एससीटी-युनियनपे कार्डबाट अब मोबाइल वालेटहरूमा सजिलै रकम लोड गर्न मिल्ने

Technology Khabar ५ भाद्र २०८२, बिहीबार

काठमाडौं ।

भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले जारी गर्दै आएको एससीटी-युनियनपे कार्डबाट अब नेपालमा सञ्चालन हुँदै आइरहेको विभिन्न मोबाइल वालेटहरूमा सजिलै वालेट लोड गर्न मिल्ने भएको छ।

कार्डबाट वालेट लोड गर्न मिल्ने सुबिधा रहेको सबै मोबाइल वालेटहरू, जस्तै इसेवा, खल्ती, हाम्रो पे, आदि वालेटहरूमा ग्राहकहरूले सजिलै आफ्नो एससीटी-युनियनपे कार्डबाट सिधै वालेट लोड गर्न मिल्ने सुबिधा जारी भएको छ।

नबिल बैंकको इलेक्ट्रोनिक पेमेन्ट गेटवे (इपीजी) मा आबद्ध रहेका सम्पूर्ण वालेट तथा मर्चेन्ट एप्लिकेशनहरूबाट ग्राहकहरूले यो सुबिधा लिन सक्ने बताईएको छ। यस सुबिधाले ग्राहकहरूलाई आफ्नो एससीटी-युनियनपे कार्डबाट पीओएसमा मात्र नभएर अब डिजिटल वालेटहरूबाट भुक्तानी, इ-कमर्स भुक्तानी, एरलाइन टिकट खरिद, आदि पनि गर्न अझ सरल हुने जनाएको छ।

एससीटीले हाल २३ ओटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत एससीटी-युनियनपे कार्ड जारी गर्दै आइरहेको छ। एससीटी-युनियनपे डेबिट कार्ड लिन इच्छुक ग्राहकहरूले सजिलै एसीटीका सदस्य बैंक तथा वित्तीय संस्थाबाट प्राप्त गर्न सक्ने जारी विज्ञप्तीमा उल्लेख छ।

प्रकाशित: ५ भाद्र २०८२, बिहीबार

तपाइको प्रतिक्रिया