जुनमा शाङ्घाइ किनारदेखि करिब ६ माइल टाढा समुद्रभित्र हावाबाट उत्पादित बिजुलीबाट चल्ने डाटा सेन्टरको निर्माण सुरु भएको छ।

“चीनको यो महत्वाकांक्षी कदमले कम-कार्बन डिजिटल पूर्वाधारतर्फ ठूलो परिवर्तनको संकेत गरेको छ, जसले विश्वव्यापी रुपमा दिगो कम्प्युटिङका मापदण्डलाई असर गर्न सक्छ,” उर्जा अनुसन्धान केन्द्र एम्बरकी विश्लेषक शब्रिना नाधिलाले भनिन्।
डाटा सेन्टरमा जानकारी भण्डारण र व्यवसायका लागि जटिल गणना गरिन्छ। लगातार सञ्चालन हुने यस्ता सर्वरले ठूलो मात्रामा बिजुली र पानी खर्च गर्छन्, साथै उत्पन्न हुने तापले उपकरण बिगार्ने खतरा रहन्छ। सामान्य डाटा सेन्टरले प्रयोग गर्ने बिजुलीको करिब ४० प्रतिशत चिस्याउन खर्च हुन्छ। प्रायः यो उर्जा पानीलाई चिस्याउन प्रयोग गरिन्छ, जुन हावासँग मिसाएर वा बाफ बनाइ सर्भरको ताप घटाइन्छ।
समुद्रभित्रका डाटा सेन्टरले भने पाइपमार्फत समुद्री पानी सिधै प्रयोग गर्छन्। शाङ्घाइमा डाटा सेन्टर निर्माण गरिरहेको हाइलानयुन (हाइक्लाउड) कम्पनीले चीन एकेडेमी अफ इन्फर्मेशन एण्ड कम्युनिकेशन टेक्नोलोजीसँगको मूल्यांकन उद्धृत गर्दै यस परियोजनाले स्थलीय डाटा सेन्टरभन्दा कम्तीमा ३० प्रतिशत कम बिजुली खर्च गर्ने दावी गरेको छ।
हाइलानयुनका प्रवक्त्ता ली लाङपिङका अनुसार, यो डाटा सेन्टर नजिकैको अपतटीय हावा ऊर्जाबाट ९७ प्रतिशत बिजुली आपूर्ति गर्ने गरी जोडिनेछ। पहिलो चरणमा १९८ सर्भर र्याक राखिनेछ, जसमा ३९६ देखि ७९२ वटा एआई-समर्थित सर्भर समाउन सक्नेछन्।
यसले एक दिनमै जीपीटी–३.५ २०२२ मा जारी गरेको ठूलो भाषा मोडल) को स्तरको प्रशिक्षण सम्पन्न गर्ने क्षमता दिने दावी गरिएको छ। तर शाङ्घाइको यो परियोजना आकारमा सामान्य डाटा सेन्टरभन्दा सानो मानिन्छ। चीनका मध्यम आकारका डाटा सेन्टरमा करिब ३,००० र्याक हुन्छन् भने ठूलो स्तरका डाटा सेन्टरमा १०,००० भन्दा बढी र्याक राखिन्छ।
हाइलानयुनको २२३ मिलियन डलर लागतको यो परियोजना माइक्रोसफ्टले दशकअघि सुरु गरेको “प्रोजेक्ट नेटिक” प्रयाससँग मिल्दोजुल्दो छ। स्कटल्याण्डको किनारदेखि ११७ फिट तल समुद्रभित्र राखिएको सर्भर क्याप्सुललाई दुई वर्षपछि निकाल्दा माइक्रोसफ्टले पत्ता लगाएको थियो कि समुद्रभित्रका डाटा सेन्टर “विश्वसनीय, व्यावहारिक र ऊर्जा-दक्ष” हुन्छन्।
सन् २०२० मा जारी गरेको प्रेस विज्ञप्तिमा माइक्रोसफ्टले समुद्रभित्रको प्रयोगले जमिनमा रहेका डाटा सेन्टरको तुलनामा कम सर्भर बिग्रिएको जनाएको थियो। यसको कारण कन्टेनर पूर्ण रूपमा बन्द गरेर नाइट्रोजनले भरिएको थियो, जसले अक्सिजनभन्दा कम क्षरण गर्छ। साथै त्यहाँ मानिसको भौतिक सम्पर्क नहुँदा उपकरणमा क्षति पुग्ने सम्भावना पनि घटेको थियो।
