हाइड्रोजन सञ्चालित विमान अन्वेषणका लागि फ्रान्सेली संस्था एसएचजेड र जेटजिरोबीच सकार्य

Technology Khabar ६ भाद्र २०८२, शुक्रबार

काठमाडौं ।

फ्रान्सको प्रविधि स्टार्टअप एसएचजेड एडभान्स्ड टेक्नोलोजीले बुधबार स्वच्छ ऊर्जमा आधारित विमान विकासमा काम गरिरहेको जेटजिरोसँग सहकार्य गरी हाइड्रोजन–सञ्चालित विमान सम्भावनाको अन्वेषण गर्ने योजना सार्वजनिक गरेको छ।

यूरोपेली कम्पनी एयरबसले विश्वकै पहिलो हाइड्रोजन–सञ्चालित विमान बनाउन थालेको योजना रोकेको करिब छ महिनापछि आएको यो कदमले शून्य–उत्सर्जन उडानबारेको बहसलाई फेरि तातो बनाउने अपेक्षा गरिएको छ।

रोयटर्सका अनुसार क्यालिफोर्नियास्थित जेटजिरोले एयरबस र बोइङको दीर्घकालीन वर्चस्वलाई चुनौती दिँदै इन्धन खपत र कार्बन उत्सर्जन आधा गर्न सक्ने भनिएको ‘ब्लेण्डेड विङ बडी फ्युजलेज’ अर्थात् पंखा टाँसिएको विमान विकास गर्ने लक्ष्य राखेको छ।

अब जेटजिरो र एसएचजेडले नासाको अनुसन्धान कार्यक्रमअन्तर्गत तरल हाइड्रोजन इन्धन भण्डारण र वितरण प्रणाली डिजाइन गर्ने योजना बनाएका छन्, जसले कार्बन उत्सर्जन पूर्णतया हटाउन सक्ने र अन्ततः जेटजिरोको जेड४ विमानको हाइड्रोजन संस्करणमा रूपान्तरण हुने सम्भावना रहेको छ।

हाइड्रोजनलाई कार्बन–मुक्त उत्सर्जन र उच्च ऊर्जा–घनत्वका कारण आकर्षक मानिन्छ। तर, यसको आयतन बढी हुने र –२५३ डिग्री सेल्सियससम्म चिस्याएर मात्र भण्डारण गर्न सकिने भएकाले ठूलो चुनौती रहने देखिन्छ।

जेटजिरोको ब्लेण्डेड विङ बडी फ्युजलेज डिजाइनमा भी आकारको संरचना प्रयोग गरिएको छ, जसले परम्परागत पखेटा र बेलनाकार फ्युजलेजभन्दा हावा प्रतिरोध कम गर्छ। एसएचजेडले भनेको छ, “विस्तृत फ्युजलेजका कारण यस विमान संरचना तरल हाइड्रोजन इन्धन ट्याङ्की राख्न उपयुक्त हुन्छ, जसले यात्रु सिटमा कटौती गर्न आवश्यक हुँदैन।”

एयरबसले फेब्रुअरीमा हाइड्रोजन–चालित क्षेत्रीय विमान उत्पादनमा ढिलाइ गर्ने घोषणा गर्दै २०३५ को लक्ष्य छोडेको थियो। कम्पनीले आवश्यक पूर्वाधार नहुँदा यस्तो निर्णय गरेको जनाएको छ। बोइङले भने हाइड्रोजन–सञ्चालित व्यावसायिक उडानलाई खासै व्यवहारिक मानेको छैन।

ब्लेण्डेड विङ बडी फ्युजलेज अवधारणा १९४० दशकदेखि प्रचलनमा छ, जसबाट अमेरिकाको बी-२ बमवर्षक विमान र करिब १८ वर्षअघि बोइङ–नासा मिलेर बनाएको एक्स-४८ अनुसन्धान परियोजना विकसित भएका थिए। जेटजिरोले यसलाई फेरि अगाडि बढाइरहेको छ, किनकि विश्व विमान उद्योगले २०५० सम्म नेट–जिरो उत्सर्जनको लक्ष्य पूरा गर्न संघर्ष गरिरहेको छ।

एयरबसले भने यति ठूलो संरचनात्मक परिवर्तन र नयाँ इन्धन प्रणालीलाई एकैसाथ विकास गर्नु अति महत्वाकांक्षी हुने भन्दै सामान्य बेलनाकार विमानमै हाइड्रोजन–आधारित इन्धन कोष प्रयोग गर्नेमा जोड दिएको छ।

तर एसएचजेड एडभान्स्ड टेक्नोलोजीका सह–संस्थापक एरिक शुल्ज (पूर्व रोल्स–रोयस र एयरबस कार्यकारी) ले जेटजिरो दुई चरणमा अघि बढ्ने बताएका छन्। पहिलो चरणमा परम्परागत इन्धनमा आधारित पंख–फ्युजलेज विमान र दोस्रो चरणमा हाइड्रोजन संस्करण आउने योजना रहेको उनले रोयटर्सलाई बताएका छन्।

फ्रान्सेली कम्पनीले सिलिन्डर आकारका सामान्य प्रेसराइज्ड ट्याङ्की प्रयोग नगरी ठाउँ बचत गर्ने र जेड४ विमानको संरचनामा सजिलै फिट हुने नयाँ प्रकारका हाइड्रोजन ट्याङ्की विकास गरेको दावी गरेको छ।

प्रकाशित: ६ भाद्र २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया