Technology Khabar ५ भाद्र २०८२, बिहीबार
काठमाडौं ।
पर्यटन विभागले आफ्नो सेवालाई व्यवस्थित र प्रविधिमैत्री बनाउने भएको छ। विभागले कार्यसम्पादनलाई क्रमशः संस्थागत, प्रक्रियागत सरलीकरण, प्रणालीगत सुधार र प्रविधिगत नियमनमा जोड दिएको जनाएको छ।
पर्यटन प्रशासनलाई व्यवसायमैत्री, लगानीमैत्री र प्रविधिमैत्री बनाई यस क्षेत्रमा आकर्षण बढाउने विभागको लक्ष्य रहेको छ। अन्तरराष्ट्रिय अभ्यासलाई राष्ट्रिय प्रणालीमा आबद्ध गर्नेलगायत पर्यटकीय गतिविधिको विकास र विस्तार गर्ने कार्यलाई प्राथमिकतामा राखेको विभागले हालै प्रकाशित गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ।
विभागका महानिर्देशक डा नारायणप्रसाद रेग्मीले विभागको कामलाई सरल, सहज र व्यवसायमैत्री बनाउन पहलकदमी लिइएको बताउनुभयो। उहाँका अनुसार विभागले पहिलोपटक वार्षिक प्रतिवेदनमार्फत सम्पादन गरेका काम र भावी कार्ययोजनाका साथै चुनौती र आगामी दिनमा गर्नुपर्ने सुधारका विषयलाई समेटेको छ।
महानिर्देशक रेग्मीले प्रक्रियागत उल्झनलाई किनारा लगाउँदै नियमित सम्पादनलाई अगाडि बढाइएको जानकारी दिए। नीतिगत सुधारको दिशामा पनि विभाग केन्द्रित भएको उनले बताए।
“नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, जैविक सम्पदा तथा मानव सिर्जित धरोहरहरुको संरक्षण र प्रवर्द्धनमार्फत देशलाई अन्तरराष्ट्रियस्तरमा एक आकर्षक, सुरक्षित र मनोरम पर्यटकीय गन्तव्यस्थलका रूपमा स्थापित गर्ने दीर्घकालीन लक्ष्य रहेको छ”, महानिर्देशक रेग्मीले भने,“पर्यटन क्षेत्रमा आर्थिक क्रियाकलाप बढाई रोजगारी र स्वरोजगारीका अवसर सृजना, दिगो गुणस्तरीय पर्यटन प्रवर्द्धन, पर्यटकको सेवा, सुविधा र सुरक्षा सुनिश्चित गर्न यसले सघाउ पुर्याउने छ।”
विभागले पर्यटकीय पूर्वाधारको विकास, गुणस्तरीय आतिथ्य सेवा व्यवस्थापन, साहसिक र पर्वतीय पर्यटनको प्रवर्द्धन तथा पर्वतारोहण व्यवस्थापनका क्षेत्रमा थप योजनासहित काम भइरहेको जनाएको छ।-रासस
प्रकाशित: ५ भाद्र २०८२, बिहीबार