तर अहिलेसम्म माइक्रोसफ्टले ‘प्रोजेक्ट नाटिक’लाई रोकिएको छ। कम्पनीका प्रवक्ताले परियोजना समाप्त भएको हो वा होइन भन्ने प्रश्नमा प्रत्यक्ष जवाफ दिएका छैनन्। बरु उनीहरूले एक वक्तव्यमा भनेका छन्, “हाल हामीसँग समुद्रभित्र डाटा सेन्टर छैन, तर डाटा सेन्टरको भरपर्दोपन र दिगोपनाबारे नयाँ अवधारणा परीक्षण र प्रमाणित गर्न प्रोजेक्ट नाटिकलाई अनुसन्धान प्लेटफर्मका रूपमा प्रयोग गर्न जारी राख्नेछौं।”
हाइलनयुनले भने अमेरिकी कम्पनीहरूलाई पछि पार्ने लक्ष्य लिएको छ। यदि शाङ्घाई परियोजना सफल भयो भने कम्पनीले चिनियाँ सरकारको सहयोगमा ठूलो मात्रामा अफशोर, पवन-ऊर्जामाथि आधारित समुद्रभित्रका डाटा सेन्टर विस्तार गर्ने योजना बनाएको छ।
क्यालिफोर्निया विश्वविद्यालय, डेविसका पोस्टडाक्टरल अनुसन्धानकर्ता झाङ निङका अनुसार हाइलनयुनले डिसेम्बर २०२२ मा हैनानमा पाइलट प्रोजेक्ट पूरा गरेको ३० महिनाभित्रै व्यावसायिक स्तरमा डाटा सेन्टर ल्याएको छ। “यो कदम माइक्रोसफ्टको प्रोजेक्ट नाटिकले कहिल्यै प्रयास नगरेको कुरा हो,” उनले भने।
यद्यपि समुद्रभित्रका डाटा सेन्टरको सम्भावित फाइदाबीच वातावरणीय चिन्ता उब्जिएका छन्। माइक्रोसफ्टका अनुसन्धानकर्ताले आफ्नो पोडले समुद्रमा केही स्थानीय तापक्रम वृद्धि गरेको बताएका थिए, तर प्रभाव सीमित मात्र भएको उल्लेख गरिएको थियो। उनीहरूको भनाइमा “नाटिक कन्टेनरबाट निस्किएको पानीले तलतिर केही मिटरको दूरीमा अधिकतम केही हजारौं अंश डिग्री मात्र तापक्रम बढाएको थियो।”
तर अन्य अनुसन्धानकर्ताहरूले भने समुद्री उष्ण लहर (मरिन हिट वेभ) का समयमा यस्तो डाटा सेन्टरले समुद्री जीवविविधतामा असर गर्न सक्ने चेतावनी दिएका छन्। त्यस्ता अवस्थामा कन्टेनरबाट निस्किएको पानी अझ बढी तातो हुन सक्छ र अक्सिजन कम हुने भएकाले जीवहरूको बाँच्ने तरिकामा असर पर्न सक्छ।
सुरक्षाबारे पनि चिन्ता देखिएको छ। सन् २०२४ को एक अध्ययनले समुद्रभित्रका डाटा सेन्टरलाई विशेष प्रकारका ध्वनि मार्फत नष्ट गर्न सकिने देखाएको थियो, जसले दुर्भावनापूर्ण आक्रमणबारे आशंका बढाएको छ।
यी चिन्ताबारे हाइलनयुनले आफ्ना समुद्रभित्रका डाटा सेन्टर “पर्यावरणमैत्री” भएको दाबी गरेको छ। कम्पनीका प्रवक्ता ली लाङ्पिङले २०२० मा चीनको पर्ल नदीमा गरिएको परीक्षणमा वरिपरिको पानीको तापक्रम एक डिग्रीभन्दा कम मात्र बढेको र यसको ठुलो प्रभाव नदेखिएको बताएका छन्। समुद्रभित्र डाटा सेन्टरको अवधारणा चीनबाहिर पनि विस्तार हुँदैछ। दक्षिण कोरियाले यसबारे योजना सार्वजनिक गरिसकेको छ भने जापान र सिङ्गापुरले समुद्र सतहमाथि तैरिने डाटा सेन्टरबारे विचार गरिरहेका छन्।
झाङका अनुसार अन्य तटीय देशहरूले यो प्रविधि अपनाउने वा नअपनाउने कुरा प्राविधिक सम्भावनाभन्दा बढी नियामकीय, वातावरणीय र आपूर्ति श्रृंखला सम्बन्धी चुनौती समाधान गर्ने क्षमतामा निर्भर गर्नेछ — “जुन चीन अहिले ठूलो स्तरमा सम्बोधन गर्दैछ।”
प्रकाशित: १० भाद्र २०८२, मंगलवार