Technology Khabar ५ भाद्र २०८२, बिहीबार
काठमाडौं ।
गुगलले न्यूयोर्कको ब्रुकलिनमा आयोजित मेड बाइ गुगल कार्यक्रममा आधिकारिक रूपमा पिक्सेल १० सिरिज अनावरण गरेको छ। लाइनअपमा पिक्सेल १०, पिक्सेल १० प्रो, पिक्सेल १० प्रो एक्सएल र पिक्सेल १० प्रो फोल्ड समावेश छन्। साथै अनुमान गरिए अनुसार, बेस पिक्सेल १० मा अब पहिलो पटक टेलिफोटो क्यामरा उपलब्ध गराइएको छ।
गुगल पिक्सेल १० डिजाइनको हिसाबले यसको आफ्नो पूर्ववर्ती जस्तै देखिन्छ। यद्यपि, पछाडिको पिल–सेप्ड (आकार) को क्यामरा मोड्युलमा भने अब दुईको सट्टा तीनओटा सेन्सरहरू रहेका छन्।
फोनमा ४८ मेगापिक्सेलको प्राथमिक सेन्सर, १३ मेगापिक्सेलको अल्ट्रावाइड शूटर, र ५× अप्टिकल जुम भएको १०.८ मेगापिक्सेलको टेलिफोटो क्यामरा रहेको छ। डिभाइसको अगाडिको भागमा अटोफोकस भएको १०.५ मेगापिक्सेलको क्यामरा रहेको छ। बेस पिक्सेलमा अब टेलिफोटो क्यामरा पनि रहेको छ भने अल्ट्रावाइड क्यामरा पिक्सेल ९ बाट डाउनग्रेड गरिएको छ।
गुगलको नयाँ बेस पिक्सेलमा नयाँ टीएसएमसी–निर्मित ३एनएम टेन्सर जी५ एसओसी र टाइटन एम२ चिप रहेको छ। डिभाइसमा प्रोसेसरको साथ १२८/२५६ जीबी यूएफएस ४.० स्टोरेज र १२ जीबी र्याम समावेश गरिएको छ।
गुगल पिक्सेल १० को अगाडिको भागमा, ६.३–इन्चको एक्टुआ डिस्प्ले रहेको छ जसले १२० हर्ज रिफ्रेस रेट र फुल एचडी प्लस रिजोल्युसन प्रदान गर्दछ। यो एलटीपीएस प्रकारको डिस्प्ले भएको हुनाले यो केवल ६० देखि १२० हट्र्ज बीचमा अनुकूलन गर्न सक्ने जनाइएको छ। साथै यो उज्यालो डिस्प्लेले उच्च ब्राइटनेस मोडमा २,००० निट्स प्राप्त गर्ने दाबी गरिएको छ भने यसलाई गोरिल्ला ग्लास भिक्टस २ द्वारा सुरक्षित गरिएको छ।
पिक्सेल १० ले सुधारिएको अल्ट्रासोनिक इन–डिस्प्ले फिङ्गरप्रिन्ट स्क्यानर पनि प्रदान गर्दछ र आईपी६८ रेटिङ्ग पनि गरिएको छ।
गत वर्ष जस्तै, गुगल पिक्सेल १० ले सात वर्षको ओएस र सुरक्षा अपडेटहरू प्रदान गर्नेछ। यसले एन्ड्रोइड १६ रन गर्ने उल्लेख गरिएको छ।
फोनले गत वर्षको मोडेलको तुलनामा अलि ठूलो ४,९७० एमएएच ब्याट्री प्याक ल्याएको छ। यो ब्याट्रीले अब २९ वाट वायर्ड र १५ वाट क्यूआई२ वायरलेस चार्जिङलाई समर्थन गर्ने बताइएको छ। त्यसैगरी फोनले कार्यक्रममा अनावरण गरिएको क्यूआई२ उपयुक्त पिक्सेलस्न्याप एक्सेसरिजहरूसँग पनि काम गर्ने जनाइएको छ।
गुगलको पिक्सेल १० इन्डिगो, फ्रोस्ट, लेमनग्रास र ओब्सिडियनगरी चारओटा रङ विकल्पहरूमा उपलब्ध हुनेछ। साथै प्रि–अर्डरको लागि उपलब्ध भएको यो डिभाइसको १२८ जीबी विकल्पको लागि ७९९ अमेरिकी डलर बाट मूल्य सुरु हुने बताइएको छ भने २५६ जीबी मोडेलको मूल्य ८९९ अमेरिकी डलर कायम गरिएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।![]()
प्रकाशित: ५ भाद्र २०८२, बिहीबार