Technology Khabar ६ भाद्र २०८२, शुक्रबार
काठमाडौं ।
सूर्यको सतहमाथि एक विशाल सौर्य आँधी र ठूलो प्लाज्मा विस्फोट एकैपटक देखापरेका छन्, जसलाई एक शोधकर्ताले एउटै अद्भुत तस्वीरमा कैद गरेका छन्।
यी दुई सौर घटना आपसमा सम्बन्धित नभए पनि दुवै सूर्यको अदृश्य चुम्बकीय क्षेत्रका अस्थिरताका कारण भएको हो। केही प्लाज्मा टर्नाडोको आकारमा परिणत भएको छ भने केही विशाल विस्फोट स्वरूपमा बाहिर निस्किएको छ, जसलाई ‘इ्रप्टिभ प्रोमिनेन्स’ भनिन्छ।
रोमानियास्थित इन्स्टिच्युट अफ स्पेस साइन्सका शोधकर्ता म्याक्सिमिलियन टियोडोरेस्कुले बुधबार (अगस्ट २०) यी दुवै घटना एकैसाथ कैद गरेका हुन्। उनले लाइभ साइन्स लाई भने, ठूलो सौर्य आँधी दुर्लभ हुन्छ र आफूले टर्नेडो र इ्रप्टिभ प्रोमिनेन्स एउटै समयमा कहिल्यै देखेको थिएन।
स्पेसवेदर डट कम का अनुसार खगोलशास्त्रीहरूले यस साता देखिएको सौर्य आँधीलाई विश्वभरबाट अवलोकन गरिरहेका थिए। पहिलो तस्वीर आइतबार (अगस्ट १७) सार्वजनिक भएको थियो।
टियोडोरेस्कुका अनुसार यो आँधी करिब १,३०,००० किलोमिटर (८०,००० माइल) अग्लो छ, जुन सूर्यको व्यासको लगभग दशौं भाग हो। तुलना गर्नुपर्दा, पृथ्वीको चौडाइ करिब १२,७५६ किलोमिटर मात्रै भएकाले यो टर्नाडो करिब १० पृथ्वीलाई एकमाथि अर्को राखेजस्तै अग्लो भएको देखिन्छ। सामान्यतया सौर टर्नाडो २५,००० देखि १,००,००० किलोमिटर अग्ला हुने गर्छन्, त्यसैले यो निकै ठूलो मानिन्छ।
उनले कैद गरेको इ्रप्टिभ प्रोमिनेन्स करिब २,००,००० किलोमिटर चौडाइमा फैलिएको अनुमान गरिएको छ। यो गत जुलाईमा देखिएको ‘द बिस्ट’ भनिएको विशाल प्रोमिनेन्सजस्तै आकारको हो, जसको चौडाइ करिब १,६५,००० किलोमिटर थियो।
टियोडोरेस्कुले पहिलोपटक यो आँधीलाई नेशनल सोलार अब्जर्भेटरीले सञ्चालन गर्ने ग्लोबल ओस्सिलेसन नेटवर्क ग्रुप (जीओएनजी) वेबसाइटमार्फत अगस्ट १८ मा देखेका थिए। संसारभरका छवटा समान सौर दूरबीन प्रयोग गर्ने यस प्रणालीले सूर्यको गतिविधि लगभग वास्तविक समयमा अवलोकन गर्न मद्दत गर्छ।
उनकी पत्नी तथा सह–शोधकर्ता एलिजा टियोडोरेस्कुले टेलिस्कोपलाई मिलाउन सहयोग गरिन्, जसपछि उनले दुवै घटना एउटै तस्वीरमा उतार्न सके।
पृथ्वीका आँधी तीव्र हावाका कारण चलायमान हुन्छन् भने सौर्य आँधी आयनाइज्ड ग्यास (प्लाज्मा) बाट बनेको हुन्छ र चुम्बकीय क्षेत्रद्वारा स्थिर राखिन्छ। यी ‘सौर्य आँधी’ औपचारिक रूपमा प्रोमिनेन्सकै विशेष प्रकार हुन्।
नासाका अनुसार प्रॉमिनन्सहरू सूर्यको सतह (फोटोस्फियर) मा जडित हुन्छन् र बाहिरी वातावरण (कोरोना) सम्म फैलिन्छन्। जब प्लाज्मालाई सम्हाल्ने चुम्बकीय क्षेत्र अस्थिर बन्छ, तब इ्रप्टिभ प्रॉमिनन्स देखा पर्छ।
धेरैजसो अवस्थामा यसरी निस्किएको प्लाज्मा अन्तरिक्षतिर छिट्टै उड्छ र कोरोनल मास इजेक्सन (सीएमई) बन्छ, जसले पृथ्वीमा पुग्दा उपग्रह र सञ्चार प्रणाली अवरुद्ध गर्ने र अरोरा देखिने अवस्था ल्याउन सक्छ।
टियोडोरेस्कुले आफूले खिचेको प्रोमिनेन्सले पनि सीएमई उत्सर्जन गरेको बताए। तर यो पृथ्वीलाई नछुने भएकाले कुनै व्यवधान वा अरोरा देखिने छैन। यद्यपि, अन्य सौर गतिविधिका कारण अहिले पृथ्वीमा सौर हावा ठोक्किरहेका हुँदा उच्च अक्षांशमा अरोरा देखिन सक्ने स्पेस डट कम ले जनाएको छ।
सूर्य हाल करिब ११ वर्षे सौर चक्रको सबैभन्दा सक्रिय चरण ‘सोलार म्याक्सिमम’ मा छ। यस अवधिमा सूर्यको चुम्बकीय क्षेत्र कमजोर भई उल्टिन्छ। टियोडोरेस्कुले भने, अहिले सानो टेलिस्कोप र सुरक्षित फिल्टर प्रयोग गरेर पनि सूर्यका अत्यधिक गतिशील गतिविधि देख्न सकिन्छ।
“यो आकाशमा शौकिया र व्यावसायिक दुवैले प्रत्यक्ष देख्न सक्ने सबैभन्दा गतिशील दृश्य हो,” उनले भने।
प्रकाशित: ६ भाद्र २०८२, शुक्रबार