अमेरिकामा साइबर आक्रमण गर्न बोटनेट सञ्चालन गर्ने व्यक्तिविरुद्ध उजुरी दर्ता

Technology Khabar ५ भाद्र २०८२, बिहीबार

अमेरिकामा साइबर आक्रमण गर्न  बोटनेट सञ्चालन गर्ने व्यक्तिविरुद्ध उजुरी दर्ता

काठमाडौं ।

ओरेगनका एक व्यक्तिमाथि ‘बोटनेट फोर हायर’ सञ्चालन गरेको आरोपमा आज संघीय उजुरी दर्ता गरिएको छ। इथान फल्ट्जले ‘र्यापर बोट’ नामक बोटनेट सञ्चालन गरेको अभियोग छ, जसलाई ‘इलेभेन इलेभेन बोटनेट’ र ‘काउबोट’ पनि भनिन्छ। उनले यसलाई प्रयोग गरेर सन् २०२१ देखि साइबर आक्रमणहरू गरिरहेको अभियोग लागेको हो।

उजुरीअनुसार र्यापर बोटमार्फत ८० भन्दा बढी मुलुकका पीडितहरूलाई लक्षित गरिएको थियो। सन् २०२५ को अप्रिलयता मात्रै यस बोटनेटले करिब ३ लाख ७० हजार आक्रमण गरी १८ हजारभन्दा बढी फरक–फरक पीडितलाई असर पुर्‍याएको बताइएको छ।

“र्यापर बोट अहिलेसम्म अस्तित्वमा आएका सबैभन्दा शक्तिशाली डिस्ट्रिब्युटेड डिनायल अफ सर्भिस  (डीडीओएस) बोटनेटमध्ये एक थियो,” अलास्का जिल्ला अदालतका अमेरिकी अटर्नी माइकल जे. हेयम्यानले भने। “हाम्रो कार्यालयले अलास्का जिल्ला र अमेरिका भरकै इन्टरनेट सुरक्षा तथा पूर्वाधारलाई धम्की दिने साइबर अपराधीलाई तोडफोड र नियन्त्रण गर्ने कार्यलाई निरन्तर जारी राख्नेछ।”

र्यापर बोटका आरोपित पीडितमध्ये एक सामाजिक सञ्जाल ‘एक्स’ समेत रहेको बताइएको छ। यसलाई गत मार्च महिनामा भएको डीडीओएस आक्रमणले केही समयका लागि बन्द गरेको इन्ग्याजेटले जनाएको छ।

त्यतिबेला मालिक इलन मस्कले यो आक्रमण ठूलो समन्वित समूह वा कुनै मुलुकबाट आएको दावी गरेका थिए र युक्रेनका आईपी एड्रेसबाट आक्रमण भएको बताएका थिए। तर सुरक्षा अनुसन्धानकर्ताहरूले भने उक्त सामाजिक सञ्जालले आफ्ना सर्भर सुरक्षित नगरेको सम्भावना रहेको बताएका थिए।

Sajilo Visa

प्रकाशित: ५ भाद्र २०८२, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार